कलियुग र आजको परिवेश

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला

संसारले युगसँगै परिवर्तनका पाना पाल्टाइरहन्छ । बदलिँदो परिस्थितिसँगै हिँड्नु पनि आजको आवश्यकता बनेको छ । युग सधैँ एउटै रहँदैन । समयका चक्रसँगै परिवर्तन भइरहने युगलाई जित्ने सामथ्र्य मान्छेमा छैन । किनकि समय अनन्त छ भने मान्छे निश्चित आयुसम्म मात्र अस्तित्वमा रहन्छ । यसैले समयको गतिसँगै प्रवाहित हुनु मानवीय नियति बनेको छ । अजको युग कलिकालको हो । यसैले त हामी सङ्कल्पमा पनि ‘..कलियुगे..’ भनेर उच्चारण गर्दछौँ । हरेक युगका युगीन धर्म हुन्छन् । जसको विशद् विवेचना पुराणले गरेका छन् । सत्य, त्रेता, द्वापर र कलि चारै युगको महिमा शास्त्रमा वर्णन पाइन्छ । शतत धर्मले व्याप्त युग सत्य हो । जहाँ कुनै अधर्मको अंश हुँदैन ।
त्रेतामा एक अंश धर्म घटेको पाइन्छ । श्रीराम र रावणको युद्ध यही कालमा भएको थियो । द्वापरमा धर्म र अधर्म बराबर भए । जुनबेला महाभारतजस्तो भयङ्कर युद्ध भयो । कलियुगमा धर्म एक पाउमात्र अर्थात् २५ प्रतिशत मात्र रहन्छ भनिएको छ : ‘सत्ये तत्र धर्मश्चतुष्पदो हृयधर्मः पादविग्रहः । त्रेतायां द्वाभ्यामधर्मः पादाभ्यां त्रिभिर्धर्मो व्यवस्थितः । द्वापरे द्वाभ्यां धर्मःस्थितः पद्भ्यामधर्मस्त्रिभिरुत्थितः । कलौ तत्राधर्मश्चतुष्पदः स्याद्र्धर्म पादविग्रहः ।।’ (हरिवंशपुराण) सत्य युग देवताको हो । जुन समयमा अधर्म थिएन । सर्वत्र धर्मकै चर्चा परिचर्चा हुने गर्दथ्यो । अशान्तिका वादल कतै पनि देखिँदैन थिए सर्वत्र शान्त सुरम्य संसार थियो ।

वर्तमानको समय कलिको हो । कलि कालमा सदाचार, योगधर्म र तप सबै हराएर जान्छन् । मान्छेको प्रवृत्ति दुष्कर्मतर्फ बढी हुन्छ । कलिकालमा सत्पुरुष सधैँ दुःखी हुन्छन् भने असत् अर्थात् दुष्टजन सधैँ सुखी रहन्छन् । जो अल्पज्ञानी छ त्यो नै पण्डित कहलिन्छ ।

सत्य युगपछि त्रेता युग लाग्यो । त्रेता भगवान रामचन्द्र अवतारको युग हो । जुन बेला धर्मका तीन पाउमात्र थिए । अर्थात् भनौ ७५ प्रतिशत धर्म विद्यमान थियो । अधर्मभन्दा पनि धर्मले जितेका कारण खासै अशान्ति थिएन । भगवान रामचन्द्रले सीता वियोगको पीडा खेप्नुपर्ने कारण पनि युगजन्य परिस्थितिको पीडा नै हो । अधर्मको प्रवृत्ति बढेको उदाहरण नै रावण हो । अधर्म एवं असत्यको अंकुरण यसै समयबाट भएको पाइन्छ । अधर्मसँगै प्रकृतिमा विकृतिका बादल लाग्न थालेका हुन् । क्रमशः मानवीय मूल्य र मान्यतामा कमी हुन थाल्यो । धर्म अर्थात् आफ्नो कर्तव्यबाट मान्छे विमुख हुनथाले ।

त्रेतापश्चात् द्वापरयुग आएकोे हो । द्वापर श्रीकृष्ण अवतार भएको समय हो । यही कालखण्डमा महाभारतको युद्ध छेडियो । यो समयमा धर्म र अधर्म बराबर भए । अर्थात् धर्म पचास प्रतिशत थियो भने अधर्म पनि सोही हाराहारीमा रहृयो । भगवान् श्रीकृष्णको परलोकधाम गमनपश्चात् कलियुगको आरम्भ भएको हो । कलियुगमा धर्म एक पाउ र अधर्म तीन पाउ रहने कुरा पुराणमा वर्णन पाइन्छ । चार लाख बत्तीसहजार वर्ष कलियुगको समयावधि बताइएको छ । (सिद्धान्तशिरोमणि, कालमानाध्याय, श्लो.२१) यो समयमा अधर्मको आधिक्य र धर्मको न्यूनता रहन्छ भन्ने पुराणको प्रक्षेपण पूरा भइरहेको पाइन्छ ।

राजा परीक्षितले कलिलाई दमन गर्न खोज्दा कलिले निवास गर्ने स्थान माग गरेपछि जुवा, मदिरा, स्त्री र हिंसामा निवासको स्थान दिइयो । यिनमा क्रमशः असत्य, मद, आशक्ति र निर्दयरूपी अधर्म रहे । ‘द्यूतं पानं स्त्रियः सूना यत्राधर्मश्चतुर्विधः’ (श्रीमद्भागवतमहापुराण, १।१७।२८) । सबै नराम्रा स्थानमा मात्र निवास भएकाले एउटा राम्रो वस्तुमा पनि बस्न पाऊँ भन्ने कलिको आग्रहपश्चात् सुनमा निवास गर्न छुट दिएको कथा श्रीमद्भागवत अन्तर्गत प्रथमस्कन्धको सत्र अध्यायमा वर्णन गरिएको छ ।

वर्तमानको समय कलिको हो । कलि कालमा सदाचार, योगधर्म र तप सबै हराएर जान्छन् । मान्छेको प्रवृत्ति दुष्कर्मतर्फ बढी हुन्छ । कलिकालमा सत्पुरुष सधैँ दुःखी हुन्छन् भने असत् अर्थात् दुष्टजन सधैँ सुखी रहन्छन् । जो अल्पज्ञानी छ त्यो नै पण्डित कहलिन्छ । माङ्गलिकभन्दा पनि अमाङ्गलिक कार्यले निरन्तर प्रश्रय पाइरहन्छन् श्रीमद्भागवत् (श्रीमद्भागवतमाहात्म्य, १।३१-३५) अझ भनौँ राजा परीक्षित पनि कलिकै पासोमा परेर समिक ऋषिलाई अपमान गर्न पुग्छन् । सोहीकारण उनलाई सात दिनमा तक्षक नागले डसेर मर्ने श्राप लाग्छ र उनी वैराग्यको बाटो समातेर ज्ञान यज्ञद्वारा परलोकको मार्गमा यात्रारत हुन पुग्दछन् ।

सृष्टिको आरम्भदेखि हालसम्म १९५५८८५१२२ वर्ष (विसं.२०७८) वितिसकेका छन् । सृष्टि आरम्भपश्चात नै युगधर्मको सुरुवात पनि भएको हो । कलियुगका त अहिले भर्खर ५११२२ (वि.सं.२०७८) वर्षमात्र बितेका छन् । अझ भनौँ कलि युगको यो प्रथम चरण हो । कलिकालको पहिलो चरणमै त यस्तो जर्जर अवस्था छ भने अझै चार लाख अधिक वर्ष व्यतीत हुन बाँकी नै छन् । त्यसैगरी कलिको अन्त्यकालमा प्रलय हुने कुरा पनि पुराणमा बताइएको छ । आजको जस्तै प्रकृतिको दोहन भइरहने हो भने प्रलय हुन सक्ने अनुमान स्वतः लगाउन सकिन्छ ।

आजको युगले विधाभञ्जन र विनिर्माणलाई स्वीकारेको छ । हरेकका कलमी प्रवृत्ति हावी छ । उत्तरआधुनिक युगको आरम्भ विन्दु सन् १९६० लाई माने पनि कलियुगको आरम्भ आजभदा पाँच हजार वर्ष पहिलेबाट नै भएको हो । कलियुगमा मान्छे वेदरहित हुन्छन्, धर्मकर्म छोड्छन्, सानो सोच हुने मान्छेको प्रवृत्ति रहन्छ भनेर वायुपुराणमा यसरी कलियुगको प्रक्षेपण गरिएको छ : ‘प्रनष्टश्रुतिधर्माश्च नष्टधर्माश्रमस्तथा । ह्रस्वा अल्पायुषश्चैव भविष्यन्ति वनौकसः ।।’ (वायुपुराण, पूर्वखण्ड, ९८।१२३) अर्थात् कलियुगका व्यक्तिको आयु क्षीण हुन्छ । अधर्मको मार्गमा लागेर मान्छेले आफ्नो सुखलाई गुमाउँछन् ।

आजको उत्तरआधुनिक परिवेश पनि उही दुःखकै दुन्दुभि जस्तै भएको छ । ‘रोई विज्ञान मर्दछ’ भनेझैँ आजको कथित विज्ञानले केवल दुःखमात्र दिएको छ । परमाणु वम बनाएर विश्वध्वस्त पार्न आजको विज्ञान लागिपरिरहेको छ । व्यवहारमा पनि भौतिक वस्तु केवल दुःखका मात्र कारण भएका छन् । पैसाले ओछ्यान मिले पनि निद्रा नमिलेजस्तै आजको युगले पैसा दिएर निद्रा खोसेको छ । किनकि यो युगीन धर्म हो । कलिको प्रभाव हो ।

आजको समयमा हरेक कुरा उल्टिएका छन् । जसरी जुवामा कलिलाई निवास दिइएको थियो त्यसैगरी आज क्यसिनो मौलाएका छन् । आज विश्व बजारमा सर्वाधिक बिक्री हुने वस्तु नै मदिरा भएको छ । मदिरा पिउने व्यक्तिकै बोलबाला हुने कलियुगीय धर्म भएकाले आज मदिराका दिन सप्रिएका हुन् । हिंसा आज विश्वको समस्या र चुनौतीको विषय बनेको छ । दिनहुँजसो युद्धका समाचार प्राथमिकतामा परिरहेका हुन्छन् । आज हरेक ठाँउमा मान्छे हिंसाका शिकारी र शिकार दुवै भइरहेका छन् । यो सबै हुनुको कारण धर्मको क्षयीकरण हो । सत्यको नाश र प्रकृतिको दोहन हो । कलियुगको युगीन कालको प्रवृत्ति हो । यो समयले प्रवाह गरेको एक विकार हो ।

आजको हाइब्रिड पद्धति यही कलियुगको उपज हो । जसलाई विनिर्माणले पनि सम्बोधन गरिन्छ । जसले जीवनलाई नष्ट गरिरहेको छ । किनकि फलेको फल रोप्दा पुनः फल्दैन । बिउबाट बिउ बन्ने प्राकृतिक पद्धतिलाई नै नष्ट गरिएको छ ।

आजको हाइब्रिड पद्धति यही कलियुगको उपज हो । जसलाई विनिर्माणले पनि सम्बोधन गरिन्छ । जसले जीवनलाई नष्ट गरिरहेको छ । किनकि फलेको फल रोप्दा पुनः फल्दैन । बिउबाट बिउ बन्ने प्राकृतिक पद्धतिलाई नै नष्ट गरिएको छ । विज्ञानका नाममा विकृतिका बादलले ढाक्ने प्रमुख कारण नै प्रकृतिको दोहन भएको छ । विकासे कलमी पद्धतिले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि, सामज, व्यवहार आदि हरेक क्षेत्र कलिको कलंकबाट अछुत छैन ।

आजका मान्छेमा हरेक कुराको मद छ । धन, ऐश्वर्य, विद्या, बुद्धि आदि । थोरै काम गरेर धैरै प्रचार गर्ने विज्ञापनको प्रवृत्ति पनि यही मदको पराकाष्ठा हो । अकवरी सुनलाई कसी लाउनु पर्दैन भने भैmँ सूर्यको प्रकाश कहाँ लुकेर बस्न सक्छ र ? यसैगरी आशक्ति अर्को मानवीय कलि युगीन प्रवृत्ति बनेको छ । हर जीवात्मामा आशक्तिको मात्रा अत्यधिक छ । कर्म नगरी फलको आशक्ति हुने आजको आम प्रवृत्ति हो । दया पनि निरन्तर क्षीण बन्दै गएको छ । मान्छेमा हिंसात्मक प्रवृत्तिले गर्दा निर्दयीपन मौलाएको हो ।

यही नै आजको वैज्ञानिक उपलब्धि भएको छ । जति हामी सत्यको मार्गमा लाग्न सक्दैनौँ प्रकृतिका पुजारी बन्न सक्दैनौँ त्यति नै चाँडो विनाश सुनिश्चित देखिन्छ । यसैले विनिर्माण र विधाभञ्जनभन्दा विधाको संरक्षणले दीर्घकालीन लाभ दिन्छ । ‘लोकल’ को खोजले केही आशा दिलाए पनि अधर्मको आँधीले अझै कलमी पद्धतिलाई रोक्नसक्ने देखिँदैन । जति प्राकृतिक बन्न सक्छौँ त्यति नै जीवन र जगत्को कल्याण रहन्छ । यसैले युगधर्मलाई बुझेर सत्यको मार्गमा लाग्न सकियो भनेमात्र सर्वकल्यण सम्भव रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?