कांग्रेसप्रति एमाले अध्यक्ष ओलीको आक्रोश, राष्ट्रिय सहमतिको बहसप्रति आपत्ति

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि खनिनुभएको छ । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले कांग्रेसले देशको राजनीतिलाई अस्थिर बनाउन खोजेको आरोप लगाउनुभएको हो । मंसिर ४ गतेको चुनावपछि एमालेलाई बहुमत नआएपछि आफूहरू प्रतिपक्षमा बस्ने मनसायमा रहेको भए पनि कांग्रेसले संविधानले दिएको समय सीमाअनुसार सरकार गठन गर्न नसकेपछि नयाँ सरकार बनाउन पहल गरेको ओलीको दाबी छ ।

राजनीतिक अस्थिरता कांग्रेसका लागि प्रत्युत्पादक हुने चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ । आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको र संसद्मा कांग्रेसले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकूल नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको छ । तर, बाध्यताले प्रतिपक्षमा बस्नुपरेको छ । यतिबेला कांग्रेस पानी बिनाको माछोजस्तै छटपटाएको देखिन्छ । सत्ताबाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैँले विश्वास गर्न नसक्ने अवस्थामा छ । सत्ताबाहिर हुँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग निकै छ ।’

अध्यक्ष ओलीले राष्ट्रपति पदको निर्वाचनमा खिचोला खडा गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको आरोप लगाउँदै भन्नुभयो, ‘कांग्रेसले गरेको यस व्यवहारलाई सरकारमाथि गरेको विश्वास मान्न सकिँदैन । बरु, राष्ट्रपति, सभामुख पदमा खिचोला खडा गर्ने दुराशय देखिन्छ ।’ ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको कांग्रेसको आरोपको खण्डन गर्दै प्रधानमन्त्री संविधानबाहिर फुक्काफाल नहुने टिप्पणीसमेत गर्नुभयो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहसप्रति आपत्ति
एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहसप्रतिसमेत आपत्ति जनाउनुभएको छ । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र, प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्ष दलहरू राष्ट्रिय सहमतिको आवश्यकतामाथि जोड दिइरहेका छन् । कुनै दल विशेषको सुविधाको लागि राष्ट्रिय सहमतिको आवश्यकता नभएको जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पुस १० गते निषेधको राजनीति उत्तानो परेको छ । सहमति, सहमति भनिराख्या छ । सहमति गरौँ न । राष्ट्रियता, विकास, सुशासन, राहत सहुलियत पुर्‍याउने सवालमा सहमति गरौँ । सभामुख र उपसभामुख जस्ता साझा पदमा उहाँहरू सहमति गर्नुहुन्न । प्रधानमन्त्री र मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सहमतिको राजनीति भन्नुहुन्छ । राष्ट्रपतिमा मात्र के को राष्ट्रिय सहमति ? यो सरकारभन्दा राम्रो गर्ने अर्को कुनै वैकल्पिक शक्ति छैन ।’ सम्बोधनका क्रममा ओलीले २०७४ मा बनेको आफ्नो नेतृत्वको सरकारले गरेका विभिन्न कामहरूको पनि चर्चा गर्नुभयो ।

रविको बचाउ गर्दै अदालतको फैसलाको विरोध
नेकपा एमालेका अध्यक्ष ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसद्मा प्रश्न उठाउनुभएको छ । उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए ? भन्ने आफूले नबुझेको टिप्पणी गर्दै संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने जिकिर गर्दै भन्नुभयो, ‘रवि लामिछाने ढोका खुला देखेर फुत्त पसेको होइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउँछ भनेर सदर गरेको र चुनाव लड्दा अत्यधिक मतले आफ्नो प्रतिनिधि छानेको हो । सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको छ । त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो । न्याय भयो कि भएन ?

रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’
ओलीले बोल्दा सांसद खतिवडाको नियमापत्ति
आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेस सत्तारूढ दल बन्न खोजेको भन्दै आलोचना गर्नुभयो । ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकारी गराउँदै गर्दा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गर्नुभयो । प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ति गरेको भन्दै सांसद खतिवडाले ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने जिकिर गर्दै भन्नुभयो, ‘पूर्व–प्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसद्मा प्रस्तुत नगरियोस् ।’

