काठमाडौं । देशको वर्तमान आर्थिक अवस्था र सुधारका सम्भावित उपायमा केन्द्रित हुँदै पूर्वअर्थमन्त्री फोरमको बैठक सम्पन्न भएको छ । बैठकमा अर्थतन्त्र बलियो र दिगो बनाउन दीर्घकालीन नीति तर्जुमा र कार्यान्वयनका विषयमा विशेष छलफल भएको थियो ।
त्यसैगरी वर्तमान आर्थिक अवस्था सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवं लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने, लगानीकर्तालाई प्रोत्साहन गरिनुपर्ने, नीति नियममा सुधार गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीले जोड दिएका छन् । विगत केही समयदेखि उत्पन्न तरलता समस्या र बढ्दो ब्याजदरका कारण आम उद्योग/व्यवसायमा परेको असरका विषयमा पनि छलफल भएको थियो ।
कमजोर पुँजीगत खर्च गर्ने प्रणालीमा व्यापक सुधार गर्न, चालु खर्चमा भएको बढोत्तरी न्यूनीकरण गर्दै मितव्ययिता अपनाउन र विदेशी मुद्रा आर्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको फोरमले जनाएको छ ।
त्यस्तै, वर्तमान आर्थिक परिदृश्यलाई संवेदनशीलरूपमा लिँदै आगामी बजेटले उद्यमशीलता, लगानी, उत्पादन, रोजगारी र आयात प्रतिस्थापनका विषयमा स्पष्ट वित्तीय नीति अवलम्बन गरिनुपर्नेमा सघन छलफल भएको थियो । बैंठकले सबल अर्थतन्त्र निर्माणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारीको सिर्जना, स्वदेशी उत्पादनमा जोड दिँदै स्वदेशी उत्पादन उपभोग र निर्यातमा प्रोत्साहन, बजारमा देखिएको मुद्रास्फीति नियन्त्रण, बैंक तथा वित्तीय संस्थाको ऋण असुली र आर्थिक गतिविधि चलायमान बनाउनेलगायतका विषयमा मौद्रिक नीतिमार्फत् सहजता प्रदान गर्न सुझाव दिने बैंठकले निर्णय गरेको थियो ।
साथै बैठकले देशको समग्र आर्थिक अवस्थामा देखिएका समस्या तथा चुनौतीको समाधान पहिल्याउन सरोकारावाला सम्पूर्ण पक्षको सहभागिता हुनेगरी निकट भविष्यमै एक बृहत् आर्थिक बहस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पूर्वअर्थमन्त्री फोरमका सदस्य-सचिव विमल केडियाले जानकारी दिनुभयो । बैठकमा पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थसचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच