३०१औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

Read Time = 6 mins

✍️ लोकेश ढकाल

पौष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो । शाहबंशीय राजा पृथ्वीनारायण शाहले यो भू-भागमा छरिएर रहेका साना-साना राज्य-रजौटालाई समेटेर वर्तमान नेपाल राज्यको स्थापना गरेका हुन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झनु र सम्मान गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । तर राजनीतिक दूराग्रहका कारण यो कर्तव्य निरावाह गर्नबाट नेपाली जनता चुक्दै आएका छन् ।

जसले देश निर्माण गर्‍यो त्यसलाई सम्मान नगर्ने सोच राष्ट्रवादी सोच हुन सक्दैन । पछिल्ला शाहवंशीय राजाहरू निरंकुश भए, जनविरोधी भए भनेर सिंगो बंशलाई सराप्नु दोष पूर्ण चिन्तन हो । राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहलाई सम्मान नगर्ने व्यक्ति राष्ट्रवादी वा देश प्रेमी हुन सक्दैन । तथाकथित नयाँ नेपालका नाममा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस राज्यले मनाउन छोडेर ऐतिहासिक भुल गरेको थियो। जनस्तरबाट भने पृथ्वी जयन्ती मनाइँदै आएको थियो । राज्यस्तरबाट पनि यो जयन्तीलाई भव्यताकासाथ राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्छ भनेर जनस्तर र राजनीतिक दलबाट समेत चौतर्फी आवाज उठिरहेको थियो ।

यो पंतिकारले पनि सुरुका दिनदेखि नै पृथ्वीनारायण शाहको जन्म-जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय उत्सवका रूपमा राज्यले भव्यसँग मनाउनुपर्छ, पृथ्वीनारायणलाई सम्मान गर्नुपर्छ भनेर बोल्ने लेख्ने र अभियान चलाउने क्रम चलाउँदै आएको हो । परम्परागत रूपमा राज्यस्तरबाट भव्यताकासाथ मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ०६३ सालको राजनीतिक परिवर्तन पछि कथित अग्रगमन र परिवर्तनका नाममा मूर्खतापूर्वक मनाउन बन्द गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका हैसियतमा यो दिवस मनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पास गर्ने प्रयत्न गर्दा कांग्रेस कै एक मन्त्रीको विरोधले सुशील कोइराला पछि हटेको प्रसंग पनि उल्लेख्य घटनाको रूपमा रहेको छ ।

शान्ति र लोकतान्त्रिक आन्दोलनका नाममा, मैले आफ्नो संघर्षपूर्ण जीवन विताएको ऐतिहासिक दल नेपाली कांग्रस कै सभापति प्रधानमन्त्री र कांग्रेस कै अर्का नेता गृहमन्त्री भएका बखत पृथ्वीनारायण शाहलाई अपमान गरी यो दिवसलाई मनाउन छोड्नु दुर्भाग्यपूर्ण घटना थियो । कांग्रेसले आफंै अग्रसर भएर यो ऐतिहासिक भुललाई सच्याउन अग्रसर बन्नु पथ्र्याे । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका हैसियतमा यो दिवस मनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पास गर्ने प्रयत्न गर्दा कांग्रेस कै एक मन्त्रीको विरोधले सुशील कोइराला पछि हटेको प्रसंग पनि उल्लेख्य घटनाको रूपमा रहेको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्ने राष्ट्रिय दिवस मनाउने विषयमा देशको प्रमुख प्रजातान्त्रिक एवं राष्ट्रवादी शक्ति नेपाली कांग्रेसले अग्रसरता लिएर ओली सरकारलाई निर्णय गर्न दबाब देओस भनेर दुई वर्षअगाडि ०७७ पौष २३ गते मैले आफ्नो पार्टी सभापति श्री शेरबहादुर देउवाज्यलाई भेटी ज्ञापन पत्र बुझाउँदा यस विषयमा कुनै चासो नराखेको घटना मेरा लागि दुःखद् स्मरणीय घटनाको रूपमा रहेको छ ।

राप्रपाको दबाब र सत्ता राजनीतिक दाउपेचमा प्रचण्ड नेतृत्वको हालै गठित सरकारले बाध्यताले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा छुट्टी दिने निर्णय गरेको छ । यो स्वागत योग्य निर्णय हो । सरकारले केवल छुट्टी दिएरमात्र हुँदैन, यसलाई राजनीतिक दाउपेच र दलीय स्वार्थभन्दा माथि उठेर सरकारी एवं जनस्तरमा देशव्यापी रूपमा भव्यतापूर्वक मनाउने परिपाटी बसाल्न जरूरी छ ।

सरकारले राष्ट्र निर्माताप्रति मनदेखि सम्मान गर्दै ‘पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस’ बिदामात्र दिएर झारा टार्ने काम नगरोस् भव्यसँग मनाओस् । यसका लागि जनस्तर र राजनीतिक स्तरबाट थप दबाबको खाँचो छ । ३०१औं ‘पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ को यो सुखद् अवसरमा नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाहप्रति गहिरो सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?