मुलुकमा फेरि मण्डलेहरु जाग्न लागे : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावी गर्नु भएको छ ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताउनु भयो । आईतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उहाँले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताउनु भयो । त्यसका लागि अव एक हप्ता मात्रै पर्खे पुग्ने उहाँको भनाई थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा काँग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान कि भन्ने चिन्ता छाएको पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले देखिरहनु भएको छ एक किसिमको गठबन्धन छ अहिले । त्यो गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने तत्वहरु पनि छन प्रतिगामीहरु । संघीयता विरोधीहरु पनि छन । अनि त्यहाँ बामपन्थीहरु पनि छन । संविधान विरोधीहरु पनि छन । संविधानका रक्षकहरु पनि छन । यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो ? काँग्रेस थियो संविधानको पक्षमा उभिने । वामपन्थीहरु थिए । गणतन्त्रको पक्षमा उभिने । यसरी बाम र लोकतान्त्रिक गठबन्धन थियो । तर चुनाव पनि नयाँ किसिमको शक्ति सन्तुलन भईदियो । पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा त्यहाँ विवाद भयो । काँग्रेसका सारा पद आफैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो । यसले गर्दा समस्या प¥यो । तर अहिले हामीले त्यहाँ देख्यौं । नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले । पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो । पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ । कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भईसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो । त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो । त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ । अव सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हावी हुने हो कि । होइन सन्तुलनको राजनीति अप्नाएर जाने भन्ने मान्यता हावी हुने भन्ने कुरा हप्ता दिन भित्र टुंगो लागि सक्छ ।’

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गर्नु भयो । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उहाँले आरोप लगाउनु भयो ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरु जाग्न लागेको बताउनु भयो । उहाँले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘अहिले फेरी मण्डलेहरु जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईहरुले । मण्डलेहरुको रोग एमाले भित्र घुसेको छ । त्यहीबाट एमाले केन्द्रिय सदस्य अझै पनि छन कि कारबाही गरिसक्यो थाहा छैन । एमालेमा सम्मानपूर्वक बसिरहेकै छ । त्यो भनेको चाँही कम्युनिष्ट पार्टीको निम्ति जालमर्दो कुरा हो । अर्थात कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरुलाई पनि प्रोत्साहन दिईरहेको त छैन ? शंका खडा हुने परिस्थिति बनेको छ । कतै प्रतिगमनको सहयोगी त बन्न गईरहेको छैन भन्ने प्रश्न खडा भएको छ । त्यसो हुनाले नेपालको राजनीतिको तस्वीर अझै बेग्लै किसिमको देखिन्छ । समय समयमा कम्युनिष्ट पार्टीले आफ्नो शक्ति देखाएको छ ।’

त्यस अवसरमा अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रुपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?