दमकलाई हराउँदै फिक्कल फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेस्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमिफाइनलमा फिक्कलले दमकलाई ३-२ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २–० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोस्रो हाफमा थप १ गोल गर्न सफल रहृयो । खेलको छैटौँ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाउनुभयो । २ मिनेट नबित्दै शेखरले अग्रता दोब्बर बनाउनुभयो ।

४५औँँ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाउनुभयो । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेँलो कार्ड खाँदै ६५औँ मिनेटमा मैदान बाहिरिनुभयो । १० खेलाडीमा सीमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३-१ बनाउनुभयो ।

दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरे पनि जितका लागि पर्याप्त भएन । जितसँगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच २ गोलकर्ता शेखर घोषित हुँदै नगद दुई हजार प्राप्त गर्नुभयो । दमकले आयोजक देउराली स्पोर्टिङ क्लब र फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।
दोस्रो सेमिफाइनल खेलमा बुधबार बिर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

बिर्तामोडले नवप्रयास ताप्लेजुङ र बुट्टाबारीले रेडहर्स इलामलाई हराउँदै सेमिफाइनल पुगेका हुन् । आगामी वैैशाख १ गते फाइनल हुने प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनलअघि चैत ३० गते देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण खेल हुनेछ । त्यसैगरी इलाम भेट्रान र सन्दकपुर भेट्रान तथा जनप्रतिनिधि र राजनीतिक दलबीच मैत्रीपूर्ण खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?