मुस्ताङको धार्मिक यात्रा र पर्यटकीय दृष्टिकोण

हिमालय टाइम्स
Read Time = 15 mins

✍️ ताराबहादुर बुढाथोकी

मुस्ताङ जिल्ला छिर्नुअघि मुस्ताङबारे यति तथ्यांक त जान्नै पर्‍यो । पूर्वमा मुक्तिनाथ हिमाल र दामोदर हिमालले मनाङ जिल्ला, पश्चिममा मुकुट हिमालले डोल्पा जिल्ला, दक्षिण्मा नीलगिरि र साउथ द्यौलागिरिले म्याग्दी जिल्ला, उत्तरमा मुस्ताङ भोट हिमाल र घान्दु्रङले तिब्बतसँग जोडेका छन् । चीनसँग मुस्ताङको नं. १८ देखि नं. ३३ सम्म १६ वटा सीमास्तम्भले १३४.६ किमि सिमाना जोडिएको छ । पुरातात्विक उत्खननबाट मुस्ताङ्गी सभ्यता तीन हजार वर्षभन्दा पुरानो रहेको बताउँछ ।

बालुवाको खातखात परेर बनेको मुस्ताङको भूगोलले चन्द्र धरातलको झल्को दिन्छन् । सभ्यता, भौगोलिक बनावट र जीवात्मको अध्ययन गर्न पनि यहाँको इको म्युजियम पुग्नुपर्छ । काली गण्डकीको एकल जलाधारमा समेटिएको मुस्ताङको उत्तरी भागमा तिब्बती पठार रहेको छ । तिब्बतीयन टेथिस हिमालयभित्र माथिल्लो मुस्ताङ सिनोजोयक समयमा र तल्लो मुस्ताङ मेसोजोइक तथा पेरियोजोइक समयमा बनेको हो भनिन्छ ।

मुस्ताङमा थकाली, दलित, मगर र छन्त्याल जातिको बसोवास छ । थाक सात सयपछिको मार्फा, छैरो, चिमाङ, स्याङ र थिमी पाँच गाउँ थकाली जातिको आदिभूमि हो । जोमसोम, घुम्ला, साम्लेपछि विस्तार भएका बस्ती हुन् ।

८७ पत्रभन्दा बाक्लो बालुवा, माटो तथा गेगरको तहतह परेका छन् । यहाँ टेथिस सागरका पिँधमा बनेका पत्रे चट्टान पाइन्छ । कुनै चट्टानमा सामुद्रिक जीवाशेष पाइन्छ जसलाई सालिग्राम भनिन्छ । काली गण्डकीको उद्गम थलो दामोदर कुण्ड र काली नदी बग्ने मुस्ताङ क्षेत्रमा मात्र सालिग्राम पाइन्छ । सालिग्राम चट्टानभित्र जीवात्मका अवशेष अल्मुनाइट जीवाशेष पाइन्छ । यो पानीमा बग्ने ब्रकियोकोड जीवात्मा हो । मुस्ताङ जिल्लामा खासाङ, घरापझोङ, लोगोछर, दामोदरकुण्ड र लोमान्थाङ गरी पाँचवटा गाउँपालिका छन् । तल्लो मुस्ताङका घाँसा, ताप्लुङ, धुम्कु, कुञ्जो, टिटी, शैरु, ठन्टी, लेते, कोआङ, नानकुङ, नाउरी कोट, होजुङ कोट, लजुङ र टुकुचे गाउँलाई थाकसात सय भनिने गरिन्छ । यहाँ थकाली, दलित, मगर र छन्त्याल जातिको बसोवास छ । थाक सात सयपछिको मार्फा, छैरो, चिमाङ, स्याङ र थिमी पाँच गाउँ थकाली जातिको आदिभूमि हो । जोमसोम, घुम्ला, साम्लेपछि विस्तार भएका बस्ती हुन् । पाँच गाउँ मार्फा स्याउका लागि प्रख्यात छ ।

जोमसोमदेखि माथि कागबेनी, थिङा, घाकरझोङ, झारकोट, मुक्तिनाथ, छुङखोर, झुङ, कुटक, कुरुङ, वालेक, तिरी, छोक्साङ, तेताङ, ताङ्वे, चैले, घ्यागा, हेलिङ र समर गाउँलाई बाह्रगाउँ भनिन्छ । गुरुङ बाहुल्य रहेको यो बस्तीमा पश्चिमी तिब्बतको सिक भाषिका बोलिन्छ । यहाँ बुद्ध धर्मपछि बोन धर्म प्रचलनमा छ । लुभ्रा गाउँ बोन धर्मको आदिबस्ती हो । उपल्लो मुस्ताङका घिलिङ, घमी, घाकमार, चाराङ, माराङ, क्यी, सुरखाङ, ताङ्ग्या, धे, लोमान्थाङ, मेन्योल, छोस्यार, न्याम्डो, किमालिङ, थिङ्कर, खुवा र नाम्ग्याल गाउँलाई मुस्ताङ सात थपौला लोमान्थाङ भनिन्छ ।

