माओवादीको भविष्य उज्ज्वल छ, अर्को निर्वाचनबाट शक्तिशाली भएर आउँछौँ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रमशः एकता र रूपान्तरणमा गएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डले सरकारको नेतृत्व आफूले पाएको भए पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाको तयारी भएको पनि जानकारी दिनुभयो । ‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि चुनौतीपूर्ण छ । यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ,’ प्रचण्डले भन्नुभयो । एकता सम्भव भएका पार्टीसँग एकता र बाँकी दलसँग मोर्चा बनाएर अघि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो ।

२०६४ को चुनावमा सबैभन्दा ठूलो दल बनेको माओवादी त्यसपछिका टुटफुट र विभाजनले लगातार ओरालो लागेको भए पनि प्रचण्डले भविष्य राम्रो रहेको बताउनुभयो । अर्को निर्वाचनका बेलामा सबैभन्दा शक्तिशाली माओवादी नै हुने प्रचण्डको दाबी थियो । ‘अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ । देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट स्थापित हुन्छ ।

त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु’, प्रचण्डले भन्नुभयो । माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व भएको प्रचण्डको भनाइ थियो । माओवादीले मात्रै सबैलाई मिलाएर लैजान सक्छ भन्ने सन्देश प्रवाह भएको उहाँको टिप्पणी थियो । पुस २६ गते प्रतिनिधिसभाबाट प्राप्त विश्वासको मतले माओवादी आन्दोलनलाई न्याय भएको प्रचण्डको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?