झुलेनीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । काठेखोला गाउँपालिका-४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । समुन्द्रि सतहदेखि दुई हजार ५५० मिटरको उचाइमा रहेको झुलेनी, देउराली क्षेत्रमा काठेलोखा गाउँपालिका र गण्डकी प्रदेशले संयुक्त रुपमा लगानी गरि संरचना निर्माण गर्न थालेका छन् । उच्च पहाडी हावापानी, शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज र यहाँबाट देखिने दर्जनौँ हिम श्रृङ्खालाले आगन्तुकलाई पर्खिरहे पनि आवश्यक पूर्वाधार नबन्दा झुलेनी क्षेत्रमा कमै पर्यटक पुग्छन् । यस अगाडि काठेखोला गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरि पिकनिक स्थल लगायतका संरचना निर्माण गरेको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनयोजन भएको पाँच लाख रुपैयाँले यहाँ पदमार्ग र पार्क निर्माण गरिने भएको छ । पर्यटनका हिसाबले निकै संभावना बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माण हुन नसक्दा अहिलेसम्म ओझेलमा रहेको झुलेनीलाई पर्यटक आकर्षण केन्द्रका रुपमा विकास गरिने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि अहिलेसम्म लगानी हुन नसक्दा पछाडि परेको भन्दै अब पर्यटकलाई झुलेनीसम्म पुर्‍याउनका लागि प्रचारप्रसार र संरचना निर्माण गरिने उहाँको भनाइ छ ।

अध्यक्ष थापाले भन्नुभयो - “काठेखोलामा थुप्रै पर्यटकी क्षेत्रहरु छन्, सबै गन्तव्यलाई व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि हामीहरु लागेका छौँ, पर्यटकलाई यहाँसम्म ल्याउन विभिन्न ठाउँबाट पदमार्गले जोड्ने, ठाउँ-ठाउँमा खाजा, खाना र बस्नका लागि होम-स्टे (घरबास) संचालन गर्ने र स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि योजना बनाएर काम गरि रहेका छौँ, यस वर्ष प्रदेश सरकारले पनि राम्रो सहयोग गरेको छ, पालिकाले पनि हरेक वर्ष बजेटको व्यवस्थान गरि रहेको छ ।”

झुलेनी क्षेत्र ‘क्याम्प फायर’, भवनभोज र पदयात्राका लागि उपयुक्त क्षेत्र रहेको अध्यक्ष थापाको भनाइ छ । उच्च पहाड भएको हुँदा यहाँबाट बागलुङको अधिकांक्ष ठाउँ, धौलागिरी, माछापुछ्रे, अन्नपूर्णलगायत पूर्वदेखि पश्चिमसम्म दर्जनौँ हिमलहरु आँखै अगाडि देख्न सकिने उहाँले बताउनुभयो । झुलेनीसँगै जोडिएको देउराली पनि निकै रमणिय रहेको भन्दै त्यस नजिकै ध्यान केन्द्रसमेत रहेको थापाले बताउनुहुन्छ । प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय बागलुङले यस वर्षदेखि यहाँ काम गर्ने भएको थापाको भनाइ छ ।

डिविजन वन कार्यालय बागलुङका प्रमुख शरण अधिकारीले यसभन्दा अगाडि पनि प्रदेशबाट विनियोजन भएको रकमले झुलेनी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि काम गरेको भन्दै यस वर्ष पनि नयाँ काम सुरु गर्ने बताउनुभयो । ओझेलमा रहेका पर्यटक क्षेत्रको उजागर गरि प्रचारप्रसारका साथै पूर्वाधार निर्माण गर्ने कार्यक्रम अन्तरगत झुलेनीमा यस वर्ष काम गर्न थालेको उहाँको भनाइ छ । यहाँको स्थलगत अनुगमन गरि सकेको भन्दै झुलेनी गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रमसख अधिकारीले बताउनुभयो ।

“फापरखेत-झुलेनी वनबाटिका भनेर बजेट विनियोजन भएको छ, स्थानीय र गाउँपालिकासँग सहकार्य गरेर काम गर्न थालेका छौँ, उपभोक्तामार्फत गर्ने तयारी छ, गाउँपालिकाले पार्क, पदमार्ग निर्माण गर्ने प्रस्ताव गरेको छ,” उहाँले भन्नुभयो - “छलफल गरेर कुन संरचना बनाउँदा उपयुक्त हुन्छ सोही अनुसार काम अगाडि बढाउँछौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?