म्याग्दीको पाँच सय वर्ष पुरानो कुवा ‘सात्लेपानीको राजकुवा’ संरक्षणको पर्खाइमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । सिरानमा ऐतिहासिक ज्यामरुककोट । पुछारमा सात्लेपानीको भीर । भीरको विच्चैबीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटो छ । बाटोको दायाँतर्फ करिव ५ सय वर्ष पुरानो एउटा कुवा छ । त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जंगलमा देखिने यो कुवा ५ सय वर्ष पुरानो ऐतिहासिक पर्वत राज्यको एउटा अमूल्य सम्पदा बनेर रहेको छ ।

यही कुवाको पानी पिएर तत्कालिन पर्वत राज्यका राजा मलेवमका भाइ भर्तिवम मल्लले ज्यामरुकोटमा राज्य चलाएका थिए । जनतालाई यही कुवाको पानी खुवाएर बचाएका इतिहासमा उल्लेख छ ।

तर,पछिल्लो समय राजकुवा मात्रै होइन ग्रामीण क्षेत्रका यस्ता प्राचिन सम्पदा पानीको सञ्चितिमा सहयोग पुर्‍याउने स्रोतहरु धमाधम नासिँदै गएका छन् । कुवा र पधेराहरु सुकेका छन् भने पुरानाबाटाहरु पुरिएका छन् ।

सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो राजकुवा अहिले जीर्ण अवस्थामा पुगेको छ । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणलेसमेत महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका ऐतिहासिक सम्पदाहरु नष्ट हुँदै गएका छन् ।

यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायतका हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायत सामग्री छन् ।

पत्थरबाट निस्किएका चिसा पानीका थोपाहरू संकलन हुने कुवाहरु देखिन छोडेका भकुण्डैचौरको अर्जुन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो । “थोपा–थोपा चुहिएको चिसो पानीले उकालो चढ्दै गरेका र दौडादौड गरेर खेल्दै विद्यालय जाने विद्यार्थीको प्यास मेटाउथ्यो । अहिलेका जस्ता आधुनिक धारा नबन्ने वेला पानीको स्रोत तिनै कुवाहरू हुन्थे। आधुनिकतासँगै खानेपानी विस्तारमा आएका नयाँ–नयाँ प्रविधिले कुवालाई विस्थापन गरिदिएका छन्” अध्यक्ष कार्कीले भन्नुभयो ।

त्यो वेलामा यातायातको सुविधा हुँदैनथ्यो। कहीँ कतै जानुपर्दा मानिसहरू घण्टौँको यात्रा गर्दै उकाली ओराली गर्दै हिँडिरहेका भेटिन्थे। गाउँ–गाउँमा फाटफुट हुने पसलहरूमा बिक्रीका लागि राखिने सामग्री भरियाले नै बोकेर लैजान्थे । अहिलेको जस्तो व्यवस्थित बाटाहरू त्यो बेलामा थिएनन् । जंगलदेखि साँघुरा बाटाहरूमा जोखिम मोलेर यात्रा हुन्थ्यो । पानीको प्यास मेटाउन अहिले जस्तो ‘तुमलेट’ बोकेर हिँड्ने चलन त्यो बेलामा थिएन। घण्टौँ लामो यात्रा, पिठ्यूँमा गह्रौँ भारी अनि गर्मीको बेला। त्यो कष्टलाई कम गराउने एउटा उपाय थियो ‘कुवाको पानी’।
“अहिलेका जस्ता धारा त्यो बेलामा कहाँको हुनु? धर्मकर्म गर्नेहरूले, गाउँलेहरूले बाटा बाटामा चौतारा बनाइदिएका हुन्थे। चौताराका छेउमा कुवा पनि हुन्थे। बाटो हिँड्दा थकाइ लाग्थ्यो, तिर्खा लाग्थ्यो। त्यही कुवाको पानीले शीतल बनाउँथ्यो”, बेनी नगरपालिका २ का ८४ वर्षिय रणबहादुर कार्कीले भन्नुभयो “अहिले त घर घरमा सिमेन्टले बनाएका धारा आए। हामी हिँडेका बाटामा अहिलेका मान्छे हिँड्दैनन् । जहाँ जान परे नि साधनमा हिँड्छन्। न पुराना कुवा छन्, न त पुराना बाटा छन्।”

आधुनिकतासँगै पुराना कला, संस्कृति, परम्परा र सामग्रीहरू लोप हुँदै गएको पाका पुस्तालाई राम्रो लागेको छैन । आधुनिकताको नाममा परम्परागत वस्तुलाई चटक्कै छाड्दा मौलिकता लोप भएर जाने उनीहरूको चिन्ता छ । पुराना कुवा, इनार लगायतलाई आवश्यक संरक्षण गरेर तिनै कुवाबाट धारामा पानीको आपूर्ति गर्न सकिने उनीहरूको भनाइ छ । कुवा भत्काएर पानीका स्रोतलाई आधुनिक बनाउँदा प्राकृतिक मूल नै सुक्ने जोखिम रहेको बताइन्छ ।

भू तथा जलाधार व्यवस्थापन विज्ञ दिवाकार पौडेलका अनुसार पानीका कुवा, पोखरी, इनार लगायतका स्रोत नाश हुँदै जाँदा विकास भन्दा विनाश बढेकाले भविष्यमा पानीको ठूलो संकट आउनसक्ने देखिएको छ ।

“विकासका नाममा पानीका मुहान नजिकै डोजर लगाउँदा पानी आउने ट्र्याक नै बिथोलिएका छन्, पानीको सञ्चिति बढाउन सकिएन भने भविष्यमा गम्भिर संकट निम्तिन सक्छ ।”

मानिसलाई सुविधा दिने नाममा वन जंगलमा रहेका पानीका स्रोत पूरै ढाक्ने र मुहानमा नै पाइप जोडेर बस्तीमा पानी झार्दा जङ्गली जनावर र चराचुरुंगीहरू नै लोप हुने अवस्था आएको उहाँको भनाइ छ । जंगलमा तिर्खा मेटाउन नपाउँदा जंगली जनावर बस्तीमा आउने र मानवलाई आक्रमण गर्ने गरेको पौडेलले बताउनुभयो ।

सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय हुनुपर्ने वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो ।

ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बुढापाकाको भनाइ छ ।
तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपाया मरणासन्न अवस्थामा पुगेकाले राजा भर्तिवमले आफ्ना दरवारियालाई पानी खोज्न लगाउने सात्लेपानीमा पानीको मुहान भेटाएपछि कुवा खन्न लगाएको भन्ने इतिहास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?