म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणवाङको रानीभीर ठाडोपाखो सामुदायिक वनमा बुधबार साँझ (हिजो) देखि लागेको डढेलो मध्यराती नियन्त्रणमा लिइएको छ ।
जंगलको बीचभागमा लागेको डढेलो फैलिएर पुरै जंगलैभरी पुगेको थियो । स्थानीयको प्रयासमा राती नियन्त्रणमा लिइएको हो । खानेपानीको पाइप जडान गर्नका लागि हिटिङ तताउँदो जंगलमा आगोलागि भएको अनुमान गरिएको स्थानीय श्रीराम पौडेलले जानकारी दिनुभयो ।
गत फागुन दोस्रो सातादेखि म्याग्दीका जंगलहरुमा दिनहुँजसो डढेलो लागिरहेको र न्यूनिकरणको प्रयास गरिए पनि सफल हुन नसकेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पु-याएको छ । डढेलोले म्याग्दीको करिव एक हजार हेक्टर वन क्षेत्र ध्वस्त वनाएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गत फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय १२ ओटा वनमा डढेलो लागेको छ ।
डढेलोका कारण जिल्लाको एकहजार हेक्टर वन क्षेत्र ध्वस्त भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।
साँझको समयमा भिरालो क्षेत्रमा लागेको डढेलोले वस्तीलाई नै त्रसित बनाएको स्थानीयले बताएका छन् । वन क्षेत्र डढेलोका कारण कालो देखिएको छ भने रुख,बोट विरुवा,वनस्पति र पंक्षी तथा जंगली जनावरहरु समेत डढेर खरानी भएका बताइएको छ ।
यसपालि हिउँदे वर्षा नहुँदा वनक्षेत्रमा सुकेर झरेको पतिङ्गरमा आगो चाँडै फैलँदा छिनभरमै जताततै काला ठुटा र खरानी देखिन्छ ।
वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन् । अहिले दिनहुँजसो वनक्षेत्रमा डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका ६ उपल्लो दुखुका यमन पुनले बताउनुभयो ।
“जंगलमा डढेलो लागेपछि वन क्षेत्र कालो देखिएको छ । वसन्तऋतुमा पनि जंगलमा चहलपहल छैन । न चराचुरुङ्की कराएको सुनिन्छ न बँदेल,बादर लगाएतका जंगली जनावरहरु रमाएको देखिन्छ । जंगली जनावरहरु गाउँ पसेर गाउँलेलाई दुःख दिन थालेका छन्” पुनले बताउनुभयो ।
जंगलमा डाँफे,कालिज,चिबे,तित्रा,कटुके चरा,लामपुच्छ«े लगाएतका पंक्षीहरु देखिन छोडेका बेनी नगरपालिका ३ भकिम्लीका तेजबहादुर घर्तीले बताउनुभयो ।
“कालिज,,तित्रा र चिबे चरा त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिक्कै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो”, घर्तीले भन्नुभयो “अचेल केही दिनयता यी चरा देखिँदैनन् ।” त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका उहाँ बताउनुहुन्छ ।
पछिल्लोपटक जिल्लाका मालिका,मंगला र बेनी नगरपालिकाका विभिन्न वनहरुमा डढेलो लागेको छ । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरु ज्यान जोगाउन अन्तै गएपछि वन सुनसान भएको मालिका गाउँपालिका ६ का वडाअध्यक्ष पथबहादुर रोका बताउनुहुन्छ ।
दिनदिनैको डढेलोले वनसँगै टाँसिएका बस्तीका बासिन्दा राति निश्चिन्त भएर सुत्न नसकेका उहाँको भनाइ छ । “त्रासैत्रासमा छौँ, कतिखेर डढेलो कहाँ देखिने हो भन्ने मनमा कुरा खेलिरहन्छ”, रोकाले बताउनुभयो ।
भिरालो क्षेत्रमा लागेको डढेलोले ग्रामीण वस्तीलाई नै त्रसित बनाएको स्थानीयले बताएका छन् । वन क्षेत्र डढेलोका कारण कालो देखिएको छ भने रुख,बोट विरुवा,वनस्पति र पंक्षी तथा जंगली जनावरहरु समेत डढेर खरानी भएका मालिका गाउँपालिका ६ का टेकबहादुर पुनले बताउनुभयो ।
जिल्लाको बेनी नगरपालिका लगाएत मालिका,मंगला,रघुगंगा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न जंगलहरुमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्याल्य म्याग्दीका प्रमुख विष्णु अधिकारीले जानकारी दिनुभयो ।
कतिपय वनहरुमा आगो नियन्त्रणमा आइसकेको छ भने कैयौं वनमा अझै पनि धुवा पुत्याइरहेको देखिन्छ । दैनिक रुपमा आगोलागी हुने क्रम वढ्दै गएको र आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय,सुरक्षाकर्मीहरुलाई उपकरण वितरण सहितका कार्य गरिएको डिभिजन प्रमुख अधिकारीको भनाइ छ ।
यसैगरी डढेलोले गर्दा वनका महत्वपूर्ण जडिबुटी सखाप भएका छन् । चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ डढेर खरानी भएको देख्नुपरेको स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।
बर्सेनि डढेलोविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि यो समस्या भने घटेको छैन । वनक्षेत्र नजिकका पशुपालक किसानका गोठालाले नै डढेलो लगाएपछि वर्षा हुनासाथ नयाँ घाँस पलाउने विश्वासमा डढेलो लाउने गरेका वनसम्बद्ध कर्मचारीको निष्कर्ष छ ।
जिल्लाका वनरक्षकहरु असावधानीसाथ मिल्काइएका बिँडीचुरोटका ठुटा र घाँस पलाउने आशमा गोठालाले सल्काउने आगोले नै डढेलो लाग्ने गरेको बताउछन् ।
वनसम्बद्ध कर्मचारी सबै ठाउँमा पुग्न नसक्ने हुँदा यसमा आम सर्वसाधारणको चासो आवश्यक रहेको वन तथा वातावरणका जानकार तथा डिभिजन वन कार्यालय म्याग्दीका डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटा बताउनुहुन्छ ।
वनक्षेत्र नजिकका बस्ती–बस्तीमा डढेलोविरुद्धको जिम्मेवारीसहितको सामुदायिक सहभागिता बढाउन सके यो समस्या घटाउन सकिने वनविज्ञ बताउँछन् । वन वरपरका सबै बस्तीमा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारणलाई आवश्यक तालिम दिएर सङ्गठित सामाजिक जिम्मेवारी दिए यसमा सुधार आउनसक्ने उनीहरुको भनाइरहेको छ ।
डिभिजन वन कार्यालयको अभिलेख अनुसार म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।
ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।
डिभिजन कार्यालय मातहतको रहेको ७९ हजार ४ सय ३९ हेक्टर वन मध्ये २४ हजार २ सय २ हेक्टर ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब ५ हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच