यातायात क्षेत्रका समस्या र कार्यशैली

हिमालय टाइम्स
Read Time = 7 mins

यातायात क्षेत्रमा बेला–बेलामा अनेक खालका समस्या निम्तिने गरेका छन् । यसपटक पनि यस्तै प्रकारको सामस्या देखापरेको छ । यातायात मजदुरहरूले सरकारसँग राखेका माग सम्बोधन नभएको भनेर विरोधका कार्यक्रम राखे । गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा विरोधसभा गर्दा गर्दै त्यहाँ अराजक अवस्था सिर्जना हुनपुग्यो र ल्होत्से महल लुटपाटको निशाना बन्न पुग्यो । यस कार्यलाई अराजकताको एउटा दृष्टान्तका रूपमा लिन सकिन्छ । आफ्ना माग एक क्षेत्रका छन् तर तोड्फोड्को निशाना र लुटपाटको केन्द्र चाहिँ अर्को क्षेत्रका व्यवसायीलाई बनाइनाले कानुन हातमा लिएको देखिन आयो । यसको सन्देश जनमानसमा सकारात्मक जान सकेको छैन ।

व्यवसाय गरेर खानेहरूकै व्यापारिक सामग्रीको यस प्रकारको लुटपाटलाई कसैले सही हो भन्न सक्दैनन् । देशमा सरकार र कानुन छ भन्ने देखाउनका लागि सरकारले उक्त लुटपाटमा संलग्नलाई कानुनबमोजिम सजायको दायरामा ल्याउन सक्नुपर्छ । लुटिएको बिगो बराबरको रकम तिनको जायजेथाबाट सरकारी बाँकी बमोजिक असुलउपर गर्न सक्नुपर्दछ । त्यसपछि मात्र जनताले देशमा कानुन भएको अनुभूति गर्न पाउनेछन् । सबैले आफ्ना माग पूरा गर्न कानुनले तोकेको मार्ग अवलम्बन गरी पूरा गराउने अधिकार राख्दछन् तर अराजकताको अवस्था भने कतैबाट पनि सिर्जना गरिनु हुँदैन । यातायात व्यवसायी र मजदुरहरूका आ–आफ्नै समस्या होलान् त्यसलाई नकार्न मिल्दैन तर यसो भन्दैमा यातायात मजदुरहरूको व्यवहार पनि यात्रुमैत्री बन्न सक्नुपर्दछ ।

गाउँघरबाट आएका अपठित किशोरहरूदेखि बालकहरूको समेत यातायात मजदुर क्षेत्रमा बाहुल्य छ । तिनलाई कुनै प्रकारको तालिम दिइएको हुँदैन । समान दूरीमा यात्रा गर्दा यात्रुहरूबाट फरक–फरक भाडा असुलिरहेका हुन्छन् । चालक तथा सहचालकबाट यात्रुप्रति दुव्र्यवहार भइरहेका घटना बाक्लै देखिन्छन् । त्यसकारण यातायात व्यवसायीहरू तथा सम्बन्धित निकायले तिनलाई सामान्य शिष्टाचारका व्यवहार सिकाउनु उचित हुन्छ । हो, निश्चित रूपमा तिनीहरू पनि ट्राफिक प्रहरीहरूबाट अकारण पनि दण्डित भइरहेको पाइन्छ । सामान्य रूपमा टेम्पु चालकहरूले प्रतिदिन हजार पन्ध्र सय कमाइ गर्लान् । चालक सिटसँग नानी राखेर टेम्पु चलाउनेहरू महिला चालकहरू पनि देखिने गरेका छन् ।

कुनै सानो बहानामा ट्रफिक प्रहरीबाट तिनीहरू दण्डित भएर हजार पन्ध्र सयको जरिवानामा परे भने तिनीहरूको त्यस दिनको श्रम खेर गयो र कमाइ शून्य हुने भयो । अहिलेको जरिवाना दर पनि चर्को छ । त्यस मारमा यातायात मजदुर निश्चय परेका छन् तर यसो भन्दैमा कानुनी रूपमा शालिन ढंगले आफ्ना माग राख्न र पूरा गराउन पाउने नैसर्गिक हकको उपयोग गर्नुको सट्टा अराजक किसिमले प्रस्तुत हुनुलाई उचित हो भन्न कसैले पनि सक्दैन । एउटा समस्याको समाधान खोज्दा अरू समस्या सिर्जना गर्दैजानु अनुपयुक्त बाटो अपनाउनु हो ।

चाहे जोसुकै मानिस त्यस्तो लुटपाट र आगजनीमा संलग्न भएको किन नहोस् तिनले हदैसम्मको दण्ड जरिवाना पाउनै पर्छ र अन्यायमा परेका वर्गले न्याय पाउनै पर्छ । यसमा कसैको दुई मत रहँदैन ।

चाहे जोसुकै मानिस त्यस्तो लुटपाट र आगजनीमा संलग्न भएको किन नहोस् तिनले हदैसम्मको दण्ड जरिवाना पाउनै पर्छ र अन्यायमा परेका वर्गले न्याय पाउनै पर्छ । यसमा कसैको दुई मत रहँदैन । आगजनी र तोडफोगमा जोसुकैको सम्पत्ति क्षति भएको भए पनि त्यो राष्ट्रको सम्पत्तिमा भएको क्षति हो । क्षति एकछिनमा गराउन सकिन्छ तर त्यसको परिपूर्ति गर्न क्षति गर्न जति सजिलो छैन । सरकारले यसमा राम्ररी मनन् गर्नुपर्छ र विनामुलाहिजा यस घटनाको राम्ररी छानविन गर्नुपर्छ । कानुनमा ‘बरू दोषी उम्कोस् निर्दोषले सजाय नपाओस्’ भन्ने सिद्धान्त छ ।

यस सिद्धान्तको मर्मानुसार सरकारले काम गर्नुपर्छ । व्यवसायीहरूले भयरहित वातावरणमा आ–आफ्ना व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । यातायात मजदुरका समस्या पनि समाधान हुनुपर्छ । यसैगरी यातायात क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन सक्नु आवश्यक छ । मानिसहरूको वर्तमानको मानसिकता पैसामुखी छ । जसरी भए पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकता लिनाले मानवीय संवेदनशीलतामा ह्रास आइरहेको पाइन्छ । यस्ता केही क्षेत्रमा यातायात क्षेत्र पर्न आउँछ । यस क्षेत्रलाई व्यापारिक र व्यावसायिक क्षेत्र बनाउनुका साथै सेवामुखी पनि बनाउन सके यो क्षेत्र निश्चय मर्यादित बन्नसक्छ । यसका लागि यातायात व्यवसायी, यातायात मजदुर, सरकार र यात्रुहरू सबैको समान भूमिका अपेक्षित रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?