श्रीस्वस्थानी व्रत र १०८ वस्तु अर्पणको रहस्य

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला

पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म माघस्नानपूर्वक धारण गरिने पूर्णिमासम्म माघ स्नानपूर्वक धारण गरिने व्रतविशेषलाई श्रीस्वस्थानीव्रत भनिन्छ । व्रत आध्यात्मिक एवं भौतिक उपचारको विधि हो । व्रतले कायिक (शारीरिक), वाचिक र मानसिक शुद्धि मिल्ने गर्दछ । आद्यशक्तिको उपासना गर्नाले अभीष्ट सिद्धि हुने धार्मिक मान्यताका आधारमा श्रीस्वस्थानी व्रत धारण गरिन्छ । पौषशुक्ल पूर्णिमाका दिन नदी, तलाउ वा कुवा वा शालीनदीमा गई स्नान गरिन्छ । स्नानपश्चात् प्रतिज्ञा सङ्कल्पपूर्वक दीप, कलश, गणेश पूजनपूर्वक श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गर्ने विधान रहेको छ । यसपछि श्रीस्वस्थानी भगवतीको पाद्य, अर्घ, आचमनी, जल, स्नानीय जल, शुद्धजल, पञ्चामृत, मधुपर्क, चन्दन, अक्षता, पुष्प, माला, धूप, दीप, फल, नैवेद्य, आदि षोडशोपचारले पूजा गरिन्छ ।

यसपछि श्रीस्वस्थानी व्रतकथा पुस्तको पूजा गरी फल नैवेद्यादि अर्पण गरेर पुस्तकमा बताए अनुसार विभिन्न देवीदेवताको प्रार्थना गर्नुपर्दछ । सो पश्चात् एक भक्त भई, चित्त स्थिर गराई हातमा फूलपाती लिई कथा श्रवण गर्नुपर्दछ । कथा समापनपश्चात् भगवान्का स्तुतिप्रार्थना गरी पुस्तकलाई ढोगी प्रसाद ग्रहण व्रत अवधिका प्रत्येक दिन गर्नुपर्ने विधान रहेको छ । माघ शुक्ल पूर्णिमाका दिन समापनको कार्य सम्पदान गर्नुपर्दछ । विधिविधानपूर्वक थालीमा श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गरी अक्षता, वेलीपुष्प, जनै, पान सुपारी, तील, जौ, रोटी, बत्ती आदि वस्तु एकसय आठका दरले चढाउनु पर्दछ । सोपश्चात् पूर्णपात्र, आरती पुष्पाञ्जलि गरी व्रतको समापन गरिन्छ । यसरी १०८ वस्तु अर्पण गर्नुको पनि विशेष रहस्य रहेको पाइन्छ ।

श्रीस्वस्थानी व्रतको समापनमा १०८ बेलीपुष्प, रोटी, सुपारी आदि वस्तु अर्पण गर्नू भन्नुको तात्पर्य व्रतलाई परिपूर्णता प्रदान गर्नु हो । विश्व ब्रहृमाण्ड नै १०८ मा परिपूर्ण भएको छ । किनकि १०८ भनेको परिपूर्णताको द्योतक हो ।

श्रीस्वस्थानी व्रतको समापनमा १०८ बेलीपुष्प, रोटी, सुपारी आदि वस्तु अर्पण गर्नू भन्नुको तात्पर्य व्रतलाई परिपूर्णता प्रदान गर्नु हो । विश्व ब्रहृमाण्ड नै १०८ मा परिपूर्ण भएको छ । किनकि १०८ भनेको परिपूर्णताको द्योतक हो । श्रीस्वस्थानी व्रतधारणमा १०८ वस्तुको प्रयोग गर्नुका पछाडि पनि पूर्ण ब्रहृमको रहस्य रहेको छ । जसले परिपूर्णता प्रदान गर्ने भएकाले १०८ संख्याका वस्तु अर्पण गर्नु भनिएको हो । जो परमात्माप्रतिको साक्षात्कार पनि हो । श्रीस्वस्थानी भगवती भनेकी आद्यशक्ति हुनुहुन्छ । जसलाई ब्रहृम पनि भनिन्छ ।

ब्रहृमशब्द ब+र+ह+म चारवटा अक्षरले बनेको छ । जसको वर्णानुक्रम अङ्क २३+२७+३३+२५ १०८ हुन्छ । १०८ का पनि तीन अङ्कको योग १+०+८=९ हुन्छ । अंकमध्ये सबैभन्दा ठूलो ९ हो । किनकि ९ भन्दा अर्को ठूलो अङ्क छैन । ९ अङ्कमा नै संख्या परिपूर्ण वा अनन्त हुन्छन् । यसरी नौ अंकका पछाडि पनि आद्य भगवतीका मुख्य लीलावतारकै प्रसङ्ग जोडिएका छन् । यसैको प्रतीकका रूपमा नवदुर्गा ण्भगवतीको उपासना गरिन्छ । भगवती नौ स्वरूपमा परिपूर्ण हुनुहन्छ । १०८ भन्नु पनि ९ नै हुनु र परिपूर्ण रहनु हो । १+०+८=९ हुन्छ । १००८ भन्नु तात्पर्य पनि उही पूर्णङ्क ९ को नै प्रतीक हो ।

यसैगरी आद्यशक्ति भगवतीले १०८ स्वरूपमा अवतार पनि ग्रहण गर्नु भएको छ । सती भगवतीको आद्य अवतार हो । यसैगरी भगवतीले साध्वी, भवप्रीता, भवानी, भवमोचिनी, आर्या, दुर्गा, जया, आद्या, त्रिनेत्रा, शूलधारिणी, पिनाकधारिणी, चित्रा आदि १०८ स्वरूप ग्रहण गर्नुभएको कुरा श्रीविश्वसार तन्त्रमा उल्लेख पाइन्छ (दुर्गासप्तशती, पृ.९–१२) । यसैले नवरात्रमा आफ्ना समस्त मनोकामना पूर्ण गर्नका निम्ति, आयु, आरोग्य, ऐश्वर्यका साथै सुख शान्तिको कामनाका निम्ति पनि भगवतीका १०८ स्वरूपको उपासना गरिन्छ र सोही संख्यामा वस्तु पनि अर्पण गरिन्छ ।

श्रीमद्भागवत्मा नवधाभक्तिको चर्चा गरिएको छ । भगवान्का नाम श्रवण गर्नु, कीर्तन गर्नु, स्मरण गर्नु, पाद सेवन गर्नु, अर्चना गर्नु, वन्दना गर्नु, दास्यभाव, सख्य भाव प्रकट गर्नु र आत्मनिवेदन गर्नु नवधाभक्ति अन्तर्गत पर्दछन् । यिनै नवधाभक्तिले नै भगवत्कृपा प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । १०८ स्वरूपले परिपूर्ण अर्थात् पूर्ण ब्रहृम महेश्वर हुनुहुन्छ । श्रीस्वस्थानी व्रतमा पनि महेश्वर भगवान्को उपासना गरिने भएकाले व्रत परिपूर्णताका निम्त १०८ वस्तु अर्पण गर्नू भनिएको हो । समस्त खगोल एवं भूगोल पनि यही १०८ मा नै विद्यामन छ ।

नवग्रह यही खगोलका प्रतीक हुन् । पृथ्वीवासीलाई नवग्रहको प्रभावको आँकलन खगोल शास्त्रमा हुने गर्दछ । जसअन्तर्गत नौ ग्रहको शुभाशुभत्व वर्णन गरिन्छ । यसैगरी एक नक्षमा चार पाउ हुन्छन् । २७ नक्षत्रका १०८ पाउ हुन्छन् । अर्थात् चुचेचोला आदि १०८ अक्षरमध्येबाट नै हाम्रो नाम पनि निर्धारण भएको छ । धर्म (९ भाव) र मोक्ष (१२ भाव) को गुणन पनि १०८ नै हुन्छ । जो समस्त जगत्को परिपूर्णताको प्रतीक हो ।

यो ब्रहृमाण्ड गोलाकार छ । जसमा ३६० अंश हुन्छ । ३६० अंशका २१६०० कला हुन्छ । यीमध्ये १०८०० शिवस्वरूप र १०८०० शक्तिस्वरूप मानिन्छन् । यी मानको शतांश लिँदा अर्थात् १०० ले भाग गर्दा १०८ हुन्छ । यसैगरी समग्र योग १+०+८+०+०=९ हुन्छ । जो परिपूर्णताको प्रतीक हो । कार्यमा परिपूर्णता प्राप्तिका निम्ति १०८ वस्तु अर्पण गर्नु भनिएको कुरा यी प्रसङ्गबाट पनि जान्न सकिन्छ । भगान्का नाम जप्ने मालामा पनि १०८ नै दाना निर्धारित हुन्छन् । जो पनि परिपूर्णताका प्रतीक हुन् । सहित्यशास्त्रमा पनि नवरसको चर्चा गरिएको छ । यो संसारमा यिनै नौ रस छन् अझ भनौँ नवरसले संसर परिपूर्ण छ ।

विशेषतः चित्त शुद्ध गरी परमेश्वरप्रति भक्तिभाव व्यक्त गर्नाले यो लोकमा सुुख शान्ति प्राप्त हुनुका साथै परलोकमा पनि उत्तम गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । श्रीस्वस्थानी व्रतकथाको श्रवणले यो चराचर जगत्को विशद ज्ञान हासिल गर्न सकिन्छ । ब्रहृम, ब्रहृमाण्ड, भूगोल, द्विप, समुद्र आदिको बारेमा विस्तृत व्याख्या श्रीस्वस्थानी कथामा उल्लेख गरिएको छ । सृष्टिकर्ता पनि ईश्वर, पालनकर्ता पनि उनै महेश्वर अनि संहार कर्ता पनि उनै शङ्कर हुन् । भगवद् भक्तिविना संसारबाट पार पाउन सकिँदैन भन्ने कुरा कथामा व्यक्त गरिएको छ ।

विशेषतः चित्त शुद्ध गरी परमेश्वरप्रति भक्तिभाव व्यक्त गर्नाले यो लोकमा सुुख शान्ति प्राप्त हुनुका साथै परलोकमा पनि उत्तम गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । श्रीस्वस्थानी व्रतकथाको श्रवणले यो चराचर जगत्को विशद ज्ञान हासिल गर्न सकिन्छ ।

यसैगरी काल अर्थात् समयको व्यवस्थिति, सत्य, त्रेता, द्वापर, कलि युगको प्रसङ्ग, ब्रहृमाको आयु देवताको आयु अनि मनुष्यको आयुको बारेमा पनि विशेष ज्ञानवर्धक कुराहरू कथाका माध्यमले प्रस्तुत गरिएको छ । शरीर शुद्धिका लागि स्नान, चित्त शुद्धिका लागि कथा अनि व्यवहार शुद्धिका लागि आचरणको व्यवस्था भएको श्रीस्वस्थानी व्रतकथाको महिमा रहेको छ ।

स्कन्दपुराणको माघ माहात्म्यअन्तर्गत कुमार अगस्त्य संवादको कथा प्रसङ्ग नै कथाको आदि स्रोत हो । पार्वतीपुत्र कुमार र अगस्त्य ऋर्षिको संवादमा कथा आधारित छ । यस कथामा आद्य शक्तिको विशेष महिमागान गरिएको छ । चराचर जगत्का नियन्ता भगवान् शिव र पार्वतीको कथा प्रसङ्ग नै श्रीस्वस्थानीको मूल आख्यान हो । जसको आराधना गर्नाले उपासना गर्नाले यो लोकको भुक्तिको साथै परलोकमा पनि मुक्ति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

श्रीस्वस्थानीको व्रतमा आद्यशक्ति भगवतीको उपासना गरिन्छ । आद्यशक्ति भगवती यही १०८ मा परिपूर्ण हुनुहुन्छ । १०८ भन्नु नि १+०+८=९ अर्थात् परिपूर्णताको प्रतीक हो । महाकाली, महालक्ष्मी र महासरस्वतीका तीन व्यक्त स्वरूप हुन् । जो समस्त संसारमा व्याप्त रहेको इतिहास पुराणमा व्यक्त पाइन्छ । भगवतीको उपासना पद्धतिमध्ये माघ स्नानपूर्वक गरिने आराधना पनि एक विशिष्ट विधि हो । श्रीस्वस्थानी भगवतीको उपासना गर्नाले इच्छित वर प्राप्त हुने कुरा शास्त्रमा फल वर्णन गरिएको छ । भगवतीको अनन्त स्वरूप छन् । तीमध्ये १०८ स्वरूप विशेष मानिन्छन् । यसैले व्रत परिपूर्णतका निम्ति, अभीष्ट सिद्धिका निम्ति १०८ वस्तु अर्पण गर्नु भनिएको हो । जो पूर्णताका प्रतीक हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?