पढाइसँगै व्यवहारिक सीप सिक्दै विद्यार्थी

Read Time = 5 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । कोहलपुर–२ स्थित शिवशक्ति आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप सिकाउन थालेको छ । कोहलपुर नगरपालिकाद्धारा लागू गरिएको स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ अन्तर्गत विद्यालयले व्यवहारिक सीप सिकाउन थालेको हो ।

विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटाका अनुसार तीन महिनादेखि विद्यार्थीहरुलाई सीप सिकाउन थालिएको हो । विद्यार्थीहरुले अहिले च्याउ खेती, तरकारी तथा फलफूलका बेर्ना उत्पादन, कोशी खेती गरिरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीहरुले बोतल तथा गमला खेती गर्नुका साथै र करेसाबारी फूलबारीसमेत सञ्चालन गरिरहेको बताउनुभयो । अध्ययनसँगै व्यवहारिक सीपका साथै शैक्षिक सामग्री निर्माण, चित्रकला हस्तकला निर्माण गरेर जीवनउपयोगी सीप सिकाउने कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ । विद्यालयले पढ्दै, सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कोहलपुर नगरपालिका नगर शिक्षा शाखाले निर्माण गरेको स्थानीय पाठ्यक्रम हाम्रो कोहलपुर अन्र्तगत कक्षा ६ पेशा व्यवसाय प्रविधि र कक्षा ७ मा खुसीका लागि शिक्षा जीवनउपयोगी सीप अन्तर्गत विद्यार्थीहरुले प्रयोगात्मक शिक्षालाई जोड दिइरहेका हुन् । विद्यार्थीले घरमा उत्पादन गरेका उत्पादन प्रदर्शनी गरेको थियो । कक्षा ६ र ७ मा अध्ययनरत ६५ जना विद्यार्थीहरुले आफूले उत्पादन गरेका उत्पादन प्रदर्शनी गरेका थिए ।
पढ्दै, सिक्दै कमाउँदै कार्यक्रममा कूल ८० जना विद्यार्थी सहभागी छन् । उक्त अवसरमा विद्यार्थीले आफूले घरमा उत्पादन गरेका च्याउ,गोभी, धनिया, लसुन, मेथी विभिन्न जातका फूलहरु प्रदर्शन गरेका थिए । ‘हामीले पढ्दै सिक्दै कमाउँदै कार्यक्रम लागू गरेका छौँ । पाठ्यक्रम अनुसार पढाइ हुन्छ ।’ प्रधानाध्यापक सापकोटाले भन्नुभयो,‘पढेको कुरा विद्यार्थीले घरमा प्रयोग गर्छन् । आफ्नो भागमा परेको उत्पादन गर्छन् । त्यसबाट आम्दानीसमेत गर्दै आएका छन् ।’ यतिमात्रै होइन घरममा विद्यार्थीले उत्पादन गरेका उत्पादनहरु आफै उपभोग गर्छन् ।

विद्यार्थीले उत्पादन गरेको च्याउबाट आम्दानीसमेत गर्न सफल भएको विद्यालयले जनाएको छ । तीन महिनामा विद्यार्थीले उत्पादन गरेको च्याउबाट दश हजार आम्दानी भएको छ । विभिन्न वस्तु उत्पादनका लागि आवश्यक सीप विद्यालयले सिकाउँदै आएको छ भने च्याउ खेतीका लागि आवश्यक टलेन र अन्य सामग्री व्यवस्थापन पनि विद्यालयले गरेको उनले बताए । पढ्दै सिक्दै कमाउँदै कार्यक्रमका लागि तीन महिनामा कूल ५० हजार रुपैयाँ लगानी लागेको छ । उक्त कार्यक्रमका लागि कोहलपुर नगरपालिका वडा नम्बर २ ले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयले पनि २० हजार रुपैयाँ लगानी गरेको प्रधानाध्यापक सापकोटा बताउँछन् । ‘पहिलोपटक प्रयोग गरेका थियौँ । विद्यार्थीले राम्रो मेहनत गरेका छन् । यसबाट उनीहरुमा सीपको विकास भएको छ । कमाइसमेत हुन्छ । हामीलाई समेत हौसला मिलेको छ । आगामी दिनमा पनि निरन्तरता दिन्छौँ । ’ उनले भन्नुभयो । आगामी शैक्षिक सत्रदेखि कक्षा ८ मा समेत पढ्दै सिक्दै कमाउँदै कार्यक्रम सुरुवात गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

विद्यालयले सुरु गरेको कार्यक्रममा विल्डन नेपालले समेत सहयोग गर्दै आएको छ । उक्त संस्थाले शैक्षिक विकासका लागि तीन कोठा भवन निर्माण गरिदिएको छ भने अभिभावक शिक्षासमेत प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?