नीर शाहद्वारा राजीनामा, बोर्ड अध्यक्ष केसीको कार्यशैलीप्रति असन्तुष्टि

Read Time = 3 mins

काठमाडौं । नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिनुभएको छ । बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

‘बोर्डका विभिन्न खालका केही काम भएका छन् । तर, त्यो सल्लाह बमोजिम भएका होइनन् । के निर्णय हुँदै छ भन्ने थाहा भए कम्तीमा आफ्नो राय सुझाब दिन सकिन्थ्यो,’ शाहले भन्नुभएको छ, ‘के निर्णय हुँदै छ भन्ने थाहै नहुँदा आफ्नो रायसमेत राख्ने अवस्था नभएको स्थितिमा त्यहाँ बसिरहनु मैले उचित ठानिनँ ।’

बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उहाँको भनाइ छ । ‘म बोर्डको सल्लाहकार समितिको संयोजकमा पूर्वअध्यक्ष केशव स्वर्गीय भट्टराईको पालादेखि नै छु’ शाहले भन्नुभयो, ‘अहिले भने बोर्डमा सल्लाहकार समिति काम बिहिन भयो ।’ बोर्डमा सल्लाहकार समितिको केही काम नभएका कारण आफूले मात्र नभएर अन्य साथीहरूले समेत धमाधम राजीनामा दिइरहेको शाहको भनाइ छ ।

सल्लाहकार समिति सदस्यबाट केही दिनअगाडि मात्रै रवीन्द्र खड्काले पनि राजीनामा दिनुभएको थियो । खड्काले माघ २० गते विभिन्न कारण देखाउँदै राजीनामा बुझाउनुभएको थियो । बुधबार सल्लाहकार समितिका अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले पनि राजीनामा दिनुभएको छ । उहाँले बोर्डका कामहरू विवादित बनिरहेको र सल्लाहकार समितिले कुनै पनि निर्णयको सम्बन्धमा सल्लाह-सुझाब लिने काम नगरेको भन्दै राजीनामा दिनुभएको हो ।

दुबईमा हुनलागेको फेस्टिभलको विषयमा बोर्डले सल्लाहकार समितिसँग सल्लाह नै नगरेकोमा असन्तुष्ट रहेका कारण राजीनामा आएको जानकार बताउँछन् । बोर्डले विवादित निजी कम्पनीलाई दुबईमा फिल्म फेस्टिभल गर्नका लागि व्यवस्थापकीय जिम्मेवारी दिएपछि भुवन विवादमा तानिनुभएको छ । भुवनले सल्लाहकार समितिको सल्लाह बिना विवादित काम गर्दै गएका कारण सल्लाहकार समितिबाट एक-एक गर्दै धमाधम राजीनामा दिन थालिएको बुझिएको छ ।

नीर शाह संयोजक रहेको सल्लाहकार समिति सदस्यमा शोभित बस्नेत, दीपाश्री निरौला, रवीन्द्र खड्का, आकाश अधिकारी, सुशान्तकुमार श्रेष्ठ र विधान कार्की सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?