पारस बागमतीबाट केन्द्रका लागि प्रतिनिधिमा छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघबाट केन्द्रीय निर्वाचनका लागि प्रादेशिक प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ । बागमती प्रदेश क्रिकेट संघले अध्यक्ष पारस खड्कासहित तीनजनालाई केन्द्रीय निर्वाचनका लागि प्रादेशिक प्रतिनिधि पठाउने निर्णय गरेको हो । पारससहित बागमतीबाट ललितपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधिका रूपमा केन्द्रीय निर्वाचनमा पठाउने निर्णय गरेको हो । क्यानको केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते हुँदैछ ।

क्यान विधानअनुसार केन्द्रीय निर्वाचनमा प्रदेशअन्तर्गतका सदस्य जिल्लाको आधा संख्याको प्रतिनिधि छनोट गरेर पठाउन सकिने व्यवस्था छ । सोही व्यवस्था अनुरूप बागमतीमा रहेका ६ जिल्लाबाट तीनजना प्रतिनिधि छनोट हुनुभएको हो ।

पारसले केन्द्रीय निर्वाचनमा सचिव वा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ । यद्यपि यसबारे पारसले खुलेर बोल्नुभएको छैन । उहाँले आगामी चुनावी समीकरण हेरेर छिट्टै कुन पदमा उम्मेद्वारी दिने बताउनुभएको छ ।

यस्तै, बागमती प्रदेश बैठकले अध्यक्ष पारस खड्का रहेको आर्थिक समिति, वसन्तराज सत्याल संयोजक रहेको प्राविधिक समिति, अनुजमान श्रेष्ठ रहेको विकास समिति र अजयवीर पाण्डे संयोजक रहेको कार्यक्रम समितिसमेत गठन गरेको छ ।

बैठकले प्रदेश क्रिकेट संघको क्रिकेट निर्देशकमा अनिल अधिकारीलाई नियुक्त गरेको छ भने प्रदेशको महिला क्रिकेट संयोजकमा नीरा राजोपाध्यायलाई नियुक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?