सहकारीको मान्छे हुँ भन्दै लाखौं ठगी गर्ने एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । आफूलाई सहकारीको मान्छे भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं.२ चिसापानी बस्ने पञ्चबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो । तर, उनी आफू सहकारीको कर्मचारी हूँ भन्दै सहकारीमार्फत् ऋण मिलाइ दिन्छु भन्दै रकम ठगी कार्यसमेतमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

परियारले पोखरालगायत विभिन्न स्थानमा सर्वसाधारणलाई आफू बेसीशहरमा रहेको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी भन्दै ठग्ने गरेको खुलेको छ ।  सोझा सिधालाई सहकारीबाट ऋण मिलाइदिने भन्दै ठग्दै आएका उनले पैसा लिएर सम्पर्कमा नआएपछि पीडितहरूले सहकारी संस्थामा जानकारी गराएपछि यो कुरा खुलेको हो ।

उनले पोखराका अर्जुन पुन र सावित्रा पौडेल अधिकारीलाई ठगी गरेको सूचना आएको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम दिक्षितले जानकारी दिनुभयाे ।

दिक्षितका अनुसार परियारले पुनसँग २२ हजार र अधिकारीसँग ४ लाख रुपैयाँ ठगी गरेका छन् । परियारले विभिन्न व्यक्तिलाई ऋण मिलाइ दिन्छु भन्दै सनराइज बैंकमार्फत् पैसा माग्ने गरेको र पीडितहरूले ऋण नपाएपछि सहकारीमा जानकारी गराएपछि यसबारेमा थाहा पाएको प्रमुख कार्यकारी अधिकृत थापाले बताउनुभयाे । परियारले अरू धेरै जनाबाट लाखौं ठगी गरेको हुन सक्ने उहाँले बताउनुभयाे ।

पक्राउ परेका परियार हाल लमजुङ प्रहरीको हिरासतमा छन् । उनीविरूद्ध थप १५ जनाले आफूहरूलाई ठगि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?