सुदूरपश्चिममा गठबन्धनको बहुमत सरकार

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिममा बाजुराबाहेक अन्य जिल्लामा प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएको छ । प्रदेशका प्रत्यक्ष ३० स्थानको नतिजामा सत्तागठबन्धनले बढी स्थानमा जीत निकालेको छ ।

गठबन्धनले ३० मध्ये २१ स्थानमा जीत निकाल्दै प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको छ । प्रत्यक्षतर्फ बाजुराका दुई क्षेत्रको परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फ २१ सिटमध्ये बढी सिट गठबन्धनकै भागमा पर्ने मत परिणामले देखाएको छ ।

२०७४ मा बाम गठबन्धनलाई दुई तिहाइ नजिक बहुमत दिएका सुदूरपश्चिमका मतदातले यो पटक पनि पाँच दलीय गठबन्धनलाई सहज हुने गरि मतदान गरेको प्रत्यक्षतर्फको मत परिणामले स्पष्ट देखाएको छ ।

प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली कांग्रेसबाट सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका कैलाली र कञ्चनपुरबाट ३÷३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् भने अछाम जिल्लाबाट दुई जना सदस्य निर्वाचित भएका छन् । यस्तै बैतडी, दार्चुला, बझाङबाट १÷१ जना सदस्य निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका कैलालीबाट प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम र कमलबहादुर शाह निर्वाचित हुनुभएको छ । कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर राना मगरले चुनाव जित्नुभएको छ । यस्तै, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट नेपाली कांग्रेसका शिवराज भट्ट, दार्चुलाका विक्रमसिंह धामी, अछामबाट मेघराज खड्का र मानबहादुर रावल निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ आठ जना निर्वाचित हुनुभएको छ । कैलालीबाट रमेश धामी, डडेल्धुराबाट खगराज भट्ट, अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउँद प्रदेश सभा सदस्यमा चुनिनुभएको छ । यस्तै, कञ्चनपुरबाट ओमविक्रम भाट, दार्चुलाबाट मानबहादुर धामी र बझाङबाट भीमबहादुर भण्डारी र डोटीबाट शिवसिंह ओली पनि माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट कैलालीमा दीर्घबहादुर सोडारी र कञ्चनपुरबाट प्रकाश रावल प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । यो सँगै २१ सिट प्रत्यक्षमा जीतेको सत्ता गठबन्धनले समानुपातिकतर्फबाट प्राप्त गर्ने सिट संख्या जोड्दा सहजै सरकार बनाउन सक्ने देखिएको छ ।

तर सत्ता गठबन्धनले प्राप्त गर्ने प्रदेश सभा सदस्यको संख्या यकिन गरेर भन्न समानुपातिक मत गणनाको परिणाम आउनुपर्छ । गठबन्धन दलका शिर्ष नेतृत्व पूर्व सहमतिबाट पछि नहटे पाँच दलीय गठबन्धनको बहुमतको सरकार बन्ने र सरकारको नेतृत्व नेपाली काँग्रेस र माओवादी केन्द्रमध्ये एउटाले गर्नेछ ।

३० क्षेत्रमध्ये पाँच दलीय गठबन्धनका उम्मेदवार अधिकाँस क्षेत्रमा विजयी भएका छन् । गठबन्धनले २१ स्थानमा जीत निकाल्दा नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रका ९ जना प्रदेश सभा सदस्यले जीत निकालेका छन् । गठबन्धनले समानुपातिकबाट आउने सिटसमेत जोड्दा सहजै प्रदेश सरकार बनाउन बहुमत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?