राजनीति संगै रहर लाग्दो कृषि कर्ममा सुदिप

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका खोटाङ जिल्ला सेक्रेटरी चक्र बहादुर खत्री(सुदिप सी)ले रहर लाग्दो कृषि कर्म गरिरहनु भएको । ३३ वर्षीय खत्रीले आफ्नै निवास हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा भुम्जुमा घर वरीपरी बगानकै रुपमा ६ वर्षदेखि कृषि कर्म गरिरहनु भएको हो ।

खत्रीले २०७४ सालमा रोपेको २५० बोट कागतीबाट गत मंसिरमा पहिलो कमाई एक लाख गर्नुभएको छ । अहिले दोश्रो लटलाई कागती फलिरहेको छ । कागती हलेसीबजार, जयरामघाट, हिलेपानी र काठमाण्डौसम्म पुग्ने गरेको छ ।

कागतीसँगै किवी खेती सुरु गरेका खत्रीले गत कात्तिकमा २०० बोटको किवी विक्री गरेर एक लाख कमाउनुभयो । अहिले बगानमा किवी लटरम्म फलिरहेको छ । किवी हलेसीबजारमा विक्री हुने गरेको छ ।

कागती, किवीभन्दा अघि २०७१ सालमा सोलखुम्बुबाट ३० बोट स्याउ ल्याएर रोपेका खत्रीले पानी अभावले स्याउबाट भनेजस्तो उत्पादन लिन सक्नुभएन । 'ट्याङकरबाट पानी बोकेर हाल्दै गएपछि २०७४ सालतिरबाट कम मात्रामा स्याउ फल्न थाल्यो । स्याउबाट सिजनमा २५/३० हजार मात्रै कमाई गर्छु । हलेसीबजार र जयरामघाटमा स्याउ विक्री गर्छु'- उहाँले भन्नुभयो ।

खत्रीले कागती, किवी र स्याउ हुर्काउन, बढाउन र फलाउनमा हालसम्म ट्याङकरबाट ६ हजार लिटर पानी बोकेर ४ हजार खर्च गर्नुभएको छ । कृषि कर्म गरिरहेका उहाँले अहिलेसम्म कही कतैबाट अनुदान लिनु भएको छैन, माग्न समेत जानु भएको छैन ।

बृहत लिफ्टिङ आयोजना अन्तर्गत दुधकोशीको पानी भुम्जुडाँडामा ४ लाख लिटरका तीनवटा ट्याङकीमा आएपछि खत्रीले ३० बोट एभोकाडो र ५० बोट रातो अम्बा पनि रोपिसक्नु भएकाे छ । गत सालबाट बेसार खेती पनि गर्न थाल्नुभएका खत्रीले ४५ हजारसम्म वार्षिक रुपमा बेसारबाट आम्दानी गर्दै आउनुभएकाे छ ।

"कृषि कर्म गर्नमा परिवारको ठूलो सहयोग छ । व्यवस्थापनमा आफै खट्छु, सक्दो परीश्रम गर्छु । त्यसको फल मिठो हुने रहेछ । युवाहरुले गरेमा जे पनि हुन्छ भन्ने उदाहरण बन्ने कोशिष गर्दैछु'-उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?