‘मायालु डाँडा’ मा युवातन्नेरीको भीड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवसका दिन आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको ‘मायालु डाँडा’ (लभ्लीहिल) मा तन्नेरीहरुको भीड लागेको छ ।

माया गर्ने जोडीहरुका लागि उत्कृष्ट स्थल मानिएको लभ्ली हिल (मायालु डाँडा) मा आज विहानैदेखि युवायुवतीहरुको भीड लागेको स्थानीय चन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो ।

सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका वडा नं २ खबरामा अवस्थित मायालु डाँडामा प्रणय दिवस मनाउन युवायुवतीहरुको भीड लागेको हो ।
“मायालु डाँडामा अघिपछिको तुलनामा केही दिनयता युवा युवतीको आगमन बढेको छ,” स्थानीय कार्कीले भन्नुभयो “आज यहाँ प्रेमिल माहोल देखिएको छ ।”
तीन दिनयता म्याग्दी, बागलुङ, पर्वतका साथै म्याग्दी भ्रमणमा आएका विभिन्न जिल्लाका तीन सयभन्दा बढी युवायुवतीहरु यहाँ आएर रमाउनुका साथै प्रेम साटासाट गरेका लभ्लीहिल खाजा घर तथा किराना पसलका संचालक समेत रहेका नारायण कार्कीको भनाइ छ ।

केही दिनयता लभ्लीहिलमा आउने युवायुवतीहरुले गुलाबको फूलका साथै विभिन्न किसिमका उपहारहरु बोकेर आउने गरेका र एकापसमा साटासाट गर्ने, अंकमाल गर्ने लगायतका दृश्यहरु देखिने गरेका स्थानीय देवबहादुर घिमिरेले बताउनुभयो ।

पहिला पहिला खाजाका विभिन्न परिकारहरु बोकेर आउने युवायुवतीहरु भ्यालेन्टाइन डे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलहरु लिएर एकापसमा साटासाट गरेका दृश्यहरु देखिने गरेका लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिनुभयो ।

“विभिन्न आधुनिक पोसाकहरुमा सजिएर वाइक, स्कुटीलगायतका सवारी साधनहरुमा यहाँ आउने युवायुवतीहरुको संख्या पहिलेको तुलनामा केही दिनयता शत्प्रतिशतले बृद्धि भएको छ” घिमिरेले भन्नुभयो “युवायुवतीहरुको संख्या बृद्धि संगै यहाँका कृषि उपज र फलफूलहरुको पनि व्यापार बढेको छ।”

लभ्लीहिलमा रेलिङ, गोलघर,खाजाघर लगाएतका पूर्वाधारहरु निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढ्दै गएको हो। साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ।

लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिसहरु आउने गरेको स्थानीयको भनाइ छ। पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह–समूह बनाएर दैनिक रुपमा युवा पुस्ताहरु पुग्ने गरेका छन् ।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ। बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?