✍️ ललितकुमार यादव
कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने कर्म हो । पशुपालन, बाली उत्पादन, मत्स्यपालन, र अन्य जीव-जन्तुको खेती वा पालन कृषिअन्तर्गत पर्दछन् । खेतीपाती गरेर जीविकोपार्जन गर्ने समाजलाई कृषि समाज भनिन्छ । हाम्रो नेपाली समाज कृषि समाज हो तर नेपाली समाजले कृषिबाट जीविकोपार्जन गर्न निकै सकस रहेको छ । यद्यपि नेपाली जनताको मुख्य पेशा कृषि नै रहेको छ ।
कृषि पेशा सम्मानित पेशा बन्न सकेको छैन । कृषिकर्म गर्नेलाई हाम्रो समाजले हेला गर्छ । कृषकले जहिल्यै पनि अभाव नै अभाव भोग्नु परेको देखिन्छ । फेरि कृषिबाट जीविकोपार्जन गर्न त्यति सहज पनि छैन । यी र यस्तै कारणले युवाजनशक्ति कृषिमा आकर्षित हुन सकेका छैनन् । हाम्रा युवाजनशक्ति जीविकोपार्जन गर्नकै लागि खाडी मुलुकलाई रोजगारीको गन्तव्य बनाउन बाध्य छ भने हाम्रो खेतबारी बाँझै छन् र यो क्रम बढ्दो छ । खेती गरिएको जमिनबाट पनि हामीले जमिनको उत्पादन क्षमता अनुसारको उत्पादन लिन सकेका छैनौं । युवाजनशक्ति खाडीमा पसिना बगाउन बाध्य छ भने तिनै युवाको परिवारजन नेपालमा आयात गरिएको खाद्यान्न किनेर आफ्नो भोक मेटाउन बाध्य छन् ।
वार्षिक जनसंख्या वृद्धिदरसँग कृषि उत्पादन र उत्पादकत्व वृद्धिको तालमेल मिल्न नसक्दा, कुनै समय कृषिउपज निर्यात गर्ने इतिहास बोकेको नेपाल अहिले वार्षिक खर्बौं रकम बराबरको खाद्यसामग्री आयात गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ ।
नेपालको अर्थतन्त्रमा कृषिको प्रभुत्व रहेको छ । नेपाललाई कृषिप्रधान देश भन्ने गरिन्छ । सन् १९८० को आखिरीसम्म, ९० प्रतिशतभन्दा बढी जनसंख्याको जीविकोपार्जनको माध्यम कृषि नै थियो । यद्यपि जमिनको २० प्रतिशत क्षेत्रमात्र खेतीयोग्य थियो । कृषिले जिडिपीको ६० प्रतिशत र कूल निर्यातको करिब ७५ प्रतिशत हिस्सा ओगटेको थियो । पाँचौं पञ्चवर्षीय योजना (२०३२ देखि २०३७) को तर्जुमा भएदेखि नै कृषि सबैभन्दा बढी प्राथमिकतामा पर्दै आएको छ । तर, कृषि क्षेत्रले खासै प्रगति गर्न सकेको छैन । विश्व बैंकका अनुसार नेपालमा बहुसंख्यकका लागि खाना, आय र रोजगारीको मुख्य स्रोत कृषि नै हो । कूल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै २७ प्रतिशतमा सीमित हुन पुगेको छ । देश कृषि क्षेत्रमा दिनानुदिन पछि पर्दै गएको छ ।
वार्षिक जनसंख्या वृद्धिदरसँग कृषि उत्पादन र उत्पादकत्व वृद्धिको तालमेल मिल्न नसक्दा, कुनै समय कृषिउपज निर्यात गर्ने इतिहास बोकेको नेपाल अहिले वार्षिक खर्बौं रकम बराबरको खाद्यसामग्री आयात गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ । २०३३ सालसम्म धानचामल निर्यात कम्पनी स्थापना गरी नेपालले धान निर्यात गर्ने गरेको इतिहास छ । अहिले नेपालबाट धान निर्यात होइन, नेपालमा धान अयात हुने गरेको छ । २०३८ सालतिर धानचामल निर्यात गर्ने कम्पनी बन्द भएका थिए । २०४० को दशकबाट नेपालमा धान अयात हुने क्रम सुरु भएको बुझिन्छ ।
हिमाली-पहाडी क्षेत्रमा स्थानीय उत्पादन कोदो, मकै, फापर, जौ, उवा प्रयोग हुन्थ्यो । यातायातको सुबिधा पुग्न थालेपछि तराईबाट सस्तोमा धानचामल जान थल्यो । जसका कारण पहाडी क्षेत्रमा स्थानीय उत्पादन घट्न थाल्यो । अर्कातिर धान उत्पादनको मुख्य भण्डार तराईको जनसंख्यामा अत्याधिक वृद्धि भयो । जसका कारण तराईले पहाडतर्फ धानचामल पठाउन सकेन । भारतबाट अयात गर्नुपर्ने अवस्थाको निर्माण हुँदै गयो ।
नेपालमा परम्परागत खेती प्रणालीको अवलम्बन गरिँदै आएको छ । यसकारण उत्पादकत्वमा समय अनुसार वृद्धि हुन सकेको छैन । कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि हुन नसकेको कारण कृषि अहिलेसम्म निर्बाहमुखी पेशाकै रूपमा सीमित रहेको छ । युवाजनशक्तिलाई श्रम, सीप तथा पुँजीसहित कृषि क्षेत्रमा आकर्षित गर्न नसक्दा आर्थिक आत्मनिर्भरता बढ्न सकेको छैन । कृषि उत्पादनमा गुणात्मक र परिमाणात्मक फड्को मार्न नसक्दा कृषि निर्वाहमुखी पेशाभन्दा माथि उठ्नै सकेको छैन । कृषिमा आधुनिकीकरण र युवाजनशक्तिलाई आकर्षित नगरेसम्म कृषिलाई निर्वाहमुखी पेशाभन्दा माथि उठाउन सकिँदैन । नेपालले आफ्नो कृषि उत्पादनलाई निर्बाहबाट व्यावसायिक र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन नगरेसम्म राष्ट्रको आर्थिक उन्नति सम्भव छैन ।
हामी आयातमा निर्भर रहेका छौं । यस्तोमा हामी कृषि उत्पादनमा मात्र आत्मनिर्भर हुन सके पनि ठूलै उपलब्धि हुनेछ । कृषि उत्पादनमा आत्मनिर्भर हुन हामीलाई चाहिने उत्पादनको तथ्यांक निकाल्ने र सोही अनुसार कृषकलाई खेती लगाउन सुझाउने गर्नुपर्छ ।
परम्परागत निर्बाहमुखी कृषिले किसानको आवश्यकता पूर्ति गर्नै सक्दैन, न त सकेको अवस्था छ । कृषिबाट आफ्ना अवश्यकता पूर्ति नभएकै कारण कृषिमा आकर्षण घट्दो क्रममा रहेको छ भने कृषिकर्मबाट किसान पलायन बढ्दो क्रममा रहेको छ । कृषि क्षेत्रमा जनशक्तिको अभाव उत्तिकै रहेको छ । किसानको आवश्यकता कृषिबाट सजिलै पूर्ति हुने अर्थात् कृषिबाट किसानले आफ्ना परिवारका सम्पूर्ण आवश्यकता पूर्ति गर्न सक्ने अवस्था छैन । किसानले समयमा मल, बिउ तथा उपकरण पाउने सुनिश्चितता सरकारले गर्न सकेको छैन । किसानको सीप विकासका लागि तालिम प्रदान गर्नुका साथै खेती गरिएको स्थानमा नै प्राविधिक सेवा उपलब्ध गराउने र सिँचाइको पहुँच पुर्याउने लगायतको कार्य सरकारले गर्न अत्यन्त जरुरी छ । यसका लागि तीनै तहका सरकारले अल्पकालीन र दीर्घकालीन तथा व्यावहारिक योजना ल्याउन आवश्यक छ ।
कृषिलाई व्यावसायिक पेशाको रूपमा विकास गर्न खेतीयोग्य जमिनबाट वर्षैभरि उत्पादन लिन सक्नुपर्छ । साथै खेतियोग्य जमिनको संरक्षण र सदुपयोग गर्न त्यति नै जरुरी छ । मौसमानुसार खेतीपाती गर्ने त्यो पनि आकासे सिंचाईको भरमा, कृषि क्षेत्रको यस्तो बाध्यताको अन्त्य हुनै पर्छ । वर्षमा दुई उत्पादन लिन सक्ने धान लगायतका कृषि उत्पादनको दुई उत्पादन लिने । त्यसका लागि सिँचाइलगायत अन्य आवश्यकताको व्यवस्थापन गर्ने । कृषि उत्पादनको उचित मूल्य तोक्ने । जसबाट कृषकको लागत उठोस् र किसानले आफ्नो आवश्यकता पूरा गर्न सकोस् ।
कहीँ कृषि उत्पादनले बजार नपाउने त कहीँ त्यही उत्पादनको अभाव हुने र आयातित वस्तुले बजार पाउने अवस्थाको अन्त्य गरिनुपर्छ । सरकारले कृषि क्षेत्रको विकासका लागि ल्याएका सहयोगी कार्यक्रमबाट बिचौलिया र टाठाबाठाहरूले फाइदा लिने तर लक्षित किसान वर्ग हेरेको हे¥यै हुने अवस्थाको पनि अन्त्य गरिनुपर्छ ।
हामी आयातमा निर्भर रहेका छौं । यस्तोमा हामी कृषि उत्पादनमा मात्र आत्मनिर्भर हुन सकेमा पनि ठूलै उपलब्धि हुनेछ । कृषि उत्पादनमा आत्मनिर्भर हुन हामीलाई चाहिने कुन-कुन उत्पादन कति-कति हो त्यसको तथ्यांक निकाल्ने र सोही योजना-अनुसार कृषकलाई खेती लगाउन सुझाउने गर्नुपर्छ । भातमात्र खाने होइन हाम्रो अन्य कृषि उत्पादनलाई समेत दैनिक आहारको रूपमा प्रयोगमा ल्याउने । यसरी हामी कृषिमा आत्मनिर्भर भइसकेपश्चात निर्यातमुखी कृषिमा केन्द्रित हुनुपर्छ । किसानको आर्थिक समस्या समाधान गर्न नगदे बालीको खेती गर्न प्रोत्साहित गर्ने र कृषकको उत्पादनलाई सहज रूपमा रकममा रूपान्तरण गर्ने व्यवस्था मिलाउने । तर, उखुकिसानजस्तो पीडित बनाउनु हुँदैन ।
कृषिलाई व्यवसायको रूपमा विकास गर्ने र यसकै माध्यमले आफ्ना आवश्यकताको पूर्ति गर्ने बाटोमा मुलुक अगाडि बढ्नुपर्छ । कृषिका लागि चाहिने मल र बिउबिजनको उत्पादन आफैंले गर्ने । यसले चाहिने बेलामा सधैं मलको अभाव हुने समस्याको अन्त्य गर्दछ । कृषिमा आधुनिकीकरण गर्न सके कृषिलाई व्यवसायको रूपमा विकास गर्न सकिन्छ । यसले कृषिउपज आयात गर्नुपर्ने बाध्यताको अन्त्यसँगै धेरै हदसम्म रोजगारीको समस्याको पनि समाधान गर्नेमा कुनै शंका छैन । सँगै मुलुकको समृद्धिको यात्राको थालनी पनि यँहीबाट हुन्छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य आकाशिएको छ । त्यसको प्रभाव नेपाली बजारमा पर्दैन भन्ने छैन । तसर्थ त्यसको प्रभावबाट जोगिन पनि स्वदेशमै कृषिउपजको उत्पादन र उत्पादकत्व बढाउन जोड दिन अत्यन्त जरुरी छ । कृषिबाटै जनताको जीवनस्तर उकास्ने उपाय खोज्न आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच