गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : नेम्वाङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताउनु भयो । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उहाँले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताउनु भयो ।

उहाँले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताउनु भयो । उहाँले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको प्रतिष्पर्धा सहमतिको प्रतिष्पर्धा हो । लोकतन्त्रको विधि, प्रक्रिया अनुसारको प्रतिष्पर्धा हो । जुन हामी सबैले स्वीकारेको प्रतिष्पर्धा हो । सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ । मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ । जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ । बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ । गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरुले आफैँमाथि गरेको अविश्वास हो । राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ । जुन सक्षम व्यक्ति संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस् । मलाई दल भन्दा बाहिरको मान्छे हजम भएको छैन । अब राष्ट्रपति हुनको लागि कुनै कुलमा जन्मिनु पर्दैन ।’

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?