वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छुः मन्त्री अर्याल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ ।

आईतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनैपनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो । उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको पनि बताउनु भयो ।

उहाँले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्ने बताउनु भयो । उहाँले मन्त्रालय ठगी गर्ने म्यानपावरहरुलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताउनु भयो । मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताउनु भयो ।

उहाँले मुलुकमा पछिल्लो वैदेशिक रोजगारका समय बढ्दै गएको बताउनु भयो । उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म्यानपावरहरु र व्यवसायीहरुलाई सुध्रिनको लागि समय दिन्छौं । दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ । कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं । वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकहरुलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरुलाई कारबाही गर्न सकैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन । म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन । भयो भने प्रमाण समेत ल्याएर आउँदा हुन्छ । म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानूनले सिधा गएर आक्रमण गर्न दिँदैन । कानूनी रुपमा कारबाही गर्ने हो । त्यसमा मैले काम गरिरहेको छु । यो देशमा समस्या नै समस्या छ । मन्त्रालयले एउटा विज्ञप्ति जारी भएको छ । विज्ञप्ति पछाडिको भाव सबै मेनपावर व्यवसायीहरुले बुझि दिनुहोला । यसको भाव बुझेमा ठगीहरु कम हुँदै जान्छ । म कुनै राजनीतिक दलको मन्त्री भएर आएको होइन । म ३ करोड नेपालीहरुको मन्त्री भएर आएको हो । म मन्त्री प्रक्रियाबाट आएको हो । मन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री भएर काम गर्दिन ।’

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर ३ करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताउनु भयो । उहाँले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्रालयमा मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?