बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पूर्वाधार निर्माण गरी गत वर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने तयारी भए पनि आन्तरिक व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा ल्याउन नसकिएको हो,’ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भन्नुभयो ।

पर्यटन मन्त्रालयको ५० लाख र तातोपानी कुण्ड व्यवस्थापन समितिको एक करोड गरी एक करोड पचास लाख रुपैयाँ लगानीमा पाँचतले भवन निर्माण गरिएको छ । उहाँका अनुसार भवन निर्माण गर्दा लागेको ६९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । विभिन्न चरणमा स्थानीय उपभोक्ता समितिमार्फत् भवन निर्माण गरिएको हो ।

कोरोना महामारीका कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनीस्थित एक सहकारीबाट ६९ लाख रुपैयाँ ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट नगरपालिकामार्फत् चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरिएको छ । योग, फिजियो थेरापी, हाइड्रोथेरापी, अकुपञ्चर र परामर्श कक्ष बनाइएको छ ।

चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरणहरू यत्तिकै थन्किएर बसेका छन् । यसैगरी प्रशासन र नगरपालिकासँग चिकित्सालय सञ्चालन सहमतिका लागि प्रक्रिया थालिएको उहाँको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई पहल गर्ने उहाँले बताउनुभयो ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो ।

चिकित्सालयमा हाइड्रोथेरापी (जलचिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपञ्चर, फिजियो थेरापी, परामर्शका माध्यमबाट औषधिको प्रयोगबिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिनेछ । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुने बिरामीहरूको अनुभव छ । यस स्थानमा वीरेनुन र गन्धन (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्ध आफैँमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

तातोपानी कुण्डमा पुरुष र महिलाहरूका लागि फरक-फरक समय तालिका बनाइएको छ । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरूको घुइँचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउँदै आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?