स्वदेश फर्कियो महिला राष्ट्रिय फुटबल टोली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भारतसँगका दुई मैत्रिपूर्ण खेल खेलेर आइतबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागि भएर नेपाली टोली स्वदेश फर्किएको हो । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिनुभयो । उहाँले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गर्नुभयो । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ-आफ्नो ठाउँबाट राम्रो खेलेको बताउनु भयो । आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरूबिरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताउनु भयो । उहाँले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गर्नुभयो ।

यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीबिरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताउनु भयो । दुई खेलमध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताउनु भयो । पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएको प्रदर्शन गर्न सकेको बताउनु भयो ।

बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजिमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताउनु भयो । अर्की खेलाडी अमिषा कार्कीले मैत्रिपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताउनु भयो । उहाँले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

एशियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताउनु भयो । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राख्नुभयो ।

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रिपूर्ण खेल खेलेको थियो । खेलअन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग दुई/दुईको बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल हुनुभएको थियो । यस्तै दोस्रो मैत्रिपूर्ण खेलमा भने नेपालले भारतबिरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?