महानगर प्रमुख बालेन्द्रलाई उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

प्राधिकरणले नगर प्रमुख शाहलाई लेखेको पत्रमा भनिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

प्राधिकरणका एक उच्च अधिकारीले यस विषयमा चित्तबुझ्दो जवाफ नपाएमा मेयर बालेनसहित संलग्नहरूलाई उडानमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?