अपाराहृन ५ः१५ तिर फ्युल ट्रेडर्सको बोर्ड पढ्दा, मुस्ताङ घाँसा लेखेको देखियो । मुस्ताङको सिमानामा आइपुग्दा भीरहरूले आखाँ थकाएछन् क्यारे । बसको चक्कलाई मात्र थाहा भयो होला सिमाना । रूपसे झर्ना र घाँसैकै बीचमा थियो होला सिमाना । घाँसेबाट कुइनेटा काट्ने बित्तिकै हिउँको कोसेली लिएर हिमाल त बसको बाटो छेक्न पो आइपुग्यो । वाह ! मन अलिअलि रमाएको होइन । रूपसे छहराबाट घाँसा ३७ किलामिटको दूरी पार भएर आइसकेको थिायो । अब ४४ किमि लेते, ५९ किमि टुकुचे, ६७ किमि मार्फा, ७३ किमि जोसोम ८५ किमि एक्ले भेटी, ९५ किमि झारकोट, ९६ किमि मुक्तिनाथ अर्थात् तल्लो मुस्ताङ ५१ किलोमिटर थियो । लेते र टुकुचेको बीचमा एउटा होटल आयो । एक गिलास तातो पानी १० रूपैयाँमा किनेर सातु मोलेँ । चिनी चाहिँ मनलागी हाल्न पाएँ । एउटा डुनोटको ५० रूपैयाँ ।

टुकुचे र मार्फामा झिल्ल बत्ती बलेको देखियो । घरहरू ठूलै थिए होलान् । झकाएछु । निदाएको बेला एउटा सानो १० वर्ष जतिको बालक मेरो अगाडि आए । मैले फालेको केराको बोक्र टिपेर खान खोजे । मैले नखान अनुरोध गर्दा उनले आफू अस्वत्थामा भएको र यो जुनीमा अघोरी भएकाले जे पनि खान मिल्ने बताए । उनी मेरो मुखमा हेरिरहेका थिए । म हात जोडेर उनको गोरो निधारमा चम्किएको रातो यु आकारे टीको चम्किएको हेरिरहेथेँ । गाडी घच्चक गरेछ क्यारे निद्रा खुल्यो । ७ः१५ बजेको रहेछ । जोमसोम लेखेको बोर्ड छातीमा टाँसेर एउटा होटल बत्तीको उज्यालोमा पहिचान दिँदै थियो ।
मुस्ताङको सदरमुकाम जोमसोमबाट गाडी ओरालिएका जस्तो लाग्यो । जोमसोम र भेटी भन्ने ठाउँको बीचमा शायद कागबेनी थियो । आज हामी यहीँ बास बस्दै थियौँ । गाडी गुडिरहृयो, म भने सपनामा दर्शन दिने भगवान मुक्तिनाथ नै हुनुहुन्छ कि सोँचिरहेँ । बाहुन भनु भने गोरो न गोरो शेर्पाको जस्तो छाला । शेर्पा भनुँ चुचे नाक । कागबेनीमा पुगेर बस रोकियो । कुम्लो कुटुरो च्यापेर होटलको रूम बुक गर्न थालियो । ध्यान भङ्ग । मुस्ताङको कागबेनी । मुक्तिनाथ र पातालगङ्गाको जल कृष्णगण्डकीमा मिसिएको स्थानलाई कागबेनी भनिन्छ । पहिले सप्तऋषिहरूकोे आज्ञा अनुसार काग भुसुण्डीले तपस्या गरेको यो ठाउँलाई पहिले काग भुसुण्डी भनिन्थ्यो । कागभुसुण्डी शब्दकै अपभ्रंश भएर पछि कागबेनी भन्न थालिएको हो । कालीगण्डकी उपत्यकामा अवस्थित मुस्ताङ जिल्लाको बाराबुगा गाउँ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पर्छ । हिन्दू तीर्थयात्रीहरूका लागि प्रसिद्ध धार्मिकस्थल हो कागबेनी । पितृ मोक्षस्थल भनेर चिनिने यो तीर्थ पितृपूजाका लागि प्रसिद्ध छ ।

पितृहरूको हराएको आत्मालाई नरकबाट निकाल्न र स्वर्गमा पुर्‍याउन मद्धत पुर्‍याउँछ कागबेनीले । परिवारलाई आशीर्वाद मिल्छ रे पितृहरूको । यहाँ कुसको शव बनाएर दाहसंस्कार गर्ने चलन पनि छ । मुक्तिनाथको १०८ मुक्तिधारा र दुई मुक्तिकुण्डबाट प्रवाहित निकासको जलराशी र गोसाइँकुण्डको निकासबाट प्रवाहित काली गण्डकीको दोभान छ यहाँ । नदीलाई वेणी भनिन्छ । कागहरूको चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन नै भएको हुनाले यसलाई कागबेनी नाम राखिएको हो जस्तो पनि लाग्यो ।

