पर्यटन प्रवद्र्धन गर्न रामेछापमा शैलुङ म्याराथन गरिँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

रामेछाप । रामेछापको ऐतिहासिक स्थल शैलुङ क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक शैलुङ अल्ट्रा म्याराथन प्रतियोगिता गरिने भएको छ । आउँदो चैत ४ गते सञ्चालन गरिने यस प्रतियोगिताको नाम शैलुङ अल्ट्रा म्याराथन २०२३ राखिएको छ ।

५५ किलोमिटर, २५ किलोमिटर र पाँच किलोमिटर दूरी गरी तीन विधामा हुन लागेको दौड प्रतियोगिताको मुख्य उद्देश्य जिल्लाको स्थानीय पर्यटन, संस्कृति र परिदृश्य प्रवद्र्धन गर्ने रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा महिला÷पुरुष सबैले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीको नाम दर्ताका लागि आवेदन खुला गरिएको छ । जसमा म्याराथनमा भाग लिन चाहने नेपाली खेलाडीलाई प्रतिखेलाडी प्रवेश शुल्क दुई हजार, सार्क राष्ट्रका खेलाडीहरूलाई प्रतिखेलाडी ३ हजार र अन्य देशका खेलाडीहरूका लागि प्रति खेलाडी पाँच हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक संस्थाले जनाएको छ ।

म्याराथनमा सहभागी खेलाडीहरूमध्ये ५५ किलोमिटरमा प्रथम हुने खेलाडीलाई नगद ७५ हजार रुपैयाँ, दोस्रो हुने खेलाडीलाई ३५ हजार र तेस्रो हुने खेलाडीलाई २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद ४० हजार रुपैयाँ, दोस्रो हुने खेलाडीलाई २० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी पाँच किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद १५ हजार, दोस्रो हुने खेलाडीलाई १० हजार र तेस्रो हुने खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

म्याराथन प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन र सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुुङ गाउँपालिकाको सहकार्य तथा खेलको प्रायोजकमा हिमालयन ट्रेल रनिङ रहेको छ । प्रतियोगितामा नेपालबाहेक विभिन्न देशका खेलाडीहरूको सहभागिता हुने अपेक्षा आयोजक संस्थाले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?