कांग्रेस फोबियाबाट मुक्त हुन ओलीलाई आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस फोबियाबाट मुक्त हुन सुझाव दिनुभएको छ । कांग्रेसले देशको राजनीति अस्थिर बनाउन खोजेको, प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको, सत्ता नहुँदा पानी बाहिरको माछाजस्तै भएको लगायत ओलीले संसद्मा कांग्रेसप्रति लगाएको आरोपप्रति महामन्त्री शर्माले भन्नुभयो, ‘सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसद्मा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो । प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै थियो । अतः बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि ढोक्सा ! श्रद्देय कमरेड केपी शर्मा ओली कांग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने ? विघटनको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन । धन्यवाद ।’ संसद्मा कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाउन पनि अनुरोध गर्दै महामन्त्री शर्माले लेख्नुभएको छ, ‘संसद् कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाऔँ । विचार र विकासको जिम्मेवार बहसको थलो बनाऔँ । यो अपिल सबैभन्दा बढी मेरा जिल्लावासी कमरेड श्रद्देय केपी शर्मा ओलीको लागि ।’

ओलीको सम्बोधनपछि चित्रबहादुर केसीको टिप्पणी- ‘प्रधानमन्त्री उहाँ नै हो जस्तो लाग्यो’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले आइतबार प्रतिनिधिसभामा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान परेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले ओलीका सबै भनाइहरू सुन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभई ओली नै हो भन्ने भान परेको टिप्पणी गर्दै भन्नुभयो, ‘मैले के निष्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा पुस २६ गते नै आतंकित हुनुभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक छ ।’

सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा गोहीको आँसु बगाएको जिकिर गर्दै भन्नुभयो, ‘अघि पूर्व-प्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरूलाई आश्चर्य लाग्नसक्छ । उहाँले रनभूल पार्न सक्नुहुन्छ । हामी त संसद्मा पहिल्यैदेखि छौँ नि । उहाँलाई देखेका छौँ, सरकारमा, संसद्मा बसेका छौँ । उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली कांग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्य कुरा त्यही हो ।’

जनमतको सन्देश नै राष्ट्रिय सहमति : पौडेल
नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले अहिलेको जनमतको सन्देश नै मुख्यमुख्य राजनीतिक दलहरूबीच मिलेर जाऊ भन्ने रहेको बताउनुभएको छ । अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गर्दै पौडेलले भन्नुभयो, ‘हामीले राष्ट्रिय सहमतिको आवश्यकताको कुरा उठाइरहेका छौँ । वास्तवमा यो संविधान र यो व्यवस्थाको स्थायित्वका लागि राष्ट्रिय सहमतिको खाँचो छ, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि पनि हामीले राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेछ ।’

पदको आशक्तिका कारण विश्वासको मत दिएको होइन : गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्मा विश्वासको मत दिँदा आफूहरूले हार्दिकता देखाएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै गुरुङले भन्नुभयो, ‘भयानक आर्थिक संकट अहिलेको समस्या हो । यो समस्या साझा समस्या हो । प्रमुख प्रतिपक्षमा बसेर भन्यौँ-तपाईं दह्रो खुट्टा टेक्नुहोस् भनेर हामीले विश्वासको मत दिएका थियौँ । तर, हामीले विश्वासको मत दिँदै गर्दा सत्तापक्षको नेताहरू कसैलाई टाउको दुख्ने, कसैलाई पेट दुःख्ने, कसैलाई ज्वरो आएको पनि देख्यौँ । यस्तो दुर्दशा छ मुलुकको ।’

उपसभापति गुरुङले एउटा नागरिकले जिउँदै शरीरमा आगो लगाएर आत्मदाह गर्दा पनि सरकारको ध्यान तान्न नसकेको टिप्पणी गर्दै आत्मदाहले नछोएको सरकारका मन्त्रीहरू नयाँ गाडी किन्न निवेदन लिएर हिँडिरहेका आरोप लगाउनुभयो ।

सम्पत्ति शुद्धीकरण विधेयक संसद्मा नल्याउनु गम्भीर : सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले यथाशीघ्र विधेयकलाई संसद्मा ल्याउन र पारित गर्न माग गर्दै भन्नुभयो, ‘गत पौषमा एफएटिएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्कियो । उसले नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाऊ, नत्र तिम्रो देश ग्रे जोनमा पर्छ भनेर सुझाव दिएको छ । उसले तोकेको मापदण्ड पूरा नगर्दा कतिपय ठूला देशहरू आर्थिक विकासको ठूला सञ्जालबाट बाहिरिएका छन् । जसको कारण ती देशहरूले आर्थिक संकटको सामना गर्नुपरेको छ । यस्तोमा हाम्रोजस्तो देशले दण्डित हुने अवस्था बन्यो भने संकटपूर्ण अवस्था आउन सक्छ ।’

राष्ट्रपतिले संसद्मा सम्बोधन गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । राष्ट्रपति भण्डारीले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?