बागलुङ । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौं सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट १२ सय हेक्टर बढी क्षेत्रफलमा फैलिएको जंगल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला-ठूला काठ मुढा डढेर अँगार बनेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वनमात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो । कति चराचुरुंगी र वन्यजन्तुसमेत आगोमा परेर जले त्यसको लेखाजोखा छैन । आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।
ढोरपाटन शिकार आरक्षनजिक पर्ने निसीखोला गाउँपालिका-४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ । स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । पाँच दिनदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आएको छैन । आगोका कारण गाउँ झरेका वन्यजन्तले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरानी बनेका छन् । पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन् । त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो संख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन् ।
पहिले गाउँमा मानिसहरूको चहलपहल हुने हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरू वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका-८ का गुमानसिंह घर्ती मगरले बताउनुभयो । एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै डुल्ने गरेको उहाँको भनाइ छ । खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतंक नै मच्याउन थालेको घर्ती बताउनुहुन्छ । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उहाँले बताउनुभयो ।
‘पहिले घाँस दाउरा ल्याउन जंगलमा पुग्दा बाँदर भेटिन्थे, चार/पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरी आगो लागि रहेको छ, त्यही भएर होला वन बस्ने अन्य जनावर आएका छन्’, घर्तीले भन्नुभयो, ‘घर छोडेर एकैछिन कतै गए आउँदा सबै सामानहरू नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् ?, वनमा आगो लागेको छ ।’
स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाउनुभयो । बाँदर, घोरल र स्यालले भित्र्याउन बेलाको गहुँबाली नष्ट गरिदिएको उहाँको भनाइ छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि वन्यजन्तु ततरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताउनुभयो । फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा आगलागी भएको जानकारी दिनुभयो । दिनप्रति दिन जिल्लामा आगलागी बढ्दै गएको उहाँको भनाइ छ । आगो नियन्त्रणका लागि जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिरहेको केसी बताउनुहुन्छ । अझै एक दर्जन वनमा लागेको आगो नियन्त्रणबाहिर रहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच