भोलिदेखि होटल हायातमा हस्तकला व्यापार मेला

Read Time = 4 mins

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंको होटल हायातमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थानमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आयोजना हुने मेलामा एक सय ३० व्यापारिक स्टल रहने मेलाका संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिनुभएको छ ।

महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक तुलाधरले एउटै छातामुनि हस्तकला प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, ज्येष्ठ तथा वरिष्ठ कलाकार र अग्रणी निर्यातकर्तालाई सम्मान गरिने जानकारी दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको छ प्रतिशत योगदान रहेको जानकारी गराउँदै आगामी दिनमा अझै बढाउनुपर्ने बताउनुभयो ।

महासंघले आफ्नो स्वर्ण वर्षको अवसर पारेर विगतका वर्षमा जस्तै यस वर्ष पनि वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा बागमती प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका विभिन्न छाता संगठनसँगको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।

मंसिर २७ गतेसम्म सञ्चालन हुने मेलामा चारवटा प्याभिलियनसहित करिब एक सय ३० स्टल रहने आयोजकले जनाएको छ । त्यस्तै, विदेशी प्रदर्शनीकर्तामा पकिस्तानका करिब तीन स्टल रहने र स्टलमध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारसमेत प्रदान गरिने बताइएको छ । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानका साथै स्वास्थ्य, शिक्षा सेवासम्बन्धी जानकारीमूलक स्टल पनि रहने आयोजकले जनाएको छ । नेपाल एकीकृत व्यापार रणनीति(एनटिआइएस) अन्तर्गतका हस्तकलाका मेलामा विशेषरूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

मेला अवधिमा कारोबार र व्यावसायिक अर्डरसमेत गरी झण्डै १० करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।
महासंघका अनुसार हाल करिब १२ अर्ब रुपैयाँ बराबरका हस्तकला विश्वका ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ भने सोही अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई वार्षिक कुल २४ अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा दिँदै आएको छ । त्यस्तै, हस्तकला उद्योग व्यवसायमा करिब आठ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?