चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।

यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण छन् । विशेषगरी नगरपालिका तथा वडा कार्यालयको पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर नगरपालिकाले चन्द्रागिरि–१ दहचोकस्थित इन्द्रज्योति आधारभूत विद्यालय परिसरमा पहिलोपटक शिविरको आयोजना गरेको हो । नगरपालिकाले आफ्ना अन्य १५ वडामा यस्ता शिविर आयोजना गर्ने जनाएको छ ।

नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ दहचोककी कान्छी तामाङलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी एकीकृत घुम्ती शिविरको शुभारम्भ गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्ना सेवालाई अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले नगरको भौतिक पूर्वाधार विकासमा साथसाथै सामाजिक विकासमा प्राथमिकताका साथ विभिन्न काम गरिरहेको बताउनुभयो ।

उपप्रमुख वसन्ती श्रेष्ठले सेवाग्राहीलाई नगरपालिकाद्वारा प्रदान गरिने सेवा लिन नगरपालिका तथा वडा कार्यालयसम्म आइपुग्न नपर्ने अवस्थालाई क्रमशः घटाउँदै लाने ध्येयले एकीकृत घुम्ती शिविर कार्यक्रम राखिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो, “एकीकृत घुम्ती शिविरले नगरवासीलाई घरदैलोमा नै सेवा प्राप्त गर्न सहजता हुन्छ । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा शिविरमा लिन नसकेता पनि स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवा लिन सकिन्छ । यसले समुदायमा स्थानीय सरकारकोप्रतिको अपनत्व झन बढेर जान्छ । ”

उहाँले नगरपालिकाले आफ्नो सेवालाई अझ चुस्त बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम थापामगरले वडा तहबाट बालविवाह अन्त्य गर्न चुनौती रहेको बताउनुभयो । एकीकृत घुम्ती शिविर कार्यक्रम संयोजक एवं योजना अधिकृत महेशप्रसाद पाठकले एकीकृत घुम्ती शिविरमा नगरवासीले आधारभूत सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?