बरहथवामा एउटा सिंगो बस्ती दुई महिनादेखि अन्धकारमा

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्वर ११ का झण्डै पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका स्थानीय गएको मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्नुपरेको हो ।

सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राकिरणको बरहथवा वितरण केन्द्रले बरहथवा ११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेको हो । सामुदायिक विद्युतीकरणअन्तर्गत विद्युत् प्राधिकरणले एक ठाउँमा थोक मिटर राख्ने र त्यही मिटर रिडिङ गरेर सहकारीको नाममा बिजुलीको एकमुष्ट बिल काट्ने गर्दथ्याे ।

त्यसपछि सहकारीले आफ्ना कर्मचारी खटाएर स्थानीयको घर-घरमा रहेको मिटर रिडिङ गरेर पैसा सङ्कलन गर्दै आइरहेको थियो । पछिल्लो समय भने सहकारीले पैसा बुझाउन नसकेपछि प्राधिकरणले गाउँको बत्ती काटेदेखि स्थानीयवासी अहिले टुकीको भरमा रात काट्न बाध्य छन् । मोवाइल चार्ज गर्न समेत छिमेकी गाउँ वा बरहथवा बजारसम्म आउनुपर्ने बाध्यता रहेको छ ।

हीरापुरका स्थानीय लोकप्रसाद पराजुलीले नियमित बिजुली महशुल बुझाउनेको समेत बत्ती काटिएको गुनासो गर्नुभयो । सहकारी संस्थाका पदाधिकारीले सुरुदेखि नै हेलचेक्र्याइँ गर्दा आफूहरु अन्धकारमा बस्नुपरेको स्थानीयको गुनासो छ । गाउँमा बिजुली नहुँदा स्थानीयले अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन् ।

बिजुली नहुँदा बरहथवा नगरपालिका-११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको छ । बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाइरहेको वडा सचिव धीरेन्द्र रायले बताउनुभयो । विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले सुरुमा जसरी पनि गाउँमा बत्ती बाल्नुपर्छ भनेर सामुदायिक विद्युतीकरण गरिएको बताउनुभयो । चालिसेले कतिपय ग्राहकले पैसा नबुझाइदिँदा यो अवस्था आएको दावी गर्नुभएको छ ।

प्राधिकरणले यसअघि पनि बेलाबेलामा गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर बत्ती सूचारु गर्न लगाउने गरेका थिए । यो पटक भने मङ्सिर २७ गतेदेखि प्राधिकरणले बत्ती काटेको छ । ग्रामीण विद्युतीकरण असफल भएपछि अब भने सोझै प्राधिकरणबाट घर-घरमा मिटर राखेर प्राधिकरणले नै मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको बरहथवा ११ का वडाध्यक्ष नवराज राईले बताउनुभयो ।

वडाध्यक्ष राईले ग्रामीण विद्युतीकरण गर्ने सहकारीले हरहिसाब, लेखा परीक्षण केही नरहेको र संस्था नै लथालिङ्ग अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महशुल सङ्कलनको व्यवस्था मिलाउन लागि परेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा ११ को सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढेको जनाएको छ ।

हाल सहकारीको नाममा रहेको १३ लाख रुपियाँ बक्यौता नगरपालिकाले तिर्ने सहमतीपछि सो गाउँमा मिटर जडान गरेर बत्ती सूचारु गर्ने तयारी भइरहेको वितरण केन्द्रका सुपरभाइजर छोटेलाल यादवले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?