बागलुङ । “हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाउँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओधेर चिसो छल्ने गर्थ्याैं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैनन्, बुने पनि विक्री हुँदैन ।” निसीखोला गाउँपालिका-६ का ७४ वर्षीय विरमान बुढा मगरले अहिले प्राय जसो भेडाको रौँबाट बनेका कपडा प्रयोग गर्नु हुन्छ । जोडमा न्यानो र गर्मीमा सितल हुने हुँदा ऊनको कपडा पहिले बढी प्रयोग हुन्थे । अचेल गाउँ घरमा सबै प्रकारका लत्ता कपडा आउन थालेपछि परम्परादेखि चलनचल्तीमा आएका भेडाका रौँका कपडा कम प्रयोग हुने बुढा मगर बताउनुहुन्छ । आधुनिक प्रबिधिका कारण ऊनबाट बनेका कपडा हराउँदै गएको उहाँको भनाइ छ ।
भेडापालक कृसानको संख्या कम हुँदै गएपछि रौँबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । पहिले गाउँमा हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायतका कपडा बुन्ने सी हुने गरेकामा अहिले निकै थोरैले मात्र कपडा बुन्ने काम गर्ने बुढा मगर बताउनुहुन्छ । दिनप्रति दिन बजारको सुविधा गाउँ उक्लिन थालेसँगै गाउँका मौलिक संस्कृति ओझेलमा पर्दै गएको उहाँको भनाइ छ । अहिलेका युवा पुस्ताले ऊबाट बनेका कपडा प्रयोगनै नगर्ने भन्दै विदेशी महङ्गा कपडा लगाउन खोज्ने गरेको बुढा मगरले बताउनुभयो ।
ढोरपाटन नगरपालिका-९ की बिनु पुन मगरले अहिले पनि फुर्सदमा रौँ बाटेर कपडा बनाउने गर्नुहुन्छ । घर्किदो उमेरमा पनि बिनुले निकै आकर्षक कपडा बुन्ने गर्नुहुन्छ । तर धेरै समय लगाएर तयार भएका कपडा विक्री भने नहुने उहाँले गुनासो गर्नुभयो । ११ वर्षको उमेरमा आमा, हजुरआमा र छिमेकीहरुबाट कपडा बनाउन किसेको पुनले सुनाउनुभयो । डेढ दशक अगाडिसम्म निकै व्यापार हुने गरे पनि अहिले एउटा पनि विक्री गर्न नसकेको बताउनुभयो । आफूहरु सानो हुँदा अहिलेको जस्तो ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भन्दै आफूहरुले ऊनको कपडानै प्रयोग गरेको बताउनुभयो । कपडा लिनका लागि पोखरा, काठमाडौँ बुटवल पुग्नु पर्ने भन्दै अहिले सबै गाउँमै पाइने उहाँको भनाइ छ ।
“हाम्रो जमानामा अहिलेको जस्तो लुगाहरु पाउन मुस्किल हुन्थ्यो, गाउँ घरमै बनाएर लगाउने गरिन्थ्यो, जसरी भए पनि जाडो छेक्न पाए हुन्ने हुन्थ्यो, एक पटक बजारबाट ल्याएको कपडा वर्षौँसम्म लगाइन्थ्यो, तर अहिले त गाउँ-गाउँमा लुगा पसल आए, जति बेला किने पनि भयो, जस्तो किने पनि भयो” पुन मगरले भन्नुभयो- “उति बेला अहिलेको जस्तो सुविधा थिएन, एक जोर कपडा किन्न हजारौँ खर्च गरेर बजार पुग्नु पर्ने अवस्था थियो, त्यस बेला धेरै काम्लो, बख्खु र भाङ्ग्रा विक्री हुन्थे अहिले ति कुनै पनि कपडा कसैले किन्दैन, कहिले काहीँ विदेश जानेले रहर गरेर लैजान्छन् ।”
पश्चिम बागलुङको माथिल्लो क्षेत्रमा यदाकदा ऊनका कपडा देखिन्छन् । यस क्षेत्रमा बस्ने अधिकांश मानिसहरु भेडापालन गर्ने हुँदा ऊनका कपडा बढी लगाउने गर्थे । एकै परिवारले हजारौँ भेडा पाल्ने हुँदा रौँबाट कपडा बनाउने गरिन्थ्यो । पछिल्लो समय युवा पुस्ताले सहर बजार र विदेश रोज्न थालेपछि भेडापालननै संकटमा पर्ने डर बढेको छ । वर्षौ पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही कम भएको छ । अहिले पनि माथिल्लो खर्कहरुमा पुग्दा सेताम्य भेडाका बथानहरु भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाकानै हुन्छन् । रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुम लगायतका कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने गर्मीमा घाम छेक्ने हुँदा निकै उपयोगी मान्छिन ।
तमानखोला गाउँपालिका-३ का भीमबहादु रोकाले अहिले पनि रौँबाट धेरै थरि कपडा बनाउँदै आउनु भएको छ । सयौँको संख्यामा भेडा पाल्नु भएका रोका हिउँदमा बेसी र बर्खा लेकमा बिताउने गर्नुहुन्छ । लेक बेसीमा बस्दा उहाँले फुर्सद निकालेर काम्लो, हापदुला र बख्खु बन्नु हुन्छ । गाउँ घरमा विक्री नहुने कपडालाई रोकाले विदेश पठाउने गर्नु भएको छ । एउटा बख्खुको खुल्ले २० हजारदेखि ४० हजारसम्म पर्ने उहाँको भनाइ छ । पहिले-पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकोमा अहिले पाँच वटा पनि विक्री नहुने बताउनुहुन्छ ।
रोकाले भन्नुभयो - “विक्री हुँदैनन्, त्यही भएर मैलेनै फेरिफेरि लगाउने गरेको छु, एउटा काम्लो तयार गर्नै हप्ता दिन बढी लाग्छ, विक्री गर्न खोज्दा कसैले किन्दैनन्, काम्लो त अहिले बजारमा आएको सिरक कम्बल जस्तो हो, रातभरी यही ओढेर सुत्न पनि मिल्छ, यताउता हिँडडुल गर्दा लगाउन पनि मिल्छ, विदेश जानेले किन्थे, अहिले त कसैले पनि किन्दैनन्, त्यही भएर बनाउन पनि जाँगर लाग्दैन, वर्षभरी चार/पाँच वटा जति बनाउछु, अहिले आफन्तीले माग्छन् र दिन्छु नत्र आफै लगाउने गरेको छु ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच