हवाई सुरक्षाका लागि उडान मापदण्ड परिमार्जन हुँदै

Read Time = 3 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रीष्मकालीन मौसमसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडान थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्न लागेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै हवाई उडान थप सुरक्षित र भरपर्दो बनाउन हवाई उडानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्डबमोजिम तीन/तीन वा छ/छ महिनामा नेपालको हवाई उडान क्षेत्र सुरक्षित बनाउन नियम परिर्माजन गर्ने गरिएको बताउनुभयो । २७ जनवरीदेखि ३१ जनवरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको भुलको भनाइ छ । उहाँले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको बताउनुभयो ।

सूचना अधिकारी भुलले प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घण्टा उडान र आठपटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । हाल दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ । साथै आइएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने पनि उहाँले बताउनुभयो । भुलका अनुसार पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिन तहबाट सधैँ पाँच सय फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको तहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्नेछ ।

चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गरिने, वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?