उत्तर कोरियाद्वारा फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

Read Time = 4 mins

सोल । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट क्रुद्ध भएको उत्तर कोरियाले अमेरिका र आफ्नो छिमेकी कोरियाविरुद्ध कडा कदम चाल्ने धम्की दिएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली र जापानी सेनाका अनुसार क्षेप्यास्त्र छिमेकीहरूको इलाकामा नपुगोस् भन्ने ध्येयका साथ सावधानीपूर्वक प्रहार गरिएको थियो । एक घण्टामा अधिकतम पाँच हजार सात सय किलोमिटरको उचाइमा पुग्ने तथा करिब नौ सय किलोमिटर पर प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र प्योङयाङले परीक्षण गरेको हो ।

क्षेप्यास्त्रका जानकारहरूका अनुसार शानिबार परीक्षण गरिएको अन्तरमहादेशीय उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्रजस्तै थियो । अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको उक्त क्षेप्यास्त्रको हुनसक्ने उनीहरूको अनुमान छ । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले ओशिमा टापुबाट करिब दुई सय किलोमिटर पश्चिममा रहेको जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको क्षेप्यास्त्रबाट कुनै क्षति नभएको बताएका छन् । ओशिमा होक्काइडोको उत्तरी मुख्य टापुको पश्चिमी तटमा अवस्थित छ ।

यसैबीच यूएस इन्डो-प्यासिफिक कमाण्डले उक्त प्रक्षेपणबाट अमेरिकी कर्मचारी, क्षेत्र वा यसका सहयोगीलाई तत्काल जोखिम नभएको बताएको छ भने हृवाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्ले अनावश्यक रूपमा कोरियाली प्रायद्वीपमा तनाव बढाएको जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त परीक्षणबारे दक्षिण कोरिया र अमेरिकासँग निकट सम्पर्कमा रहेर कुराकानी गरिरहेको बताउनुभएको छ । उत्तर कोरियाको पछिल्लो कार्यले अन्तर्राष्ट्रिय व्यवस्थालाई उत्तेजित बनाएको बताउनुभएको छ । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?