फागुन पाँच गते उद्योगी व्यवसायीहरुले बैंकविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने

Read Time = 6 mins

काठमाडौं । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताउनु भयो । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् ।

सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताउनु भयो । समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ । संयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो कोभिड महामारीलगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाउनु भयो ।

उहाँले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताउनु भयो । उहाँले फागुन ५ गते वृहत र्‍यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उत्रने बताउनु भयो । उहाँल सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह पनि गर्नुभयो ।

फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने उहाँकाे भनाई छ । उहाँले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने बताउनु भयो । त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने उहाँले चेतावनी दिनुभयो । उहाँले सरकारलाई चाबी बुझाएरपछि विदेश काम गर्न जान भिसा माग्ने बताउनु भयो । उहाँले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ फागुन ५ गतेपछि पनि व्यवसायीहरुका मागहरु सुनुवाईहरु भएनन् भने थप आन्दोलन गर्छौं । जसमा फागुन पाँच गतेपछि सबै व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गर्छौं । उद्योग र व्यवसायमा भएका सम्पूर्ण तालाचाबी नेपाल सरकारलाई बुझाउँछौं । त्यसपछि हामी फुकुवा हुन्छौं र सरकारलाई राहदानी दिनुपर्छ । हामीलाई विदेशमा कामदारको रुपमा जानको लागि भिसा मिलाइए दिए हुन्छ । नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था बनेन । बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था रहेको छ ।’

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ । भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?