डढेलोले पाइप जलेपछि खानेपानी र सिंचाइको समस्या

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । विगत डेढ महिनादेखि म्याग्दीका जंगलहरुमा लागेको डढेलोका कारण जिल्लाका मालिका, मंगला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका ३० बढी गाउँहरुमा खानेपानीको समस्या भएको छ ।

फागुन दोस्रो सातादेखि म्याग्दीका जंगलहरुमा निरन्तररुपमा डढेलो लागिरहेको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । बिहीवार (हिजो) सम्म म्याग्दीका एक सय १२ वनमा डढेलो लागेको र करिव एकहजार हेक्टर वन क्षेत्र जलेर नष्ट भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

बजारमाथिको सामुदायिक वनमा डढेलो लागेपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङ क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ । त्यसैगरी लामो खडेरी र डढेलोका कारण खेतीयोग्य जमिनमा सिंचाइको अभाव भएपछि खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेको किसानहरुले बताएका छन् ।

जिल्लाका मालिका,मंगला,बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका ३० भन्दा बढी ठाउँहरुमा डढेलोले मुहानबाट बस्तीसम्म पानी ल्याउने पाइपलाइन डढेपछि गाउँगाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।

खानेपानी, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले डढेलोका कारण जिल्लाभरि नै खानेपानी र सिंचाइ आयोजनाको पाइपलाइनमा ठूलो क्षति पुगेको बताउनुभयो ।

“मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँहरुबाट डढेलोले क्षति पुगेको पाइपलाइन मर्मतका लागि स्थानीयले पाइप माग गरेका छन् । जिल्लामा यस वर्ष डढेलोले खानेपानी र सिंचाइको पाइपमा ठूलो क्षति पुर्‍याएको छ ” ओझाले भन्नुभयो ।

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पनि डढेलोले खानेपानीको पाइप लाइन डढेपछि खानेपानी र सिंचाइको समस्या उत्पन्न भएको स्थानीय डिलबहादुर घिमिरेले बताउनुभयो । उहाँका अनुसार एक किलोमिटर भन्दा बढी क्षेत्रमा विछ्याइएको पाइप डढेलोका कारण खरानी भएपछि खानेपानी र सिंचाइको समस्या उत्पन्न भएको हो ।

सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप र बाहिर निकालेका पाइपमा क्षति पुगेको छ । पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौँ लागेर पानी बोकेर खाने बाध्यता सिर्जना भएको स्थानीय टेकबहादुर थापाले बताउनुभयो ।

वन डढेलोका कारण बर्सेनि स्थानीयले सास्ती भोग्नु परिरहेको छ । जथाभावीरूपमा जङ्गलमा आगो लगाउने कार्यले म्याग्दीमा हरेक वर्षजसो नै विभिन्न क्षति हुने गरेको छ ।

जिल्लामा डढेलो फैलिदै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले डढेलोका कारण क्षति भएका खानेपानी र सिंचाइ आयोजना पुनःनिर्माणका लागि बजेट व्यवस्थापनका लागि माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

डिभिजन वन कार्यालयको अभिलेख अनुसार जिल्लाको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफल मध्ये ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?