नेपालबाट १०४ वर्षीय पारिवारिक राणाशासनको अन्त्य भएको र देशमा प्रजातन्त्रको स्थापना भएको ७४औं वर्षमा हामी प्रवेश गरेका छौं । आउँदो साल हामी यसलाई प्रजातन्त्र स्थापनाको ‘अमृत वर्ष’का रूपमा मनाउँनेछौं । विसं २०१७ पुस १ देखि २०४६ साल चैत २६ सम्मका अवधि नेपाली प्रजातन्त्रका लागि काला दिन थिए तर अब पञ्चायतको तीन दशक इतिहासको पानामा सीमित भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो ज्यान गुमाएका, सर्वस्व गुमाएका, जेल-नेलको यातना भोगेका, तन, मन र धनले समर्पित प्रत्येक नेपालीप्रति कृतज्ञ राष्ट्र सदैव आभारी रहनेछ ।
तत्कालीन राजा त्रिभुवनले पनि नेपालमा प्रजातन्त्रको स्थापनार्थ आफ्नो राजगद्दीको बाजी लगाएको यर्थाथलाई विर्सन सकिँदैन । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि तराई, पहाड र हिमालका जनताले एकजुट भई आन्दोलन गरेका थिए । नेपालमा आजसम्म जे जति आन्दोलन भएका छन्, ती सबैमा प्रत्येक क्षेत्रका नेपाली जनताको सहयोग र समर्थन रहिआएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि तराई-मधेसका जनताले गरेका त्याग, समर्पण र बलिदानको पनि उच्च महत्व रहेको छ ।
सन् १९४७ मा विराटनगरमा मजदुरहरूले हड्ताल गरी राणाविरोधी आन्दोलमा ठूलो भूमिकाको निर्वाह गरेका थिए । हड्तालको नेतृत्व गरेका तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, गेहेन्द्र शर्मा र युवराज अधिकारी पक्राउ परेका थिए ।
नेपालबाट राणाशासनको अन्तय र देशमा प्रजातन्त्रको स्थापनाका लागि दक्षिणी छिमेकी भारतबाट अंग्रेजहरूको शासन समाप्त हुनु आवश्यक रहेकोमा नेपालका प्रजातन्त्रवादीहरू पनि एकमत थिए । स्वर्गीय मातृकाप्रसाद कोइराला, बीपी कोइराला र मनमोहन अधिकारीहरूले भारतको स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागिता जनाउनु र पक्राउसमेत पर्नु यसैका उदाहरण हुन् । भारतको पटनामा त अहिले पनि स्वर्गीय बीपी कोइरालाको स्मारक रहेको छ । भारतमा ब्रिटिश शासकहरूको विरुद्धमा चलाइएको स्वतन्त्रताको निर्णायक संघर्षमा भारतीय नेताहरूले कहिलेकाहीँ नेपालको खुला सिमानाको उपभोग गर्ने गर्दथे ।
त्यसै क्रममा सन् १९४२ मा भारतीय नेताहरू जयप्रकाश नारायण र डा.राममनोहर लोहियाहरू अंग्रेज सैनिकको दमनबाट बच्न नेपालको सप्तरी आएर बसेका थिए तर नेपालका राणा शासकहरू आफ्नो शासन सत्तालाई टिकाउन अंग्रेजको पक्षमा डटेर उभिएका थिए । नेपालका सुरक्षाकर्मीहरूले भारतीय नेतालाई पक्राउ गरी सप्तरीको हनुमान नगर जेलमा राखेका थिए । स्थानीय नेपालीहरूले हनुमान नगर जेल फोडी ती भारतीय नेताहरूलाई त्यहाँबाट रिहा गराउनमा सफल भए । राणा सरकारले यस आरोपमा २२ जना स्थानीय नेपालीलाई पक्राउ गरी काठमाडौं ल्याए ।
कृष्णवीर कामी र अब्दुल मियाको त जेलमै निधन भयो जबकि रामेश्वरप्रसाद सिंह, चतुरानन् सिंह, यमुनाप्रसाद सिंह, जयमंगल सिंह, तारिणीप्रसाद सिंह, मीनबहादुर, रामजी सिंह, विष्णुभक्त, किसन दुसाध र नेबु मण्डललाई साढे दुई वर्षसम्म जेलमा राखियो । पश्चिमी नेपालको कपिलवस्तुमा बेगम हजरत महल लगायत अनेकौं भारतीय आन्दोलनकारी पनि लुकेर बसेका थिए । पश्चिमी तराईको जिम्मा डा.केआई सिंहलाई दिइएको थियो । राधाकृष्ण थारू र काशीप्रसाद श्रीवास्तव पनि सक्रिय थिए । सप्तरीको कुसाहा घाटना भारतीय नागरिक डाक्टर कुलदीपले शहादत पाएका थिए । त्यसै क्षेत्रमा कामेश्वर कुशेस्वरले पनि शहादत पाएका थिए ।
सन् १९४७ मा विराटनगरमा मजदुरहरूले हड्ताल गरी राणाविरोधी आन्दोलमा ठूलो भूमिकाको निर्वाह गरेका थिए । हड्तालको नेतृत्व गरेका तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, गेहेन्द्र शर्मा र युवराज अधिकारी पक्राउ परेका थिए । सन् १९४९ मार्चमा विहारको दरभंगामा भएको नेपाली कांग्रेसको बैठकमा राणाविरोधी आन्दोलनलाई सफल बनाउने विषयमा छलफल भएको थियो । सन् १९४७ मा जोगबनी र सन् १९४९ को पटनामा भएको समाजवादी सम्मेलनमा, जो मूलतः नेपालमा प्रजातन्त्रको स्थापनाका लागि समर्थन जुटाउने विषयमा भएको थियो । त्यसमा डा.रामनोहर लोहिया सहभागी भएका थिए ।
सन् १९४९ को अन्तिम सातामा त नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको समर्थन, सहयोग र सदभावका लागि भारतव्यापी ‘नेपाल दिवस’ नै मनाइएको थियो । नेपालको प्रजातन्त्रिक आन्दोलनमा भारतीय नेताहरू डा.राममनोहर लोहिया, जयप्रकाश नारायण, आचार्य नरहेन्द्र देव र मधु लिमयेहरूको पनि सद्भाव र सहयोग रहेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलमा शहीद हुने पहिलो भारतीय मास्टर गुरुदयाल थिए । जो काठमाडौंमा शिक्षकका रूपमा कार्यरत थिए, विद्यार्थीहरूलाई ट्युसन पनि पढाउँथे । उनी चार प्रमुख शहीदहरूमध्येका एक शुक्रराज शास्त्रीका बुबा माधवराज जोशीका मित्र पनि थिए । काठमाडौंबाट तराई आउने क्रममा उनी पक्राउ परेका थिए । उनको अवस्था अज्ञात नै रहृयो ।
रौतहट जिल्लाको सदरमुकाम गौरको सीमावर्ती भारतीय बजार बैरगनिया (सीतामढी) मा नेपाली कांग्रेसले सन् १९५० को सेम्टेम्बर महिनामा प्रतिनिधि सम्मेलनको आहृवान गरेको थियो । त्यस सम्मेलनको अधिकांश खर्च रौतहटका किसान र जमिदारहरूले उठाएका थिए । सम्मेलनले सशस्त्र संघर्षको निर्णय गर्यो र यसको निम्ति अधिनायक (डिक्टेटर) का सम्पूर्ण अधिकार मातृकाप्रसाद कोइरालालाई प्रदान गरेको थियो । बैरगनीया सम्मेलनको प्रस्ताव स्वीकृत भएको केही दिनपछि अर्थात् नोभेम्बर ६ मा त्रिभुवनले सपरिवार नारायणहिटी राजदरबारलाई परित्याग गरी हिन्दु दूतावास (भारतीय राजदूतावास) मा शारण लिएका थिए । एक विशेष विमानमार्फत राजा त्रिभुवन सपरिवार नयाँदिल्लीका लागि प्रस्थान गरेपछि आक्रोशित भएर राणा प्रधानमन्त्री मोहन शमशेरले ७ नोभेम्बरका दिन चार वर्षीय ज्ञानेन्द्र वीरविक्रम शाहलाई राजा घोषित गरे तर त्यो मान्य हुन सकेन ।
२००७ सालको आन्दोलनमा तराई मधेसका प्रायः सबैजसो जिल्लाहरूमा प्रजातन्त्रवादीहरूले गिरफ्तारी दिएका थिए । हाम्रा वीर शहीदहरूको बलिदान र पुर्खा एवं अग्रजहरूको त्याग र समर्पणकै कारण आज हामी स्वतन्त्र रूपमा र एउटा खुला समाजमा जीवनयापन गरिरहेका छौं ।
बैरगनिया सम्मेलनपश्चात नेपाली कांग्रेसले निर्णायक संघर्षको थालनी गरेको थियो । रौतहटको सीमावर्ती झरोखर भने ठाउँ (हाल बारा) मा नेपाल राष्ट्रिय कांग्रेसका केदारमान व्यथितलाई पक्राउ गर्न नेपालका पुलिस तयार भएर बसेका थिए तर नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नो पिस्तौलको प्रयोग गरी एकजना प्रहरीलाई घाइते बनाएपछि अन्य प्रहरी भागे जबकि आन्दोलकारी सीमावर्ती भारततिर लागे । झरोखर काण्डलाई राणाले आफ्नो प्रतिष्ठानको विषय बनाए र भरतप्रसाद शर्मा, मेघराज उपाध्याय र केदारमान व्यथितहरूलाई नेपाललाई बुझाउन भारतसँग आग्रह गरे तर भारतले मानेन ।
नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगञ्जलाई आफ्नो प्रमुख लक्ष्य बनाएको थियो । वीरगञ्जको आर्मी ब्यारेकमाथि कब्जा जमाउने रणनीति थियो र त्यसमा सफल पनि भयो । १८ नोभेम्बरका दिन रौतहटका निहत्था १० हजार किसानको जुलुस बजार अड्डातिर बढ्यो । सुरुमा सशस्त्र सैनिकहरूले तिनलाई आउनमा रोक लगाए तर जब आन्दोलनकारी जनता गौरको अमिनी कचहरीसम्म पुगेका थिए अनि सशस्त्र सैनिकले चारैतिरबाट घेरा हाली तिनीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
यस हत्याकाण्डको तुलना पञ्जाबको जालियाँबाला बाग हत्याकाण्डसित गरिन्छ । त्यस निर्मम र प्रतिशोधपूर्ण हत्याकाण्डमा शिवप्रसाद सिंह र नन्दु केसरीलगायत डेढ-दुई दर्जन जति स्थानीयले शाहदत पाएका थिए । अहिले पनि रौतहटको जिल्ला अदालतको परिसरमै शहिद शिवप्रसाद सिंहको स्मारक छ । त्यसभन्दा एक दिनअघि बाराको परवानीपुरमा पनि हजारौंको संख्यामा जनताले जुलुस निकालेका थिए । सरकारी फौजको क्रुर दमनमा अनेकौं व्यक्ति घाइते भएका थिए र सयौं पक्राउ परेका थिए ।
नोभेम्बर १९५० मा वीरगञ्ज मुक्ति सेनाको कब्जामा पर्नासाथ नेपाली कांग्रेसले आफ्नो सरकारको स्थापना ग¥यो । तेजबहादुर अमात्य वीरगञ्ज जनसरकारका सैनिक प्रशासक घोषित भए । मेजर पुरन सिंह र थीरबम मल्लको नेतृत्वमा मुक्ति सेनाले १०-११ नोभेम्बरमा आक्रमण गरेको थियो । वीरगञ्ज आफ्नो हातबाट गइसकेको हुनाले सुरक्षाकर्मी आक्रोशित थिए र प्रतिशोध लिने मानसिकतामा थिए । आखिर ११ नोभेम्बरमै सैनिकको गोली लागी थीरबम मल्ल गम्भीर रूपमा घाइते भए । सीमाबर्ती रक्सौलको डनकन अस्पतालमा उनको उपचार पनि गरियो तर उनी बाँच्न सकेनन् ।
२००७ सालको आन्दोलनमा तराई मधेसका प्रायः सबैजसो जिल्लामा प्रजातन्त्रवादीहरूले गिरफ्तारी दिएका थिए । हाम्रा वीर शहीदहरूको बलिदान र पुर्खा एवं अग्रजहरूको त्याग र समर्पणकै कारण आज हामी स्वतन्त्र रूपमा र एउटा खुला समाजमा जीवनयापन गरिरहेका छौं । विगत ७३ वर्षमा देशले शिक्षा, स्वास्थ, यातायात, विज्ञान, कला, संस्कृतिलगायत क्षेत्रमा धेरै प्रगति गरेको छ । हामीसामु धेरै समस्या छन् तर हामी सबै मिलेर यसको समाधान गर्न सक्नेछौं । देश निरन्तर रूपमा प्रगतिको पथमा छ । संघीय-लोकतान्त्रिक गणतन्त्र नेपालको अबको लक्ष्य भनेको देशको आर्थिक विकास र समृद्धि नै हो । हाम्रा शहीदहरू र प्रजातन्त्रका लागि तन, मन र धनले योगदान गरेकोहरूलाई शतशत नमन !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच