पुस्तक : पाठकलाई कथा-कोसेली

रत्न प्रजापति
Read Time = 12 mins

रेणुका जिसी पेशाले शिक्षिका हुन् । उनको रुचि साहित्यमा छ । साहित्य सिर्जनामा आफ्नो कोसिस जारी राखेकी छिन् । कथाहरू लेखिइरहेकी छिन् । मूलधारका साहित्यिक तथा दैनिक पत्रपत्रिकामा त्यति छाइनसकेकी कथाकार जिसीका कथाहरू केही अनलाइन मिडियामार्फत् सार्वजनिक हुँदै आएका छन् । बाह्रखरी कथा प्रतियोगितामा तृतीय पुरस्कारबाट पुरस्कृत पनि भइसकेकी छिन् । नेपाली साहित्यमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नरत् जिसीका कथाहरूको सँगालो ‘सनेस’ हालै बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको ‘सनेस’भित्र एक दर्जन कथा सङ्गृहीत छन् ।

मोफसलमा बसेर साहित्य सिर्जनारत् जिसी आफ्नो पहिचान र हैसियत निर्माणको क्रममा छिन् । यस कार्यमा उनको पहिलो कथासङ्ग्रह ‘सनेस’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसो त एउटा किताब प्रकाशित नभएसम्म लेखक भनेर कसैले नचिन्ने अहिलेको स्थितिमा त्यही परिचयका लागि पनि ‘सनेस’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र जिसीलाई अब उप्रान्त कथाकारको परिचय दिनेछ ।

कथाकार जिसीको ‘सनेस’ कथासङ्ग्रहभित्रका कथाहरू पढ्दै गर्दा उनको कथाकारिता आधुनिक नभई गुरुप्रसाद मैनालीकालीन अथवा परम्परावादी लाग्छ । नितान्त पुरातनवादी सामाजिक परम्परामा आधारित विषय र उस्तै कथानक बोकेका उनका कथाहरूमा आधुनिकता र नवीन शैलीको अभाव महसुस हुन्छ । यद्यपि साइवर संसार र साइवर प्रेमका रोचक र घोचक प्रसङ्गहरू भने उनका केही कथामा भेट्न सकिन्छ । यसबाट कथाकार जिसी विस्तारै कथालेखनमा आधुनिकतातिर ढल्किन खोजेको आभास पनि हुन्छ ।

‘सनेस’ कथासङ्ग्रहभित्रका प्रायःजसो कथाको समान विशेषता के हो भने हरेक कथाको अन्त्य सशक्त र मर्मस्पर्शीरूपमा भएको छ । कथाको सार र मर्म दुवै कथाको अन्त्यसँगै खुल्छन् । कथामा आञ्चलिकता स्पष्ट छ । अनि कथाको अन्त्यमा गतिला सन्देश पनि छन् ।

‘सनेस’भित्र पहाड र तराई दुवै पृष्ठभूमिका सामाजिक यथार्थका कथाहरू छन् । पहाडमा जन्मेर तराईलाई कर्मथलो बनाएर बसेकी कथाकार जिसी आफूले टेकेको भूमि र आफूले भोगेको भोगाइलाई कथामा उतार्न खप्पिस देखिन्छिन् । कथावस्तुअनुसार भाषाको प्रयोगमा समेत स्थानीयता झल्काउन सक्नु उनको कथाकारिताको विशेषताको रूपमा देखिएको छ । कथामा स्थानीय भाषा, वेशभूषा, धर्म र संस्कृतिका विविध पाटाहरूको झलक पाइन्छ । कथाकार जिसीले आफ्नो नाभि गाडिएको पर्वत जिल्लासितको साइनो र सम्झनालाई पुनःताजगी गर्ने प्रयत्नदेखि कर्मथलो मधेसको जनजीवनका विविध पाटाहरू मिहिन ढङ्गले केलाउने प्रयत्न पनि गरेकी छिन् । केही कथामा मधेस र पहाड एकैसाथ पनि आएका छन् । दुई फरक भूगोलसितको उनको सम्बन्ध र संवेदनालाई जोड्ने सेतु भएको छ उनको कथासङ्ग्रह ‘सनेस’ ।

जिसीका कथामा यथार्थका वर्णन धेरै छन् । जीवन भोगाइका अभिव्यक्ति धेरै छन् तर चिन्तन र कल्पनाशीलताको भने अभाव देखिन्छ । यथार्थ र जीवन भोगाइको सपाट अभिव्यक्तिमात्रै होइन साहित्यमा चिन्तन र कल्पनाशीलता पनि चाहिन्छ । विचार, चिन्तन र कल्पनाशीलताले साहित्यको गुणवत्ता वृद्धि हुन्छ भन्ने मान्यता छ । सर्जकले यो मान्यतालाई आत्मसात् गर्नु उचित मानिन्छ । अन्यथा आफ्नै सिर्जनालाई पनि आफैँले न्याय गर्न नसकेको देखिन्छ । हृदयमा तरङ्ग उत्पन्न गराउने र मस्तिष्कलाई सन्न पार्न सक्ने सिर्जनालाई नै धेरै पाठकले रुचाउने हुँदा पाठकको मनमा आफ्नो स्थान सुरक्षित गर्नका लागि पनि अब सिर्जना शक्तिशाली हुनुपर्ने आवश्यकता छ । किन लेख्ने र कसका लागि लेख्ने भन्ने विषयमा लेखक स्वयं सचेत हुनुपर्ने बेला छ ।

जिसीका अधिकांश कथामा वास्तविकझै लाग्ने पात्रहरू छन् । पात्रका विविध चरित्र छन् र विविध प्रवृत्ति छन् । यद्यपि उनका कथामा नारी पात्रको बहुलता हुँदाहुँदै पनि कथानकले मागेअनुसार पुरुष चरित्र र पुरुष प्रवृत्तिको बढी चित्रण र विश्लेषण भएको पाइन्छ । उनका धेरै कथामा पुरुष चरित्र र प्रवृत्ति उदाङ्गिएको महसुस गर्न सकिन्छ । यसो त उनका हरेक कथामा पुरुष चरित्र र प्रवृत्तिबाट प्रताडित नारीको पीडा र व्यथा व्यक्त भएका हुन्छन् र त्यसमा परिवर्तनको आवश्यकतालाई सन्देशको रूपमा प्रस्तुत गरिएका हुन्छन् । साहित्यमा यस्तो सन्देशको आवश्यकता पनि छ । किनभने साहित्य आनन्द र मनोरञ्जनका लागि मात्रै होइन, सामाजिक रूपान्तरणका लागि पनि हो ।
‘सनेस’ कथासङ्ग्रहभित्र ‘प्रश्न’, ‘सलमा म्याडम’, ‘अस्वीकार’, ‘अनुहार’, ‘अवाक’, ‘सनेस’, ‘प्रेमरङ’, ‘मौन’, ‘तलाउ’, ‘अग्निपरीक्षा’, ‘औँला’ र ‘मुुडुली’ गरी १२ वटा कथा छन् । सङ्ग्रहको अन्तिम कथा ‘मुडुली’ ले बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिसहोम १२ खरी कथा लेखन प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको थियो ।

अनौठा संयोगहरूले भरिएको कथा ‘तलाउ’ सङ्ग्रहकै एउटा उत्कृष्ट कथा हो । कथाकी नायिकाको जीवनमा एकपटक एउटा शिक्षक आउँछन् र उसको मनको तलाउमा मिठो तरङ्ग उठाउँछन् । अचानक उनले बाटो मोड्छन् । कथा-नायिकाको सपना अधुरो हुन्छ । फेरि एउटा विद्यार्थी आएर उसैगरी उसको मनको तलाउमा हलचल मच्चाइदिन्छ । अनेकौं मीठा तरङ्ग उठाइदिन्छ । तर, त्यो विद्यार्थी तिनै शिक्षकको छोरा हो भन्ने थाहा पाएपछि कथा-नायिकाको मनको शान्त तलाउमा असङ्ख्य अराजक लहरहरू उठ्छन् । कथान्त्य अत्यन्त रोचक छ ।

‘सनेस’ यो कथासङ्ग्रहको शीर्षकथा हो । यो कथा यौनका झिल्काहरूले भरिएको छ । मूलतः यसमा सन्तोषी र नन्दनी दुवै नारी पात्रका दुःखका कथा छन् । आमा हुन सक्नु र नसक्नुको मिठो र नमिठो कथा, अनि तृप्ति र अतृप्तिको कथा पनि छ । निचोडमा यो दुई पीडित नारीको कथा हो तर सनेसले चाहिँ अर्कै कुराको सङ्केत गरेको छ । लोग्नेले रोज्ने विवाहेत्तर सम्बन्धको बाटो र त्यसैका कारण स्वास्नीले भोग्नुपर्ने सामाजिक र मानसिक यातना पनि यो कथामा छ । कथाको शीर्षक र कथानकबीच तादात्म्य नहुँदा चाहिँ कथा नै कस्तो-कस्तो भएजस्तो लाग्छ । सनेसको अर्थ कोसेली रहेछ । कोसेली राख्ने झोलालाई मुझैला भनिँदो रहेछ । विशेषगरी माघे सङ्क्रान्तिमा आफन्तलाई सनेस पठाउने मिथिलाको पुरानै चलन हो ।

‘अग्निपरीक्षा’ एउटा उल्लेख्य पारिवारिक-सामाजिक कथा हो भने पुरुष चरित्र र प्रवृत्ति अनि आमा बन्न लालायित नारीको मनोदशा केलाइएको प्रतीकात्मक कथा ‘औँला’ पनि उल्लेख्य कथा नै हो । नारीका प्रेम, दुःख, पीडा र वेदनालाई केलाइएका अन्य कथाहरू पनि उत्तिकै मार्मिक र हृदयस्पर्शी छन् ।

‘सनेस’ कथासङ्ग्रहभित्रका प्रायजसो कथाको समान विशेषता के हो भने हरेक कथाको अन्त्य सशक्त र मर्मस्पर्शीरूपमा भएको छ । कथाको सार र मर्म दुवै कथाको अन्त्यसँगै खुल्छन् । कथामा आञ्चलिकता स्पष्ट छ । अनि कथाको अन्त्यमा गतिला सन्देश पनि छन् । कथाहरू पाठकको मनमा उत्सुकता जगाउन सफल छन् । स्वाभाविकरूपमा कथामा नारी पात्र र चरित्र बढी छन्, तर पुरुष चरित्र र पुरुष प्रवृत्तिको बढी चर्चा छ र त्यसप्रति विद्रोह र परिवर्तनका चाहना छन् ।

धेरैजसो कथा पूर्वदीप्ति शैलीमा लेखिएका र वर्णनात्मक छन् । कथामा धेरै कुराको व्याख्या नगरेको भए हुन्थ्यो । केही कुरा पाठकको जिम्मामा छोडिदिनुपथ्र्यो । अनेक सन्दर्भहरू जोडेर कथानकलाई तन्काउँदा र धेरै व्याख्या गर्दा केही कथा जेरीजस्ता बन्न पुगेका छन्, धेरै कुरा जेलिएका, तर गुलियो र रसिलोचाहिँ बन्न नसकेका । कथाहरूमा संवेदना पक्षचाहिँ प्रबल छ । ठाउँ-ठाउँमा र छिनछिनमा पाठकलाई संवेदित बनाउने प्रसङ्गहरू आइरहन्छन् । रैखिक ढाँचामा लेखिएका कथाहरू सरल छन् र सहज प्रवाहका छन् । कथाकार रेणुका जिसीको यो कथा–कोसेलीलाई पाठकले सहर्ष स्वीकार्ने छन् भन्नेमा सन्देह छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?