एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरू गरी नित्य मध्यान्हकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आइतबार व्रत समापन गर्न लागेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरू गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ ।

स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने धार्मिक परम्परा छ ।

काठमाडौंको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि आज समापन हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?