काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ गठबन्धनभित्रै बेमेल छ । पूर्व-सहमतिअनुसार निःसर्त राष्ट्रपति आफूहरूले पाउनुपर्ने नेकपा (एमाले)को अडान छ । तर, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले भने राष्ट्रपति राष्ट्रिय सहमति खोजिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसलाई पनि साथ लिएर गुन तिर्ने माओवादीको मनसाय छ । माओवादीको मनसायले हर्षित कांग्रेस राष्ट्रपति पाउनेमा विश्वस्त छ । कांग्रेस नेताहरूले एक स्वरमा आफ्नो पार्टीको राष्ट्रपति हुने जिकिर गरिरहेका छन् । जबकि वर्तमान सत्ता गठबन्धन ‘तलमाथि’ नहुँदासम्म कांग्रेसको राष्ट्रपति हुने सम्भावना छैन ।
‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिएर ढोक्सा थापेको कांग्रेस’ले राष्ट्रपति निर्वाचनमा माछा पार्छ कि भन्ने एमालेजनको चिन्ता छ । यसकारण राष्ट्रपति निर्वाचनमा ‘माओवादीको निर्णायक निर्णय नआउँदै’ एमाले नेताहरू कांग्रेसमाथि खनिन थालेका छन् । यद्यपि, माओवादले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय भने गरिससकेको छ । कांग्रेस हौसिएको देखेर एमाले हच्किएको मात्रै छैन माओवादीसित सशंकितसमेत छ । एमाले नेताहरूले माओवादीमाथिको आशंका कांग्रेसमाथि पोखिरहेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै गठबन्धनमा अविश्वासको वातावरण बनाउन सफल कांग्रेसले सुदूरपश्चिमबाट सत्तारोहणसमेत सुरु गरिसकेको छ । अब विस्तारै सत्तामा फर्किने विश्वास कांग्रेसको छ । सुदूरपश्चिममा कांग्रेससँगै सत्तारोहण गरेको नेकपा (एकीकृत समाजवादी) पनि राष्ट्रपति निर्वाचनपछि सत्ता राजनीतिमा फेरबदल आउने आशामा छ ।
राष्ट्रपति निर्वाचनमा को-को ‘सेन्टिफ्ल्याट’ खाने हो थाहा छैन : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेका नेताहरूलाई लक्षित गर्दै राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको टिप्पणी गर्नुभयो । अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउने उहाँको भनाइ छ । ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । उनीहरूलाई दंग पारिएको छ,’ नेपालले भन्नुभयो, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ । को को सेन्टिफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हो ।’ अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गर्नुभयो ।
स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न सक्दैन : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताउनुभएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने बताउनुभयो । ‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्,’ उहाँले भन्नुभयो । संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमति कायम हुनसक्ने उहाँको भनाइ छ । राष्ट्रपति पदमा आफ्नो पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको उहाँले बताउनुभयो । कही समयअघि स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने चर्चा चलेको थियो ।
कांग्रेस चाँडै सत्तामा जान्छ : महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले कांग्रेसलाई सत्ताबाहिर राखेकै कारणले देशको राजनीति अन्योलपूर्ण भएको जिकिर गर्नुभयो । ‘सबैभन्दा ठूलो पार्टी भएर पनि कांग्रेस अहिले सरकारमा छैन,’ उहाँले भन्नुभयो, ‘देशको विकास गर्ने पार्टी कांग्रेस हो । हामी ढिलोचाँडो फेरि सत्तामा आउँछौँ ।’
देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउने सम्भावना छ : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम नरहने दाबी गर्नुभएको छ । शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अहिलेको गठबन्धन दिगो रूपमा जान नसक्ने तर्क गर्नुभयो । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उहाँको आशय थियो । सुदूरपश्चिम प्रदेश सरकार ढले जस्तै अरू ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको उहाँको दाबी छ ।
एमालेलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलायो : गुरुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाउनुभएको छ । एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाउनुभयो । सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि ढडिया थापेको उहाँको आरोप छ । कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन ? भन्ने आशंका पैदा भएको उहाँले बताउनुभयो । वामपन्थी गठबन्धनलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ ।
जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यसैको आधारमा एमालेको राष्ट्रपति बन्छ : भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति चुनावमा माओवादी पछि हट्न नमिल्ने बताउनुभएको छ । शनिबार एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले पुस १० को सहमति राष्ट्रपति पदमा मात्र खण्डित हुन नसक्ने बताउनुभयो । ‘जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यही जगमा एमालेको उम्मेदवार राष्ट्रपति बन्छ,’ उहाँले भन्नुभयो, ‘त्यही जगमा प्रदेश सरकारहरू बनेका छन् । अन्यत्र सबै ठाउँमा हुने, राष्ट्रपतिमा नहुने के छ ? माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ? नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन ।’ भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्नुभयो ।
षड्यन्त्रलाई निस्तेज पार्दै एमालेकै उम्मेदवार राष्ट्रपति हुन्छ : पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनलाई लिएर एमाले विरुद्धको षड्यन्त्रलाई निस्तेज पार्ने दाबी गर्नुभएको छ । शनिबार जनकपुरधाममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मधेश प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले राष्ट्रवादी निर्वाचनलाई लिएर चलिरहेको षड्यन्त्रलाई निस्तेज पार्ने बताउनुभयो । ‘एमालेविरुद्ध अहिले मोर्चाबन्दी बनिरहेको छ, तर ती सबै बाधा अड्चनलाई पार गर्दै एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन्छ,’ उहाँले भन्नुभयो, ‘सभामुखमा जित भएको छ, राष्ट्रपति चुनावमा समेत एमाले विरुद्वको मोर्चाबन्दीलाई पनि विफल पार्नेछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच