अलनासरको जितमा रोनाल्डोको गोल

Read Time = 3 mins

साउदी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि शीर्षस्थानमा रहेको अलनासर साउदी प्रिमियर लिगमा हारबाट जोगिएको छ । अलनासरले घरेलु टोली अल फातेहसँग दुई-दुई गोलको बराबरी खेलेको हो । १० खेलाडीमा समेटिएको अलनासरले खेलमा दुईपटक पछि परे पनि अंक खोस्न सफल भएको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी अल हासामा शुक्रबार राती भएको खेलमा घरेलु टोली अल फातेहका क्रिष्टियन टेलो र सोफिएन बेन्डेब्काले गोल गर्दा अलनासरका एन्डरसन टालिस्का र रोनाल्डोले बराबरी गोल फर्काउनुभयो ।

खेलको १२औँ मिनेटमा क्रिष्टियन टेलोले गोल गर्दै अल फातेहलाई एक-शून्यको अग्रता दिलाउनुभयो । ४२औँ मिनेटमा एन्डरसन टालिस्काले कोनानको पासमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

५८औँ मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै घरेलु टोलीलाई पुनः खेलमा दुई-एकको अग्रता दिलाउनुभयो । उहाँले मारवेन सादएनीको पासमा गोल गर्न सफल हुनुभएको थियो ।

इन्जुरी समयमा नोह अल मोउसाले पेनाल्टी बक्समा जालोलिडडिन मासहरिपोभलाई फउल गरेपछि रेफ्रीले अलनासरलाई पेनाल्टी प्रदान गरेको थियो । जसलाई रोनाल्डोले इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याउनुभयो । साउदीको लिगमा रोनाल्डोको यो पहिलो गोल हो । उहाँले लिगको दोस्रो तथा समग्रमा तेस्रो खेलमा गोल गर्नुभएको हो ।

इन्जुरी समयको थप गरिएको पाँचौँ मिनेटमा गोलकर्ता एन्डरसन टालिस्का सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अलनासर १० खेलाडीमा समेटिन पुग्यो । यस बराबरीसँगै अलनासर १५ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत् छ । समान अंक नै रहे पनि अलनासर एक खेल बढी खेलेको अल सवावभन्दा गोलअन्तरमा अघि छ । अल फातेह २२ अंक जोडेर छैटौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?