नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रको आइजिपीमा अर्याल नियुक्त, आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै दुई एआइजी पोखरेल र थापा अदालत जाने तयारीमा

नारायण भण्डारी
Read Time = 7 mins

नारायण भण्डारी/हिटा
काठमाडौं ।नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । गृह मन्त्रालयको सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आइजिपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आइजिपीमा बढुवा गरेको हो । प्रहरीमा आइजिपीमा विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक दाबेदार हुनुहुन्थ्यो । २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनुभएको थियो ।

उहाँपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा हुनुभएको थियो । त्यस्तै, गत चैतमा धीरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा हुुनुभएको थियो । प्रहरी महानिरीक्षकमा कनिष्ठ एआइजी सिंहलाई बढुवा गरेपछि ज्येष्ठतामा अघि रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापाले न्यायका लागि सर्वोच्च अदालत जाने बताउनुभएको छ । नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्दा इतिहासमै यस्तो अन्याय कहिल्यै नभएको भन्दै आफूहरू कानुनी परामर्शमा रहेको उहाँहरूको भनाइ छ । सरकारले वरीयता मिचेर धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ । २०७८ चैत ७ गते एआइजी बढुवा हुनुभएका धीरजप्रताप सिंहलाई त्यसको करिब डेढ महिना पछाडि सिंहलाई नै सरकारले आइजिपीमा बढुवा गरेको हो ।

यसैबीच, नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई एआइजीमा बढुवा गरेसँगै उहाँ सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार हुनुहुन्थ्यो । गत चैत ३० गते आइजिपी हुनुभएका पुष्पराम तीस वर्षे अवधिका कारण २१ दिनमा अर्थात् सोमबारदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ । अर्यालले २०५४ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ ।

आइजिपी नियुक्तिमा विधिको शासनको खिल्ली उडाइयो : कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्त गर्दा वरीयता र विधि मिचिएको भन्दै सकारको आलोचना गर्नुभएको छ । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरीयताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गर्नुभएको हो । ‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भन्नुभएको छ, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’

प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउने तयारी छ : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशको ब्यारेल नराख्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । उमेरहदका कारण अवकाशमा जान लाग्नुभएका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीको बिदाइका लागि गत बुधबार गृह मन्त्रालयले गरेको कार्यक्रममा गृहमन्त्री खाँणले प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल प्रारम्भ भएको बताउनुभएको हो । ‘दुवै प्रहरीमा लामो समयदेखि सेवा अवधिका कारणले यहाँहरूको असीमित क्षमता हुँदाहुँदै पनि बिदा गर्नु परिरहेको छ । ३० वर्षलाई के गर्ने होला ? त्यसका लागि छलफल भइरहेको छ । प्रारम्भदेखि नै दुवै प्रहरीको सेवा प्रवेश र अवकाशका लागि यति धेरै ब्यारेलहरू राख्न हुँदैन । मानिसको उमेर पनि बढिरहेको छ, एक्सपेरियन्स पनि बढिरहेको छ,’ मन्त्री खाँणले भन्नुभयो ।

सरकारको चाहना उमेरहदलाई पहिल्यै मिलान गर्ने रहे पनि लामो समयसम्म संगठनलाई व्यवस्थित राख्न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाँणले बताउनुभयो । उहाँले प्रहरी र सशस्त्रले सीमित स्रोत र साधनलाई उपयोग गरेर असीमित भूमिका र कार्य गरेको बताउनुभयो । त्यसका लागि उहाँले अवकाश भएर जान लागेका दुवै महानिरीक्षकहरूलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?