विशिष्ट सवारीका अपाच्य परिदृश्य

हिमालय टाइम्स
Read Time = 7 mins

विशिष्टहरूको सवारी स्वाभाविक हुन्छ । विभिन्न नीति निर्माण र आफूले सम्पादन गर्नुपर्ने काममा उहाँहरूको विभिन्न ठाउँमा सवारी भइरहन्छ । प्रधानमन्त्री, मन्त्रीहरूको त दैनिकजसो धेरैतिर जानुपर्ने हुन्छ । राष्ट्रपति भने आलंकारिक पद भएका कारण कार्यकारीको जस्तो सधैं यताउता जानु पर्दैन । सरकारले गरेको सिफारिश स्वीकृत गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा भने सरकारको सिफरिश सदर नगरेकाले राष्ट्रपति आलोच्य भएको अवस्था छ । हाम्रो प्रजातन्त्रलाई बेलायती नमुनाको प्रजातन्त्र भन्ने गरिएको छ तर बेलायतमा संसद्ले पारित गरेर पठाएको कुरा राष्ट्रप्रमुखबाट रोक्ने काम हुनै सक्दैन । त्यहाँ संसद्ले लोग्ने मानिसलाई स्वास्नी मानिस हो भनेर पठाए पनि राष्ट्रप्रमुखले सदर गर्नुपर्छ भन्ने मान्यता छ तर संसद्ले पनि त्यसो गर्दै गर्दैन । यसरी दुवैबाट आफ्नो अधिकार र दायित्वलाई बडो संवेदनशीलताका साथ पालना गरिन्छ ।

हामी भने प्रजातन्त्रको अभ्यासमा नयाँ नै छौं । बेलायतको म्याग्नाकार्टादेखिको संसदीय अभ्यास हेर्दा आठ-नौ सय वर्ष पुरानो इतिहास छ । हामी पछिल्लो पटक तीस बत्तीस वर्षदेखि मात्रै प्रजातन्त्रको अभ्यासमा छौं । त्यस अर्थमा अझै अपरिपक्व छौं । यही अपरिपक्वताका कारण राष्ट्रप्रमुख वा राष्ट्रपतिको सवारीमा जहिल्यै विवादित घटना हुने गरेका छन् । बाहिर सवारी हुने क्रममा राष्ट्रपति भवनबाट विमानस्थलसम्म जाँदा घण्टौंसम्म बाटो बन्द हुँदा आलोचना भएपछि वैकल्पिक व्यवस्था गरिएको थियो । हेलिकप्टरबाट पनि उहाँको सवारी चलाउने गरियो । अस्वाभाविक तामझाम गरिएका कारण जनस्तरबाट आलोचना भएपछि उहाँको मातृपार्टी एमालेले राष्ट्रपति व्यक्ति होइन पद हो र पदको गरिमाका लागि यो सबै व्यवस्था गरिएको भनेको थियो ।

गत शुक्रबार संसद्मा सम्बोधन गर्न सवारी हुने क्रममा सर्वसाधारणले बाटो बन्द भएका कारण सास्ती भोग्नुपरेको घटनाले उहाँको विरोध भयो । विरोध उहाँको होइन व्यवस्थापनको विरोध हो । व्यवस्थापनको कमजोरीबाट सर्वसाधारणले बाटो हिँड्न पाएनन्, कति बिरामीलाई अस्तपताल जान असुविधा भयो । सडकमा व्यापार गरेर खानुपर्नेले त्यसो गर्न पाएनन् । यसका साथै राष्ट्रिय ट्रमा सेन्टरका एकजना चिकित्सक प्रहरीद्वारा कुटिनुभयो । यसले गर्दा प्रहरी भनेको जनता कुट्नकै लागि हो भन्ने सोच अहिले पनि बदलिन नसकेको देखिन आयो । प्रहरीले जनताको मन जित्न र जनताबाट सहयोगको अपेक्षा गरी बेलाबेलामा ‘प्रहरी जनताको साथी’, ‘मुस्कानसहितको सेवा’जस्ता प्रभावकारी भनाइलाई अघि सार्ने गरेको छ तर प्रहरी शान्ति सुरक्षाका लागि हो र उसबाट जनताको सुरक्षा हुन्छ भनेर जनता अझैसम्म विश्वस्त हुन सकिरहेका छैनन् ।

हिजो पञ्चायत कालमा प्रहरी मानिस कुट्नकै लागि व्यवस्था गरिन्थ्यो । आज आएर विश्व मानव अधिकारका क्षेत्रमा धेरै अगाडि पुगिसकेको अवस्थामा प्रहरी राष्ट्रपतिको सवारीमा खटिँदा एकजना चिकित्सक बाटोमा हिँडेकै कारण उहाँमाथि कुटपिट गर्छ भने त्यसलाई फ्रान्सका चौधौं शताब्दीका राजा लुईहरूको शासनको स्मरण गर्नुपर्ने हुनसक्छ । सरकारको निर्देशनमा प्रहरीले मानिस कुटेको होइन भन्ने कुरा सरकारले उक्त प्रहरीलाई निलम्बन गरेबाट थाहा हुन्छ तर मासिनलाई कुट्नु भन्ने आदेश नभए पनि त्यसरी व्यक्तिमाथि कुटपिट गर्ने जंगली सोच ती प्रहरीलाई कसरी आयो ? यही कारणले चिकित्सक बिरामी जाँच्न छोडेर आन्दोलित हुनपुगे । यसले गर्दा समयमा उपचार नपाएर कतिपय बिरामीले सास्ती भोग्नु पर्‍यो । त्यसकारण यदि बिरामीले सेवा पाएन भने चिकित्सकहरूबाट पनि गल्ती हुने कुरा निश्चित छ ।

आफ्ना चिकित्सक साथी कुटिएकामा विरोध गर्नु स्वाभाविक भए पनि चिकित्सकहरूले विरोध गरेको स्वाभाविक मान्दामान्दै पनि बिरामी जाँच्न छोडेर सडकमा जानुलाई भने उचित मान्न सकिँदैन । केही क्षेत्रलाई संवेदनशील क्षेत्र मानिन्छ । विद्यार्थीहरूको हड्ताललाई स्वाभाविक मानिएला तर शिक्षकको हड्ताल स्वाभाविक मानिँदैन । चिकित्सा क्षेत्र त अति संवेदनशील क्षेत्र हो । बिजुली, पानी आदि आपूर्ति गर्ने संस्थान, हवाई उडानका क्षेत्रहरूमा र कतिपय देशहरूमा त ठूला राजमार्गको अवरोध अस्वाभाविक मानिन्छ । त्यस्ता क्षेत्रमा अवरोध गर्नेलाई कडा सजायको व्यवस्था हुन्छ । प्रहरीले एकजना चिकित्सकलाई विनाकारण कुटपिट गरेको घटना जति नै आलोच्य भए पनि चिकित्सकले भने संयमता अपनाउनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?