मतदाता बसेकै ठाउँबाट भोट हाल्न पाउने गरी कानुन बनाउनुपर्छ : थपलिया

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरूले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।

‘अब बन्ने कानुनमा त्यो व्यवस्था गर्नुपर्छ भन्ने मेरो बुझाइ छ, नेपालभित्र अन्तिम मतदाता नामावलीमा नाम भएको कुनै पनि व्यक्ति । घरमा उसको मतदान केन्द्र छ, मतदान केन्द्रमै पुग्छ ठिक छ । तर, तपाईं एउटा एनजिओमा काम गरिरहनु भएको छ, काठमाडौंमा छ । तपाईंको घरचाहिँ मनाङ हो । तपाईंको घर ताप्लेजुङ हो । तपाईंले भोट नै हाल्न नपाउने भन्ने हुन्छ ?’, उहाँले भन्नुभयो, ‘जो जहाँ छ त्यहीँबाट कम्तीमा पनि समानुपातिक तर्फबाट उसले भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्ने गरी कानुन बनाउनुपर्छ ।’

उहाँले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानुन बनाएर आम मतदातालाई दिइनुपर्ने उल्लेख गर्नुभयो । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उहाँको भनाइ छ ।

‘कर्मचारीलाई त दियौँ हामीले योपल्ट । कैदी, बन्दीलाई दियौँ हामीले । तपाईं कैदीबन्दीभन्दा पनि कमजोर हो र ? तपाईंलाई दिनुपर्छ । यसो ग¥यो भने मत त यसै बढ्यो नि । मलाई लाग्छ यस्तो मत, १० लाखभन्दा बढी मतदाताले यसपालि भोट हाल्न पाएका छैनन् । त्यसकारण हामीले मात्रै भन्न सक्दैनथ्यौँ कानुनमा थिएन । विदेशमा बसेका मतदाताको कुरा होला । यसरी जानुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताउनुभयो । उहाँले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरूलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले दल दर्ता गर्नु उपलब्धि नभएर जनताद्वारा अनुमोदित हुनु र वैधता सिर्जना गर्नु ठूलो कुरा भएको धारणा राख्नुभयो । उहाँले आयोगले समावेशिता र लैंगिक समानतालाई अत्यधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको बताउनुभयो ।

निर्वाचन आयुक्त पौड्यालको बिदाइ
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल बिहीबारदेखि अवकाश हुनुभएको छ । उहाँको ६ वर्षे पदावधि पूरा भएको हो । आयोगमा बिहीबार आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरिएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गर्नुभयो ।

उहाँले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं २०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिनुभएको योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

आयोगमा विसं २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीन दशक निजामती सेवामा व्यतित गरी विशिष्ट श्रेणी (सचिव)बाट अवकाश प्राप्त गर्नुभएको थियो ।

विसं २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मनुभएका पौड्यालले वातावरण इञ्जिनियरिङ, समाजशास्त्रलगगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । विश्वका ४५ मुलुकको भ्रमण गर्नुभएका पौड्याल सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्यांकन, खानेपानी व्यवस्थापन, अनुगमन÷मूल्यांकन जस्ता विषयमा विज्ञ मानिनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?