१५ गते 
कागबेनीबाट मुक्तितानाथ जाने बाटो कालोपत्रे । उसो त मुस्ताङ सुरु भएदेखि नै कालोपत्र त थियो । उज्यालो खस्नुअघि नै हिमालमा पोखिएको घाम मुक्तिक्षेत्रमा पोखिँदा सुनौलो । हिमाल पनि हामीभन्दा दक्षिणतर्फ स¥यो । दायाँपट्टि । आहा आह, शब्द पाइँदैन वर्णन गर्ने । गद्गद् भएर शेरबहादुर पराजुली सरलाई सोधेँ उहाँले तपोभूमि भन्नुभयो । उहिले गुरु पद्यमसम्भव भारतको उडियाना राज्यमा थिए । मुक्तिक्षेत्रमा राक्षसहरू, भूतप्रेतले दुःख दिएपछि भक्तहरूले हारगुहार गर्दा मुक्तिक्षेत्रमा पद्मसम्भव आएर खलपात्रहरूको विनाश गरी प्राणीमात्रको मुक्तिका लागि तपस्या गरेर बसेको भन्ने कथासँग मिल्यो शेरबहादुर दाइको यो शब्द । नारायण श्रेष्ठसरले भन्नुभो हिमालको आँगन । यो शब्द भूबनोटसँग मिल्यो । वसन्तपुर दरबार स्क्वायरमा दरबारजस्तै वरिपरि हिमाल अनि माझमा स्क्वायर अर्थात् पावन मुक्तिक्षेत्र । आलिङ्गन पनि ग्वाम्लाङ्गै हिमालको । जति मोटर गयो उति उज्यालो पोखियो । मरुभूमिको स्वर्ग देखियो । स्याउ बगैँचा देखियो । मरुभूमिको सांग्रिला अग्लिँदै गयो । बसको झ्यालबाट छिरेको हिमाल आँखामा नअटेर जीउभरि टाँसियो । सुम्सुम्यायो । कति अनौठो हिमालपारिको दृश्य । सात बज्नुअगावै मुक्तिक्षेत्रमा बस रोकियो ।

खेती नहुनेले भात खाँदैन भन्थे हाम्रा बाउहरू । होइन रहेछ यहाँ त खेतीको नाममा त हरियो भन्ने जात पनि छैन । जमिनभरि नौ महिना हिउँ उम्रिने, हिउँ फल्ने हिउँ थुप्रिने तर आनन्दले खाएको छ, न्यानो र महँगो लाएको छ ।

अचानक आँखाअगाडि अमरावती, खस्यो । बैकुण्ठ खस्यो । कैलास दरबारहरू झलमलाए । हिमाल झैँ अग्लिन चाहने होटल र दोकान घरहरू, ती घरहरूभित्र हिमालभन्दा दुई बित्ता अग्लो सामानको मूल्य, अनि पातलो गरी रोपिएका भोटे पिपलका रूखहरू, हिउँभन्दा चिसो हुन खोज्ने कञ्चन पानी जरामा बगे पनि पात झरेका, भएका पनि पहेँला तर खुब सुहाएका गौचन, शेरचन, शेर्पा र भोटे जातिका अब्बल व्यापारिक केन्द्र । घोडाको लगाम लिएर ओहोरदोहोर गरिरहेका युवाहरू स्वरोजगार छन् ।

खेती नहुनेले भात खाँदैन भन्थे हाम्रा बाउहरू । होइन रहेछ यहाँ त खेतीको नाममा त हरियो भन्ने जात पनि छैन । जमिनभरि नौ महिना हिउँ उम्रिने, हिउँ फल्ने हिउँ थुप्रिने हिउँको धन्सारमा के फलोस् र तर आनन्दले खाएको छ, न्यानो र महँगो लाएको छ । पैसा भन्ने हो भने निजी हेलिकप्टर छन् । पैसाको दुःख छैन । नेपाल खाल्डोका सबैभन्दा ठूला व्यापारिक केन्द्र र होटलहरू यहीँका मान्छेहरूका छन् । थकाली भनेपछि नामै काफी । लाग्यो मुक्तिनाथ नारायणले आफ्ना सन्तानलाई पाप र दुःखबाट साँच्चै मुक्ति दिनुहुँदो रहेछ । ‘गण्डकी सर्वदेवानां जननी जन्मभूमिका । नित्यानन्दकारी नित्यानित्य तनुप्रदा ।’ भनेर शास्त्रमा उसै गण्डकीको महत्व वर्णन गरिएको होइन रहेछ ।
(बुढाथोकी मकालु साहित्य समाजको अध्यक्ष हुनुहुन्छ ।)

https://ehimalayatimes.com/2023/01/78260/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. धन्यवाद पुरुषोत्तम दाजु र हिटा परिवार।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?