निजी क्षेत्रलाई विद्युत् व्यापार अनुमति दिन आग्रह

Read Time = 3 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)ले हालको प्रणालीले मात्र विद्युत् बिक्री हुन नसक्दा विद्युत् खेर फाल्नुपरेको भन्दै विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमति दिन माग गरेको छ । निजी क्षेत्रका कारण उत्साहजनकरूपमा ऊर्जा उत्पादन भइरहेको अवस्थामा नयाँ चुनौती देखापरेको भन्दै इपानले ऊर्जा खपत व्यवस्थापनमा जोड दिएको छ । गत वर्ष वर्षायाममा करिब दुई दर्जन निजी आयोजनाद्वारा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले विभिन्न बहानामा खरिद नगरेका कारण करिब दुई अर्ब बराबरको विद्युत् खेर गएको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले भन्नुभयो, ‘तत्कालीन अवस्थामा करिब २२ सय मेगावाटमात्र प्रणालीमा जोडिएको थियो । चालु वर्षमा करिब आठ सय मेगावाट प्रणालीमा थपिएर करिब तीन हजार मेगावाट पुग्दैछ । यसले आगामी वर्षायाममा विद्युत् खेर जाने समस्या झन् भयावह हुने देखिन्छ ।’ निजी क्षेत्रलाई विद्युत्को अनुमति दिएमा विद्युत्को बाहृय व्यापारका लागि निजी क्षेत्र तयार रहेको दाबीसमेत उहाँले गर्नुभएको छ ।

साथै इपानले १५ सय मेगावाटसम्मको नदी प्रवाह जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) खुला गर्ने प्राधिकरणको निर्णयको स्वागत गरेको छ । इपानका अनुसार प्राधिकरणमा दुई सय ४० आयोजनाले ११ हजार सात सय १६ मेगावाट बराबरको पिपिएका लागि आवेदन दिएका छन् । देशको कुल जडित क्षमता करिब दुई हजार चार सय ३० मेगावाट रहेकोमा निजी क्षेत्रको योगदान एक हजार सात सय मेगावाटभन्दा बढी रहेको र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्ब लगानी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?