पातलिँदै गए परम्परागत घर : गाउँगाउँमा पक्की घरको लहर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । ढुंगा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो,अम्बा,कागती र सुन्तलाका बोट । गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै गएको छ ।

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवनहरु निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुंगे घरहरु पातलिँदै जानथालेका छन् भने खरले छाएका घरहरु लोप भएका छन् ।

डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घरहरू बाख्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरहरूले मनै लोभ्याउने गर्थे ।

रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरहरूले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जव सडक विस्तार भएर गाउँमा यातायातका साधनहरु पुग्न थाले तव रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको स्थानीय बूढापाकाहरुको भनाइरहेको छ । सडकको प्रभाव ती पुराना परम्परागत घरहरूमा परेको उनीहरुको बुझाइ छ ।

परम्परागत घर र ढुंगे घरहरू गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कंक्रिटका घरहरू ठडिँदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् त  निम्न वर्गका नागरिकले खर र ढुंगाको छानो हटाएर जस्तापाले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घरहरू विस्तारै विस्थापित हुने अवस्थामा पु-याएको छ ।

म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट, मालिका गाउँपालिका ७ विम, रघुगंगा गाउँपालिका ६ पाखापानी लगाएतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडीसम्म गाउँका अधिकांश घरहरू ढुंगा र केही खरले छाइएका थिए । तर, अहिले ती बस्तीहरूमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रंगका जस्तापाताहरूले छाएर घरहरू रंगीचंगी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घरहरू कम पाइन्छ ।

गाउँमा सडक आएपछि गाउँलेहरूले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरहरूलाई भत्काएर नयँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । उपाध्यायले भन्नुभयो, “डेढ दशक अगाडीसम्म गाउँमा धेरै जसो घरहरू ढुंगा र खरले छाएका थिए, गाडीहरू आउने बाटो पनि थिएन, अहिले ती सबै घरहरु लोप भैसके ।”

बेनी नगरपालिका ४ सिंगामा पनि करिब एक दशक अगाडिसम्म ढुंगेघरहरू टन्नै थिए । तर अहिले ढुंगाका घरहरूले भएका ठाउँहरूमा ठूलाठूला कंक्रिटका घरहरू ठडिएका छन् । सडक सिंगामा नपुग्दा धेरैको घर ढुंगालेनै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवनहरू बनाउन थालेको स्थानीय केशव पौडेलले बताउनुभयो ।

उहाँले गाउँमा सडक आएपछि धेरै मानिसहरूले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामानहरू ल्याउन सक्ने भएपछि ठूलाठूला भवनहरू बनाउन थालेको बताउनुभयो । पौडेलले यहाँका धेरैजसो मानिसहरू विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुंगाको घर विस्थापित गरी पक्की घरहरू बनाउन थालेको जानकारी दिनुभयो ।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको वैंक तथा वित्तिय संस्थाहरुको तथ्यांक छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुनेगरेको पाइएको छ । यहाँका मान्छेहरू सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घरहरू ठडिरहेका छन्, एक/दुई वर्षमा यहाँ ढुंगाका घरहरू पनि देख्न नपाइने स्थानीय वासिन्दाहरुको अनुमान रहेको छ ।

सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घरहरू विस्थापित भएको स्थानीयहरूको भनाइ छ ।सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिसहरू सजक र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवनहरू निर्माण गर्न थालेका छन् । परम्परागत घरहरू भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकहरूले सचेतता अपनाएर पक्की भवनहरू बनाउन थालेको बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?