उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

राष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने प्रयास, ठाकुरलाई अघि सार्ने लोसपाको तयारी

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच राष्ट्रपतिको उम्मेदवार तय गर्न औपचारिक छलफल सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजकत्वमा रहेको सत्ता गठबन्धनमा आबद्ध दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । बैठकमा राष्ट्रपतिको उम्मेदवार र सरकारका काम कारबाहीबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान ओलीनिवास बालकोटमा भएको भेटघाटमा संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । ओलीसँगको छलफलपछि प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिनुभएको थियो । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल गर्छौं ।’ प्रधानमन्त्रीको प्रतिक्रिया थियो ।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा अहिले सत्तारूढ गठबन्धनका मुख्य दुई घटक नेकपा एमाले र माओवादीबीच मतभेद देखिएको छ । पूर्व–सहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै एमालेले राष्ट्रपतिको उम्मेदवार खडा गर्ने दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसले पनि विश्वासको मत दिएकाले उसका लागिसमेत अनुकूल हुने व्यक्ति राष्ट्रपति हुनुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डसँगको बुधबारको छलफलमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहो¥याउनु भएको छ । बुधबार बिहान बालकोट पुग्नुभएका माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डसँगको भेटमा पूर्व-सहमतिअनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान राख्नुभएको जानकारी दिँदै एमालेका एक नेताले भन्नुभयो,‘तपाईंलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ । अब फेरि त्यो विषयमा छलफल गर्नुपर्दैन । एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्छ ।’ जवाफमा प्रधानमन्त्री प्रचण्डले सकेसम्म कांग्रेसको समेत सहमति लिएर राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको थियो । कांग्रेसले समेत राष्ट्रपतिमा दाबी गरेकाले राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने प्रचण्डको अडान थियो । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल र भेटघाट बाक्लिएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै कांग्रेससँगको सहकार्यमा माओवादीले संकेत जनाएपछि एमाले संशकित भएको छ । एमालेले पूर्व–सहमतिअनुसार नै आफूले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएको छ । माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने निर्णय औपचारिक निर्णय गरिसकेको छ । प्रधानमन्त्री प्रचण्ड पनि निरन्तर राष्ट्रिय सहमतिमा जोड दिँदै आउनुभएको छ । राष्ट्रिय सहमतिको विषयमा पनि उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्छौं ।’

गठबन्धनका दुई शीर्ष नेताहरूबीच रवि लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएपछिको अवस्थाबारे पनि छलफल भएको बताइएको छ । मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको थियो । रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले गृह, शिक्षा र श्रम मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि पनि प्रधानमन्त्रीले वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैँले हेर्दै आउनुभएको छ । रास्वपाको बहिर्गमनपछि प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन गृहकार्य थाल्नुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त छलफल गर्नुभएको थियो ।

एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्छौँ : महामन्त्री थापा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस राष्ट्रपतिमा आफ्नो उम्मेदवार निर्वाचित गराउन सम्पूर्ण शक्ति लगाइरहेको छ । पछिल्लो समय कांग्रेसको ध्यान राष्ट्रपति निर्वाचनमा निर्णायक मत रहेको सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रलाई फकाउन केन्द्रित छ । एमालेसँग प्रतिस्पर्धा र माओवादीसँग सहकार्यको नीति अख्तियार गरेको कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष लगायतका अन्य संवैधानिक शासकीय पदमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गरेको छ । कांग्रेस र माओवादी केन्द्रबीचको बढ्दो निकटतालाई लिएर एमाले झन् सशंकित बन्दै गएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशा राखेको कांग्रेसले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेको छ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गर्दै एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गर्नुभएको हो । हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘हामीले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । हराएर छोडौंँ । कोसिस गर्छौं । लाग्छौँ लाग्छौँ । स्वाभाविक हो नि त । आँखा लगाउँछौँ । भोटै माग्छौँ । मत लिने कोसिस गर्छौं । र, हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोसिस गर्छौं ।’

लोसपाबाट महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु गर्ने भएको छ । दलहरूबीच राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने रस्साकस्सी चलिरहेको बेला लोसपा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफलमा जुटेको हो । लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने बताउँदै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने भएकाले त्यसका लागि ठाकुर उपयुक्त रहेको जिकिर गर्नुभयो । पार्टीमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन कुनै समस्या नरेको भन्दै भण्डारीले हालसम्म कुनै दलसँग यस विषयमा छलफल नभएको पनि दलहरूबीचमा सहमति हुनुपर्ने बताउनुभयो । दलहरूको छलफलमा राष्ट्रपतिको लागि ठाकुरको प्रस्ताव लगिने भण्डारीले जानकारी दिनुभयो । लोसपाका अध्यक्ष महन्थ ठाकुर मधेश विद्रोहको बेला कांग्रेसबाट विद्रोह गरेर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) खोल्नुभएको थियो । ठाकुरले आफू धेरैपटक मन्त्री बनिसकेकाले अब मन्त्री नभई प्रधानमन्त्री वा राष्ट्रपति बन्ने धारणा राख्दै आउनुभएको छ । यसअघि पनि ठाकुर राष्ट्रपतिको उम्मेदवारी दिने चर्चा र छलफल हुने गरे पनि योपटक भने पार्टीले नै औपचारिक रूपमा प्रस्ताव लैजाने तयारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?