सेखुवा-चखेवाभञ्ज्याङ सडकको काम धमाधम

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । ठेक्का तोड्न सिफारिस भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडामा पर्ने सेखुवा-चखेवाभञ्ज्याङ (१०किलोमिटर) सडक कालोपत्रेको काम धमाधम सुरु भएको छ ।

सडकको काम अलपत्र पार्ने निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभीको ठेक्का तोड्न १८ मंसिरमा पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाले सडक विभागसमक्ष सिफारिस र बाँझेच्यानडाँडाका स्थानीयले १ पुसमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाको कार्यालयलाई ज्ञापनपत्र पठाउँदै चखेवाभञ्ज्याङ-सेखुवा कालोपत्रेको ठेक्का तोड्न माग गरेपछि निर्माण कम्पनी तातिएर कामलाई अघि बढाएका हुन् ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेपछि साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई र भारत–मैनाचुली–सिद्दिशाहीका प्रतिनिधि मदनकुमार अधिकारीबिच २२ पुसमा काम गर्ने आठ बुँदे प्रतिबद्धतासमेत भएको थियो । ठेक्का तोडिने डर र गाउँपालिकाको दबाबपछि काम थालेको निर्माण व्यवसायीले अहिले साइडमा कल्भर्ड बनाउने, ग्याभिङ वाल लगाउने, अन्य स्टक्चर बनाउने, डण्डी झार्ने, सबबेस लगायतको काम गरिरहेको छ ।

अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । केहीदिनभित्र मोबाइल क्रसर आइपुग्ने र त्यसपछि बेस उत्पादन गरिने साइड इञ्चार्ज विमल अधिकारीले बताउनुभयो । उहाँका अनुसार पर्याप्त जनशक्ति व्यवस्थापन गरिएको छ । आउने वैशाख अन्तिमसम्म सडकको सम्पूर्ण काम सकेर पुष्पलाल मध्यपहाडी राजमार्ग योजनालाई सडक हस्तान्तरण गरिने अधिकारीले ठोकुवा गर्नुभयो ।

अहिले ठेकेदारले कामको स्पिड बढाइरहेको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । कामलाई अझै द्रुत गतिमा बढाउन ठेकेदारले जनशक्ति र साधन थप्छु भन्नुभएको छ । हामीले पनि पटक–पटक जनशक्ति र साधन थप्न भनेका छाँै । जनशक्ति थप्नु पनि भएको छ । वडाध्यक्ष राईले भन्नुभयो, अहिलेको काम सन्तोषजनक नै छ ।

भारत–मैनाचुली–सिद्दिशाहीले करिब २६ करोडमा २०७५ फागुन ३० गते कालोपत्रे सक्नेगरी २०७२ चैत २ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजनासँग सम्झौता गरेको थियो । त्यसपछि २०७७ पुस १३ गते पहिलो, २०७८ असार १३ गते दोस्रो र २०७८ फागुन ३० गते तेस्रो थप म्याद सकिएको थियो । बाह्रौँ सार्वजनिक खरिद नियमावलीअनुसार २०८० असार मसान्तसम्म सडक कालोपत्रे गर्नुपर्ने निर्माण व्यवसायीसँग समय छ ।

खोटाङ र भोजपुर जोड्ने लाइफलाइन सडकअन्तर्गत दिक्तेलबाट चखेवासम्म यसअघि नै कालोपत्रे भइसकेको छ । त्यहाँबाट चखेवाभञ्ज्याङसम्म सडक कालोपत्रे नहुँदा बर्खामा यातायात सेवा बन्द हुँदै आएको छ । असक्त, बिरामीलाई बाहिर जानलाई सडककै कारण सबैभन्दा समस्या हुने गर्छ । बिरामीलाई बाहिर लैजानका लागि बर्खामा गाडी हिलोमा फसेपछि मान्छे बोलाएर धकेलेर, तानेर गाडी निकाल्नुपर्ने बाध्यता रहेको बाँझेच्यानडाँडाका स्थानीय मीनाकुमारी राईले बताउनुभयो ।
क्याप्सन ः सेखुवा–चखेवाभञ्ज्याङ सडकको काम गर्दै कामदार ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?