एक सय ४५ नयाँ उद्योग दर्ता

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पुससम्ममा स्वदेशी र विदेशी लगानीका एक सय ४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार सो अवधिमा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन् । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ता संख्या घटेको छ । गत आवको पुससम्ममा ४६ ठूला, ५७ मझौला र ५२ साना गरी कुल एक सय ५५ उद्योग दर्ता भएका थिए । चालु आवको पुससम्ममा दर्ता भएका एक सय ४५ उद्योगमा एक खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । यस वर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षभन्दा कम हो । गत आवको सोही अवधिसम्मा एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिबद्धता आएको थियो ।

हालसम्म नेपालमा कुल २७ खर्ब ६६ अर्ब लगानी प्रतिबद्धतासहित आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन् । जसअन्तर्गत ठूला उद्योग एक हजार तीन सय ४४, मझौला उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार पाँच सय सात रहेका छन् । हालसम्म दर्ता भएका करिब नौ हजार उद्योगबाट प्रस्तावित रोजगारी छ लाख ६७ हजार तीन सय २३ जना रहेको छ । पुस मसान्तसम्ममा दर्ता भएका कुल एक सय ४५ उद्योगमध्ये एक सय ३३ उद्योगमा १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ । हालसम्म नेपालमा पाँच हजार छ सय ६४ विदेशी लगानी स्वीकृति भएका छन् । पुससम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको संख्या आधाभन्दा बढी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?