प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव भएको हो । कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । तीनजना प्रशासकीय अधिकृतको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा अहिले काजमा समेत गरी दुईजना प्रशासकीय अधिकृत कार्यरत छन् । प्रशासकीय अधिकृत राजकुमार थापा एकजना मात्रै हुँदा नागरिकता जारी गर्नेदेखि अन्य काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालय मलंगवामा काजमा खटाइएको छ ।

दुईजना प्रशासकीय अधिकृतमध्ये थापा पनि गएको शुक्रबारदेखि एक साताका लागि बिदामा बसेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एकजना मात्रै छन् । तीनजना प्रशासकीय अधिकृत हुँदासमेत नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका काममा भ्याइनभ्याई हुने गरेकोमा अहिले एकजना मात्रै अधिकृत हुँदा सेवा प्रवाहमा निकै सकस परिरहेको छ । प्रशासकीय अधिकृत भुजेल एक्लैले तीनजना अधिकृतको काम भ्याउनुपरेको छ । जिल्ला प्रशासन कार्यालय मलंगवामा कार्यरत प्रशासकीय अधिकृत उर्मिला अधिकारी केही महिनाअघि नै र अर्का प्रशासकीय अधिकृत कामेश्वर यादव केही साताअघि सरुवा भएर गएपछि कार्यालयलाई अधिकृतको अभाव भएको हो । एक जना मात्रै प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने गरेको छ । घण्टौं लाइनमा बस्नुपर्दा उनीहरू थप झन्झट बेहोर्न बाध्य भएका छन् ।

इलाका प्रशासन कार्यालय हरिवनमा अहिले कार्यालयमै कार्यरत नायब सुब्बा रञ्जितकुमार साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । नायब सुब्बा साहलाई नागरिकता लगायतका कागजातमा हस्ताक्षर गर्ने गरी अख्तियारी दिइएको छ । इलाका प्रशासन कार्यालय बरहथवा पनि अहिले नायब सुब्बाकै भरमा रहेको छ । प्रशासकीय अधिकृत रामनरेश राम उपसचिवको परीक्षाका लागि बिदामा बस्नुभएकाले इलाका प्रशासन कार्यालय बरहथवामा नायब सुब्बा राजेश रायलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

नागरिकता फाँटतर्फ मात्रै जिल्ला प्रशासन कार्यालयबाट नयाँ र पुरानो गरी दैनिक १५० भन्दा बढी र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट ४०/४५ वटा नागरिकता जारी हुने गरेको छ । यि कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप पनि उत्तिकै हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराइएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी पनि वैदेशिक भ्रमणका लागि केही दिन अघिदेखि नै बिदामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?